काठमाडौं । अल्छेचौर वन, धुलिखेल-२ रविमा बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । सामुदायिक वन दिवस २०८०को उपलक्ष्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के.पी शर्मा ओली रहेका थिए ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले वन क्षेत्रलाई रोजगारी सिर्जना र आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उनले वातावरणलाई बचाउन सामुदायिक वनले उल्लेखनीय भूमिका खेलेको समेत उल्लेख गरे । साथै खेर गएका ठाउँलाई वृक्षारोपण गरी सुन्दर र आकर्षित पर्यटकीयस्थल बनाउन सकिने समेत उनले बताए ।
केही वर्षदेखि वैज्ञानिक वन–जंगलका नाममा पुराना सालघारी नष्ट गरिएकोमा उनले दुःखेसो पोख्दै दीर्घकालीन सोच नबनाउँदा आफूले नियन्त्रण गर्ने प्रयास गरेको जनाए ।
कार्यक्रममा बागमती प्रदेशकी सांसद तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निवर्तमान अध्यक्ष भारती पाठक, एमालेका स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटा, एमाले जिल्लाध्यक्ष तथा धुलिखेल नगरपालिका नगरप्रमुख अशोक ब्याञ्जूलगायतले मानव जीवनका लागि प्रमुख आवश्यक प्रकृति बचाउँदै विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नगरप्रमुख ब्याञ्जूले ३२ प्रतिशत रहेको वनलाई ४० प्रतिशत बनाइ धुलिखेललाई हरियाली सहर बनाइने बताएका छन् । उनले सामान्य वृक्षारोपण मात्र नगरेर फलफूलको बिरुवा रोपी कृषिलाई पनि टेवा पुग्नेगरि वृक्षारोपण गरिएको जनाए । नगरमा २० हजार बिरुवा रोपिने योजना रहेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निवर्तमान अध्यक्ष भारती पाठकले सामुदायिक वनको महत्त्व र यसले समाज तथा देशमा पुर्याएको सकारात्मक असर बारे बताएकी थिइन् ।
नेकपा एमाले वन तथा वातावरण विभाग, केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रममा स्थानीय, पत्रकार, विभिन्न संस्थाको बाक्लो उपस्थिति रहेको कार्यक्रमको संयोजक नेकपा एमाले, जिल्ला कमिटी काभ्रे, धुलिखेल नगर कमिटी र धुलिखेल न पा वडा नम्बर २, वडा कमिटी रहेका थिए ।