काठमाडौं । बङ्गलादेशमा सेना दिवस एवं साहित्यिक महोत्सव आयोजना गरिएको छ ।
ढाकास्थित नेपाली दूतावासमा दुवै कार्यक्रम आयोजना गरिएका हुन् । नेपाली सेनाको २६२ औँ स्थापना दिवसको अवसरमा सोमबार साँझ दूतावास परिसरमा आयोजित स्वागत समारोहमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले सेना दिवसबाट नेपाल र नेपाली जनताप्रति नेपाली सेनाको अटल समर्पण, वफादारी र सेवा झल्कने बताए ।
उनले नेपाल र बङ्गलादेशबीचको सैन्य सहयोगलाई उजागर गर्दै त्यसबाट मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न योगदान पुग्ने विश्वास व्यक्त गरेका उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
दूतावासका सैन्य सहचारी महासेनानी अञ्जनकेशर खत्रीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षामा नेपाली सेनाको भूमिकाबारे चर्चा गर्र्दै नेपालको सामाजिक–आर्थिक विकासमा नेपाली सेनाको योगदानका साथै संयुक्त राष्ट्रसङ्घको आह्वानमा अन्तरराष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको योगदानबारे जानकारी दिए ।
उक्त दूतावासका अनुसार समारोहका प्रमुख अतिथि, बङ्गलादेशका प्रधानसेनापति जनरल वाकर–उज–जमानले नेपाल र बङ्गलादेशका सशस्त्र बलबीचको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरे ।
यसैबीच, दूतावासले मङ्गलबार दिउँसो बङ्गलादेश–नेपालमैत्री समाजसँगको सहकार्यमा साहित्यिक समारोह पनि आयोजना गर्यो ।त्यस अवसरमा नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक तथा भाषिक समानताका विविध पक्षलाई उजागर गर्दै स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।
राजदूत भण्डारीले नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको सम्पर्कलाई साहित्यिक आदानप्रदानका कार्यक्रमले अझ सुदृढ बनाउन सहयोग गर्ने बताए ।