मानसिक अस्पताल लगनखेल, ललितपुर नेपालको एक मात्र मानसिक अस्पताल हो । जसलाई हामीले पाटन मानसिक अस्पतालका रुपमा समेत चिन्ने गर्छौ । यो अस्पतालको नेतृत्व डाक्टर अनन्तप्रसाद अधिकारीले गर्दै आएका छन् । प्रमुख कन्सल्टेन्ट साईक्याट्रिष्ट डा. अधिकारी डेढ वर्षदेखि अस्पतालको निर्देशकको भूमिकामा छन् ।
मानसिक रोगका बारेमा अझै पनि हाम्रो समाजमा थुप्रै भ्रमहरू छन् । यो रोगप्रतिको बुझाइका कारण अहिले पनि थुप्रै मानसिक बिरामीहरू अस्पतालसम्म पुग्दैनन् । १३ वर्षदेखि पाटन मानसिक अस्पतालमा कार्यरत डा. अधिकारी मानसिक स्वास्थ्यबारे सचेतना जगाउने र समाजमा मानसिक रोगलाई लिएर गरिने गलत बुझाइलाई हटाउन लागिपरेका छन् । डा.अधिकारीसँग व्यवस्था डटकमका लागि प्रज्वल तामाङले गरेको कुराकानीको सारसंक्षेप । (सम्पादक)
छोटकरीमा मानसिक रोगबारे बताइदिनुहोस् न ।
मानसिक स्वास्थ्य बुझ्नु अघि शारीरिक स्वास्थ्यबारे बुझ्न आवश्यक छ । सर्वप्रथम पुर्णरूपमा स्वस्थ हुनको लागि शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनु जरुरी छ । मानसिक रूपमा स्वस्थ व्यक्ति आफ्नो मन, सोच, शरीर र समाजको वातावरणलाई बुझ्नको साथसाथै आफ्नो पेसा र दैनिक कार्यहरूमा पनि स्थिर हुने गर्छन् । आफूसँगै देश र समाजलाई पनि योगदान दिने र सुधार गर्नतर्फ अघि बढ्छन् । यद्यपि यो अवस्थाबाट विचलित भएर व्यवहारमा समस्या देखिने, मुडमा समस्या देखिने, सोचमा समस्या देखिने, बुझाइमा समस्या देखिने जस्ता कुराहरू आएमा यसलाई मानसिक रूपमा अस्वस्थ भएको अवस्था हो भनेर बुझ्नु पर्दछ ।
तपाईं अहिले मानसिक अस्पताल लगनखेलको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । यो अस्पतालको विशेषताहरू के कस्ता छन् ?
मानसिक अस्पताल लगनखेल नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालय अन्तर्गतको एउटा मात्रै नेपालको केन्द्रीय स्तरको विशिष्टगत सेवा प्रदान गर्ने मानसिक अस्पताल हो । यहाँ देशभरका बिरामीहरू उपचारका लागि आउने गर्दछन् । अन्यत्र अस्पतालमा उपचार हुन नसकेका कडा प्रकारका मनोरोग लागेका बिरामीहरू पनि आउने गर्दछन् । अधिकांश बिरामीहरूलाई ओपिडी (बहिरङ्ग सेवा)को माध्यमबाट सेवा दिन्छौँ र बिरामीहरूलाई भर्ना गरेर पनि सेवा प्रदान गर्छौ ।
उपचारको कुरा गर्ने हो भने चिकित्सकीय उपचार, मनोवैज्ञानिक उपचारहरूको पनि व्यवस्था छ । अस्पतालमा विभिन्न शैक्षिक कार्यक्रम, मनोचिकित्सक तालिम, एम.डी. मनोचिकित्सकका शैक्षिक कार्यक्रम हुने गर्दछ ।
बागमती प्रदेशका तीन वटा अस्पतालमा स्याटलाइट एकाइ मार्फत मनोचिकित्सा सेवा पनि सञ्चालन गर्दैछौँ । त्रिशूली अस्पताल, चरिकोट अस्पताल, मेथीनकोट अस्पतालमा हरेक महिना एउटा ओपिडी चल्ने वातावरणको व्यवस्था गरिएको छ ।
यो अस्पतालको निर्देशकको जिम्मेवारी तथा भूमिका कसरि निभाइरहनु भएको छ ?
