नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छन् ।
उमेरले ६१ वर्ष पुगेकी धनिसराले घर खर्चमा मद्दत पुगोस् भनेर केही आम्दानी हुने आशमा दुनाटपरी बनाउन सुरु गरेकी हुन् । वनमा खेर गएको सालको पातबाट जीविकोपार्जनका लागि दुनाटपरीका लागि लाफा बनाएर बिक्री गर्न थालेको उनले बताइन् ।
“आफूले जानेको सीपलाई घरमा नै बसेर दुई/चार रुपैयाँ आम्दानी हुन्छ कि भन्ने आशा हो, वृद्ध उमेर भए पनि घर खर्च चलाउन छोराबुहारीलाई सहयोग हुन्छ कि भन्ने लागेर दुःख गर्न मन लागेको”,उनले भनिन् , “आफ्नो औषधिमुलो गर्न भए पनि खर्च पुग्छ कि भनेर नजिकैको वनबाट पात ल्याएर दुनाटपरी गाँस्ने गरेको छु ।” बगुवनकै केसरी सिञ्जाली पनि हिजोआज सालको पातबाट दुनाटपरी गाँस्न थालेकी छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले नुनतेलको जोहो गर्न भए पनि दुनाटपरी बनाउन सुरु गरेको केसरीले बताइन् ।
“घरको आर्थिक अवस्था त्यस्तै छ, चार जना छोराछोरी छन् पाल्नै परो, श्रीमान्को मात्रै कमाइले कति हुन्छ र ? बचेको समयमा काम गरेर केही रकम जोड्न सकिन्छ कि भनेर सुरु गरेको हो”, उनले भनिन् ।
चारैतिरबाट नदी र जङ्गलले घेरिएको बगुवन गाउँमा आर्थिक उपार्जनको दिगो स्रोत नभएपछि स्थानीय महिला सालको पातबाट जीविकोपार्जनको उपाय खोज्न थालेका हुन् । ज्याला मजदुरी र कृषि कर्मबाट फुर्सदको समयलाई सदुपयोग गरी महिलाले घरायसी कामकाजसँगै दुनाटपरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् ।
वनबाट ल्याएको सालको पातबाट लाफा बनाएर केही दिन घाममा सुकाएपछि बिक्री गर्ने गरिएको छ । एक सयवटा टपरीको एक मुठा हुन्छ । एक मुठाको रु एक सय ५० प्राप्त हुने स्थानीयको भनाइ छ । आयआर्जनको अन्य विकल्प नभएपछि टपरी बनाएर भए पनि केही आम्दानीको उपाय खोजिएको दिनुढेगा मगरले बताए ।
भौगोलिक अवस्थितिका आधारमा विकट मानिएको बस्तीमा सरकारले केही अवसर सृजना गर्नुपर्ने दिनुको सुझाव छ । “हामीलाई केही सीपसँगै काम दिए हुन्थ्यो भन्ने लाग्छ, नारायणी नदीको डुबान, चितवन राष्ट्रिय निकुञ्जका जनावरको आक्रमण डरले गर्दा हामी सधैँ पीडित भएका छौँ”, उनले भने ।
वनजङ्गलमा खेर गएको पातसँगसँगै पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्ने कार्यक्रममा जोडेर स्थानीय महिलालाई रोजगारी प्रदान गरिने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । विनयी जैविक मल उत्पादन उद्योग सञ्चालन गरिएकाले स्थानीयलाई सहज रोजगारी सृजना हुने अध्यक्ष गिरीको भनाइ छ ।