काठमाडौं । साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित ९ जना संचालक समितिका सदस्यहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रेस विज्ञप्ति जारि गर्दै खड्कासहितको समूहविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर गरेको जनाएको छ ।
साझा भण्डार सहकारी संस्था लिमिटेड, भोटाहिटी, काठमाडौंको नाममा रहेको सुर्खेत जिल्ला साविक कटकुवा गा.पं ९, हाल वीरेन्द्रनगर नगरपालिका वडा नं ८ को क्षेत्रफल ०-२-० को जग्गा र बाँके जिल्ला, कोहलपुर गा.वि.स वडा नं ३ (क) को क्षेत्रफल ०-२-१७ को जग्गा अनुचित लाभ लिई कम मूल्यमा विक्री गरी आर्थिक हिनामिना गरेको निवेदन आएपछि अनुसन्धान थालिएको आयोगले बताएको छ ।
साझा भण्डार सहकारी संस्था लिका तत्कालीन अध्यक्ष जयकुमार खडका तथा संचालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रवन्धक अमर थापाले साझा भण्डार सहकारी लिको नाममा रहेको सुर्खेत उपत्यका नगर विकास समितिको गुरुयोजनाको प्लानिंङ नक्सामा व्यावसायिक क्षेत्र भनी तोकिएको साविक कटकुवा गा.वि.स, वडा नं ९, हाल वीरेन्द्रनगर नगरपालिका वडा नं ८ को क्षेत्रफल ०-२-० को जग्गा तथा साझा भण्डार सहकारी लिको नाममा रहेको बाँके जिल्ला, कोहलपुर गा.वि.स वडा नं ३ (क) को क्षेत्रफल ०-२-१७ को जग्गा साझा भण्डार सहकारी संस्था लिले विना आधार र कारण हँचुवाको भरमा अत्यन्त कम मूल्यमा बिक्री गर्ने निर्णय गरी व्यक्ति विशेषलाई बिक्री गरी संस्थालाई चार करोड चार लाख चौवीस हजार एक सय एकासी रुपैँया वीस पैसा हानिनोक्सानी पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै व्यक्तिलाई फाइदा गराएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको पुष्टि भएकाले उनीहरूलाई सुर्खेत र कोहलपुर दुवै स्थानको जग्गा विक्रीवापत संस्थालाई नोक्सानी पुर्याएको विगो चार करोड चार लाख चौवीस हजार एक सय एकासी रुपैँया वीस पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सोही दफा १७ ले निर्देश गरेको दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम कैद र जरिवाना गरी ऐनको दफा १७ वमोजिम विगोसमेत असुल उपर हुन मागदावी लिइएको बताइएको छ ।
हेर्नुहोस् पूर्ण विवरण :