काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । ‘ट्याक्सी एकता जिन्दाबाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् । निजी प्रयोगको गाडीले भाडाको काम गर्न बन्द गर्नुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने जस्ता माग राख्दै उनीहरूले स्वतन्त्र संघर्ष समिति गठन गरेर आन्दोलन थालेका हुन् ।
आन्दोलनमा उत्रिएका ट्याक्सी चालक तथा व्यवसायीहरूले काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गर्न, साँचो खोस्ने तथा चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्न समेत माग राखेका छन् ।
यसका साथै उनीहरूले नेपाली अंक पहिचानसहितको नेपाली संवत् जिपिएस नम्बर कायम गर्नुपर्ने उनीहरूले माग राखेका छन् भने दुर्घटनामा परी मृत्यु भएमा २५ लाख रुपैयाँ राहत दिनुपर्ने, ट्याक्सी मिटर सिल चुँडिदा गाडी साहु र चालक जेल जानु पर्ने कानून खारेज गर्नुपर्ने आन्दोलनकारीहरूको माग छ ।
आन्दोलनमा उत्रिएका ट्याक्सी चालकहरूले नेपाल भरीको ट्याक्सी भाडा दर एउटै हुनुपर्ने, सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट हुनु पर्ने तथा सेतो, पहेँलो, हरियो, नीलो, रातो र कालो प्लेटको गाडी तथा चालकलाई समान व्यवहार गर्नुपर्ने माग राखेका छन् ।