काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले 'फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०', 'फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०' र 'फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०' बाट सम्मानित तथा पुरस्कृत व्यक्ति तथा संस्थाको नाम घोषणा गरेको छ ।
फोनिजका महासचिव मिलन लिम्बूले विज्ञप्ति जारी गरी 'फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०'बाट सरोकार टेलिभिजनका दिलीप थापा मगर (काठमाडौं) र 'फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०'बाट काठमाडौंबाट प्रकाशित हुँदै आएको 'नेपालभाषा टाइम्स दैनिक' सम्मानित हुने भएका छन् ।
त्यसैगरी 'फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०' स्व. किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नती चौधरी (कैलाली)लाई पुरस्कृत गर्ने निर्णय भएको महासचिव लिम्बूद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
फोनिजले निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सरदस्य रहेको 'सम्मान तथा पुरस्कार छनोट समिति' गठन गरेको थियो । समितिको सिफारिसमा फोनिजले एक मातृभाषा संचार संस्था र पाँच जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको छ ।
फोनिजका अनुसार २७ साउन २०८० मा प्रदेश १ को विराटनगरमा आयोजित २४औँ स्थापना दिवस मूल समारोहमार्फत सम्मान तथा पुरस्कार वितरण गरिनेछ ।
फोनिजले स्थापना दिवसको अवसर पारेर २८ साउनमा विराटनगरमै कोशी प्रदेश नामकरणविरुद्ध भइरहेको आन्दोलन र त्यसको निकासबारे 'पहिचान आन्दोलनः अबको बाटो' विषय अन्तरक्रिया आयोजना गर्न लागेको छ ।
अन्तरक्रियामा राजनीतिक विश्लेषक प्रा.डा. महेन्द्र लावती, राजनीतिक विश्लेषक डम्बर खतिवडा, लेखक/विश्लेषक खगेन्द्र संग्रौला र लेखक/विश्लेषक भवानी बराल वक्ताको रुपमा सहभागी हुँदै छन् ।
'फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०', 'फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०' र 'फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०' प्राप्त गर्नुहुने व्यक्ति र संस्थाहरूको संक्षिप्त जीवनी तथा विवरण निम्नानुसार रहेको छ ।