गुल्मी । पछिल्लो समय गुल्मीको रिडी–तम्घास सडक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । सडक ट्र्याक खुलेको ४३ वर्षपछि सडक स्तरोन्नतिको कामले गति लिएको हो ।
मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडी–तम्घास सडकको राजासम्म सडक स्तरोन्नति गर्ने कार्य हुँदै आएको छ । २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
मदन भण्डारी योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलका अनुसार फागुनको दोस्रो सातासम्म आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत छ ।
निर्माण व्यवसायीले आउँदो असारसम्म ८ किलोमिटर कालोपत्र, ३ किलोमिटर ढलानको काम सम्पन्न गर्ने गरी काम अगाडि बढेको उनले बताए ।
बर्खासम्म २५ किलोमिटर क्षेत्रको नाली निर्माण र ग्राभेलको काम पनि सम्पन्न हुने इन्जिनियर पौडेलले बताए । सडकको कटिङ्गको काम सकिएको समानन्तर इलाइट जेभीले जनाएको छ । सडकको कामलाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको निर्माण व्यवसायीको दाबी छ ।
गुल्मीको जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सडक भएकाले यो सडकमा सवारीसाधनको चाप पनि उत्तिकै हुने गर्दछ । अहिले भएको सडक सानो हुँदा दुर्घटनाको जोखिम पनि बढी नै रहेको थियो ।
सवारीसाधनको वृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक विस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र हुन लागेको हो ।
मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा समानन्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २८ फागुन २०७९ मा सम्झौता भई २५ फागुन २०८२ सम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।
१ अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरोन्नति र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । तम्घास भित्रिने मुख्य राजमार्ग भएकाले यसलाई तोकिएकै मितिमा सम्पन्न गर्नका लागि सबै पक्षले निकै चासोका साथ हेरिएको छ ।
गुल्मी जिल्ला सदरमुकाम तम्घाससम्म २०३८ सालमा जिल्लाका विभिन्न ठाउँका स्थानीय मिलेर सडक खनेर पहिलो पटक ट्याक्टर आएको थियो ।
जनसंख्या वृद्धिसँगै अहिले सवारीसाधनको चाप पनि बढदै गएको छ । सडक विस्तारले बलेटक्सार, श्रृङ्गा, लुम्छा, विरवास लगायतका ठाउँमा केही बस्ती समेत हटाइने भएको छ । मदन भण्डारी राजमार्ग गुल्मीको रिडी–तम्घास–सिमलटारी, पुर्कोट हुँदै प्युठान जोडिएको छ ।
राजमार्गको तम्घास सिमलटारी खण्डको २९ किलोमिटर ५ वर्ष पहिले कालोपत्र भएको थियो । सिमलटारी सौतामारे–मच्छी–सडक कालोपत्रे गर्न निर्माण कार्य अगाडि बढेको छ । सडकको १६ किलोमिटर क्षेत्र अन्तर्गत सौतामारेसम्म अहिले निर्माण कार्य भइरहेको छ । त्यस स्थानमा काम निकै सुस्त गतिमा हुँदै आएको छ ।
मदन भण्डारी राजमार्गको सिमलटारी सौतामारे खण्डमा श्रेष्ठ सक्षम जेभी काठमाडौंले निर्माणकार्य गर्दै आएको छ । सडकको १ अर्ब ४५ करोड ३२ लाख ९ हजार ९९० रुपैयाँको लागतमा निर्माण कार्य हुँदै आएको छ ।६ कात्तिक २०७९ मा सम्झौता भएको सडक निर्माण सम्पन्न गर्ने समय ५ साउन २०८२ सम्म छ ।