काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।
सर्वसाधारणलाई सेयर जारी गर्न प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको घिसिङले बताए । प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब भन्दा धेरै फाइदा कमाएको जानकारी समेत उनले दिए । 'आर्थिक वर्ष ०७९/८० मा प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको छ ' कार्यकारी निर्देशक घिसिङले भने ।
यो अघिल्लो वर्षको भन्दा केही कम हो ।आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा १३ अर्ब ३७ करोड पुगेको थियो । तर, त्यसअघिको वर्ष प्राधिकरणको नाफा ६ अर्ब १० करोड रुपैयाँ मात्रै थियो ।
प्राधिकरणले मुख्यतः विद्युत् बिक्रीबाट आम्दानी गर्दै आएको छ । घिसिङका अनुसार प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । घिसिङले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने योजना रहेको समेत सुनाए । उनले भने, 'एउटा हरित हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने काम अघि बढेको छ ।'
हरित हाइड्रोजनले अन्य जैविक ऊर्जाको तुलनामा न्यून कार्बन उत्सर्जन गर्छ । यस्तै, यसले निकाल्ने हुने शक्तिसमेत अधिक हुन्छ । प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले बोलिरहँदा पटक-पटक बिजुली गएको थियो ।
झ्याप-झ्याप बिजुली जाने समस्याबारे घिसिङले सिस्टममा डिस्टर्ब भएकाले बिजुली गएको भन्दै बचाउ समेत गरे ।
हेर्नूहोस् विद्युत् व्यापार तथा अन्तराष्ट्रिय विद्युत बजारमा नेपालको पहुँच सम्बन्धी प्राधिकरणको विज्ञप्तिः