काठमाडौं । सरकारले आगामी भदौ १० गतेभित्र राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव र राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवको रिक्त पदको विवरण पठाउन विभिन्न निकायलाई परिपत्र गरेको छ ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गरि सबै मन्त्रालय, आयोग र सचिवालय तथा निकायलाई परिपत्र गरेको हो ।
परिपत्रमा पद रिक्त भएको कारण तथा प्रमाणित गर्ने कागजात, निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ३ बमोजिम चालू आ.वमा अवकाश तथा बढुवा भइ रिक्त हुने पद समेत गणना गर्दै माग फारम पठाउँदा त्यसको पुष्ट्याइका आधार प्रमाणित गर्ने सम्पूर्ण कागजात पेश गर्न भनिएको छ ।
राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) रिक्त पदको विवरण सम्बन्धित निकायको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)बाट सेवा, समूह र उपसमूहअनुसार छुट्टाछुट्टै पानामा प्रमाणित गराइ पठाइनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।
‘लोकसेवा आयोगको स्वीकृत वार्षिक कार्यतालिकाअनुसार आर्थिक वर्ष २०८०÷८१ मा राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका (प्राविधिक) र अप्राविधिक रिक्त पदको पदपूर्ति गर्ने प्रयोजनका लागि त्यस मन्त्रालय र आयोग, सचिवालय, निकाय र अन्तर्गत रिक्त राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका सबै सेवा, समूह र उपसमूहका छुट्टाछुट्टै पानामा संलग्न गरी तोकिएको ढाँचामा नेपाल सरकारको स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनअनुरुप रिक्त पद र चालू आर्थिक वर्षमा रिक्त हुन आउने पद राष्ट्रिय किताबखानामा रहेको विवरणसँग रूजु गराई पछिसम्म फरक नपर्ने गरी आफ्नो सेवा, समूह, उपसमूहका अन्य निकायमा रहेका दरबन्दीमा पदपूर्ति तथा रिक्तको अवस्थासमेत एकीन गरी एकीकृत विवरणसहितको माग आकृति फारम भरी २०८० भदौ १० गतेभित्र अनिवार्य रुपमा उपलब्ध गराइ दिनुहुन अनुरोध छ', परिपत्रमा लेखिएको छ ।
हेर्नूहोस् परिपत्रः