निर्देशकको भूमिकामा चिकित्सक हुनुको अलवा प्रशासकको हिसाबले पनि काम गर्नुपर्दछ । जस्तै आर्थिक प्रशासन, प्यारा मेडिकलको समूह, नर्सिङ प्रशासन साथै अन्य संस्थाहरूसँग सहकार्य गर्ने, स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने कुराहरू पर्दछन् ।
अस्पतालले प्रदान गर्दै आएको मानसिक स्वास्थ्य सम्बन्धी सेवा र उपचारहरू के कस्ता रहेका छन् ?
अस्पतालमा विभिन्न किसिमको मानसिक स्वास्थ्यका सेवाहरू उपलब्ध छन् । ओपिडी सेवामा बिरामीहरूले टिकट लिएर डाक्टरहरूसँग जाँच, उपचार र सल्लाह पश्चात् घर फर्किने सेवाको पनि व्यवस्था छ । बिरामीलाई कडा प्रकृतिको रोगको निदान गरेर उनीहरूलाई भर्ना गरेर अन्तरङ्ग सेवा मार्फत उपचार गर्ने व्यवस्था पनि छ ।
उपचार पद्धतिको कुरा गर्नुपर्दा औषधी उपचार, मनोवैज्ञानिक उपचार पद्धति पनि पाटन अस्पतालले सञ्चालन गरेको छ । केही बिरामीलाई न्युरो मोड्युलेसन उपचारको नैतिकता जस्तो विद्युतीय उपचार पद्धति, चुम्बकीय उपचार पद्धतिहरूको पनि प्रयोग गरिन्छ ।
यो अस्पतालले लागु पदार्थ दुर्व्यसनीहरूलाई मुख्य प्रतिस्थापनको सेवा सञ्चालन गर्दै आएको छन् । अस्पतालले आफ्नै फार्मेसी पनि सञ्चालन गरेको छ । भर्ना भएका बिरामीका लागि किचेन डायट्री विभागको पनि व्यवस्था छ ।
मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरू यहाँ आएर सुरक्षित र भयरहित वातावरणमा उपचार प्राप्त गर्नुहुन्छ भनेर तपाईं कसरी सुनिश्चित गर्नुहुन्छ ?
स्वास्थ्य सेवा मानवीय समवेदनासँग जोडिएको हुन्छ । त्यसमा पनि मानसिक स्वास्थ्यको कुरा भएकाले मान्छेको मन, सोच, भावनासँग बसेर काम गर्नुपर्ने हुन्छ । पाटन अस्पतालबाट प्रदान गर्ने सेवाहरू मानवीय भावनामैत्री सँगै सहानुभूतिका साथ बिरामीको उपचार गर्नुपर्छ भन्ने छ ।
कहिलेकाहीँ बिरामीहरू हिंसात्मक तथा उग्र अवस्थामा आउँदा समस्याहरू पनि निम्तिन्छन् । पहिलेको समयमा देखिने जस्ता कडा प्रकारको रोग, विक्षिप्त रोगका विरामहरूलाई घरमा साङ्लाले बान्ने, कोठामा थुनेर राख्ने जस्ता अवस्था सृजना नहोस् भन्ने कुरामा पाटन अस्पतालका कर्मचारीहरू सचेत छन् ।
पाटन अस्पतालमा उपचारका लागि आएका ग्रसित बिरामीहरूलाई प्रभावकारी औषधीको सहायताले उपचार गर्ने ट्रेन्ड बसालेका छौं ।
यो अस्पतालले आफूले प्रदान गर्दै आएको सेवामा गुणस्तरीयता कायम गर्न के गरिरहेको छ ?
गुणस्तर सुधार गर्ने कुरा भनेको जारी रहने प्रक्रिया हो । पाटन अस्पताल सीमित स्रोतसाधनबाट सञ्चालन भइरहेको अवस्थामा छ । देशको बढ्दो जनसङ्ख्यालाई पाटन मानसिक अस्पतालको क्षमताको भारले खप्न नसक्ने स्थिति पनि हुनसक्छ । कहिलेकाहीँ बिरामीलाई भर्ना गर्न नसकेर कुराउनुपर्ने अवस्था पनि आउँछन् । यस्तो अवस्थामा अस्पतालले गुणस्तरीय र समयमै उपचार प्रदान गर्नका लागि भर्ना भएको बिरामीको उपचारलाई प्राथमिकता दिएर अगाडि बढ्ने कुरा बारे छलफल गर्दैछौँ । सीमित बेड संख्या भएको अवस्थामा आकस्मिक वार्डमा खाली भएको बेडमा भर्नाको व्यवस्था मिलाउने गरेका छौं । हामीले गरिब तथा विपन्न लक्षित समूहका बिरामीलाई सामाजिक सुरक्षा एकाइ मार्फत निःशुल्क सेवा पनि प्रदान गरिरहेका छौं ।
मानसिक स्वास्थ्य जस्तो संवेदनशील स्वास्थ्य उपचारका लागि यो पाटन मानसिक अस्पतालमा पर्याप्त डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मी लगायतको जनशक्तिको उपलब्धता कस्तो छ ? के ती सबै कर्मचारी तालिमप्राप्त छन् ?
