काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिइने बताएका छन् । बजेट अभावले रोकिएको अभियानलाई निरन्तरता दिइ जलवायु परिवर्तन न्यूनीकरणमा जोड दिने उनको भनाइ छ ।
मन्त्री शाही र प्रधान सेनापति अशोकराज सिग्देलबीच आज मन्त्रालयमा भएको भेटमा उनले हिमाल सरसफाइको अभियानलाई निरन्तरता दिन आग्रह गर्दै मन्त्रालयका तर्फबाट आवश्यक सहयोगका लागि तयार रहेको बताए ।
हिमाली क्षेत्रमा पर्वतारोहीहरूले छोडेको फोहोर सफाइ गरी वातावरणीय प्रदूषण न्यूनीकरण, हिमालको पवित्रता जोगाउने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा सुरु भएको यो अभियानमा बजेटको कमीले समस्या उत्पन्न भएको थियो । मन्त्री शाहीले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्दै अभियानलाई निरन्तरता दिन आग्रह गरे ।
नेपालमा सगरमाथा, ल्होत्से, अन्नपुर्णलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाइ गरी स्वच्छ राख्न सके हिमाल आरोहण गर्ने पर्वतारोहीसमेत बढ्ने मन्त्री शाहीको भनाइ थियो ।
प्रकृति र पर्यावरणको प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रमलाई कार्यन्वयन गर्दै जाँदा बजेट अभावले समस्या उत्पन्न भएको नेपाली सेनाले जनाएको छ । प्रधान सेनापति अशोकराज सिग्देलले बजेट व्यवस्थापन भए यो अभियानलाई विशेष महत्वका साथ अगाडि बढाउन सेना तयार रहेको बताए । नेपाली सेनाले राष्ट्रिय कार्यक्रमलगायत वन संरक्षण, निकुञ्जको संरक्षणमा महत्वका साथ कार्य गर्दै आएको उनको भनाइ छ । विगत पाँच दशकदेखि निकुञ्ज र संरक्षण क्षेत्रको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ ।
वन सचिव डा दीपककुमार खरालले वन तथा निकुञ्जको संरक्षणका निम्ति वन मन्त्रालयले नेपाली सेनालाई सक्दो सहयोग गर्ने बताए ।
नेपालका १२ राष्ट्रिय निकुञ्ज र एक आरक्षमा नेपाली सेनाले संरक्षणको काम गरिरहेको छ । निकुञ्ज विभागमा महानिर्देशक डा रामचन्द्र कँडेलले जैविक विविधता, वन्यजन्तु संरक्षणका लागि नेपाली सेनासँग समन्वय र सहकार्यका लागि आफूहरू तयार रहेको बताए ।
यसैबीच मन्त्री शाहीले मुगुको उत्तरी गमगढी नाक्चेनाङला सडक निमार्णको जिम्मा लिई सहयोग गर्न प्रधान सेनापतिलाई आग्रह गरेका थिए ।