काठमाडौं । दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सुगम क्षेत्रमा सरुवा गरेका छन् ।
मन्त्री मोदीले तोकिएको समय दुर्गममा रहेका कर्मचारीहरूलाई रोजे अनुरुपका सुगम क्षेत्रका कार्यालयमा सरुवा गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम तथा सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीसँग सरुवाको निवेदन मागेको थियो । यसको लागि ९ दिनको समय दिइएको थियो ।
निवेदनअनुसार माग भएको कार्यालयमा नायब सुब्बाहरूको पहिला सरुवा गरिएको छ । लामो समयदेखि दुर्गमका विभिन्न स्थानमा सेवा दिइरहेका कर्मचारीहरूलाई उनीहरूको रोजाई अनुसारको कार्यालयमा सरुवा गरिएको जनाइएको छ ।
५ वर्षदेखि जिल्ला प्रशासन कार्यालय डोटीमा काम गरिरहेका नासु तिलक नेपालीले रोजे अनुसार खानेपानी मन्त्रालयमा सरुवा भएका छन् । त्यसैगरि ३ वर्षदेखि ईलाका प्रशासन कार्यालय पचौडी, बैतडीमा काम गरिरहेका नन्दराज पन्तको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको जनाइएको छ ।
३ वर्षदेखि ईलाका प्रशासन कार्यालय जोगबुढा, डडेल्धुरामा रहेका नासु लाल बहादुर धामी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, ३ वर्षदेखि सडक डिभिजन भातकाडा, डोटीमा रहेका सुनिल कुमार रोकाय सहरी विकास मन्त्रालय वा अन्तर्गत्, ३ वर्षदेखि जिल्ला प्रशासन कार्यालय मनाङमा रहेका नासु गणेश न्यौपाने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन् भने २ वर्षदेखि सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला निर्वाचन कार्यालय मुगुमा काम गरिरहेका नासु रत्न बहादुर रावल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्को कार्यालयमा सरुवा भएका छन् ।
दुर्गम क्षेत्रमा सेवा दिइरहेका ४५२ कर्मचारीहरूले सुगम क्षेत्रका लागि निवेदन दिएका छन् । जसमा २ उपसचिव, १२ शाखा अधिकृत, ६५ नायब सुब्बा, ७५ खरिदार र ४९ कम्प्युटर अपरेटर रहेका छन् । दिइएको निवेदनमध्ये २१२ जनाले मन्त्रालयको कार्यक्षेत्र बाहिरको माग गरेका छन् ।
लामो समयदेखि सुगम क्षेत्रका कार्यालयमा रहेका कर्मचारीलाई पनि मन्त्रालयले दुर्गम क्षेत्रका कार्यालयमा सरुवा गरेको छ । अहिलेसम्म दुर्गम क्षेत्रका विभिन्न कार्यालयमा शाखा अधिकृत र उपसचिवसहित ४८ जनालाई सरुवा गरिएको जनाइएको छ ।