सुन्दरबजार (लमजुङ) । शिवरात्रिमा रातभर उभिएर महादेवको नाउँमा बत्ती बाल्दा सन्तान प्राप्ति हुने विश्वासका कारण यहाँको ईशानेश्वर महादेव मन्दिरमा बत्ती बाल्न आज देशका विभिन्न स्थानबाट भक्तजनहरु करापुटार आइपुगेका छन् ।
लमजुङ र कास्कीको सिमानामा पर्ने ईशानेश्वरलाई सन्तानेश्वर महादेवको नामले समेत चिनिन्छ । यहाँ बर्सेनि हजारौँले भक्तजनले ठाडो बत्ती बाल्ने गर्दछन् । सन्तान प्राप्तिका लागि बत्ती बाल्नेहरु सन्तान प्राप्त भएपछि आफ्ना सन्तान देखाउनसमेत यहाँ आउने गर्छन् ।
नवलपुर देखि ठाडो बत्ती बाल्न आएकी शान्ता बिष्टले ईशानेश्वरको महिमा सधैँ सुन्ने गरेको र यसपटक आफैँ आएको बताइन् । बिष्टका अनुसार उनको बिहे भएको सात वर्ष भए पनि सन्तान नभएपछि सन्तान प्राप्ति हुन्छ भन्ने विश्वासले दम्पत्तिसहित आएकी हुन् ।
त्यसैगरी गोरखाकी विपना थापाले आफू तेस्रो पटक ईशानेश्वर आएको बताइन् । दुई वर्ष अगाडि श्रीमानसहित यहाँ आएर ठाडो बत्ती बालेपछि गतवर्ष छोरो जन्मिएपछि यसपटक नौ महिनाको छोरो देखाउन आएको उनले बताइन् ।
रातभर जाग्राम रहनेलाई मनोरञ्जन प्रदान गर्न विभिन्न किसिमका कार्यक्रम आयोजना गरिने ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । यस वर्षदेखि मन्दिर परिसरमा १०८ धारा र गौरीकुण्डसमेत निर्माण गरिदिएकाले मेला भर्नेको सङ्ख्या वृद्धि भएको समितिले जनाएको छ ।
लमजुङ, तनहुँ, गोरखा, स्याङ्जा, चितवन, कास्की, बागलुङ, काठमाडौँलगायतका जिल्ला र भारतबाटसमेत यहाँ भक्तजन आएका छन् । यस वर्ष दुई दिनसम्म सञ्चालन हुने गरी खुल्ला भजन प्रतियोगितासमेत आयोजना गरिएको छ ।
शिवरात्रिको अवसरमा आज बिहान ४ बजेदेखि मन्दिरमा दूध चढाउनेको भीड लागेको छ ।
पौराणिक मान्यता अनुसार श्रीस्वस्थानी व्रतकथामा महादेवले सतिदेवीको मृत शरीर लिएर हिँड्दा यस स्थानमा पुगेपछि सतिदेवीको दायाँ तिघ्रा पतन भएको मानिन्छ । यस पूण्यभूमिमा तारकेश्वर महादेव उत्पन्न भई ईशान कोणमा अवस्थित रहेको कारण ईशानेश्वर महादेव नामकरण गरिएको मान्यता छ ।