अस्पतालको स्टाफिङ संरचना अत्यन्तै कम छ । तर उल्लेखनीय रूपमा चाही वृद्धि भएको देखिन्छ । हाल अस्पतालमा मेडिकल अफिसर छ जना, प्रमुख सल्लाहकार साईक्याट्रिष्ट तीन जना, साईक्याट्रिष्टहरू छ जना गरेर समग्रमा १५ जनाको दरबन्दी छ । तर १५ जनामध्ये १३ जना स्वास्थ्यकर्मीहरू मात्र सेवा प्रवाहमा खटिएका छन् । साथै एमडी साईक्याट्रिष्ट अध्ययनगत चिकित्सक विद्यार्थीहरू पनि सेवा प्रवाहमा जोडेका भएर सेवा प्रदान गर्नमा सहज भएको छ ।
नर्सिङ कर्मचारीमा मेजर साईक्याट्रिष्टमा स्नातकोत्तर अध्ययन गरेको दुई जना छन् भने अरू लामो समयको मानसिक अस्पतालमा काम गरेको अनुभव भएका नर्सहरू पनि छन् । उनीहरूलाई विभिन्न तालिमहरू दिएर अझै सक्षम बनाउने वातावरणको पनि हामीले व्यवस्थापन गरेका छौं ।
अस्पतालको सेवाहरू वृद्धि गर्न यससँग सम्बन्धित संस्था वा मानसिक स्वास्थ्यसम्बन्धी काम गर्नेहरूसँग कुनै सहकार्य गर्नुभएको छ ?
पाटन मानसिक अस्पताल नेपाल सरकार मातहतको स्वास्थ्य निकाय भएकाले अन्य संस्थाहरूसँग सजिलै सहकार्य गर्न मिल्दैन । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति, सहमतिमा केही कार्यक्रमहरू सञ्चालन गरेका छौं । उदाहरणको लागि स्याटलाइट मानसिक स्वास्थ्यको कार्यक्रम लिन सकिन्छ । निकट भविष्यमा सिविन नेपालको सहयोगमा किशोर–किशोरी मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं । लागु पदार्थ दुर्व्यसनीको लागि राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको सहकार्यमा कार्यक्रम गर्दै आएका छौं ।
वीर अस्पतालमा साईक्याट्रिष्टको अभाव भएकाले हप्ताको दुई दिन ओपिडीको सेवा गर्न हामीले सहकार्य गरेका छौं । सशस्त्र प्रहरी बलमा तत्कालको खाँचो परिपूर्ति गर्नका लागि पाटन अस्पतालबाट साईक्याट्रिष्ट पठाउने सहकार्य गरेका छौं । यी सबै सहकार्यहरू नेपाल सरकारको सहमतिमा भएको हो ।
मानसिक रोगको उपचार गर्न आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका लागि कत्तिको समस्या हुन्छ ?
गरिब, निम्न आर्थिक स्तर, असहाय र विपन्न मानिसहरूको लागि सेवा गर्न बनाएको अस्पताल हो पाटन मानसिक अस्पताल । यहाँ प्रवेश गरेपछि नेपाली जनताले आर्थिक रूपमा संलग्न हुन नपाउँदा उपचारबाट वञ्चित हुन पर्दैन ।
आर्थिक रूपमा सम्पन्न भएको व्यक्तिहरूलाई विकास समितिले तोकेको न्यूनतम शुल्क लिने गरिन्छ । लक्षित तथा आर्थिक स्थिति कमजोर भएका व्यक्तिलाई निःशुल्क उपचारको व्यवस्था छ ।
समाजमा मानसिक स्वास्थ्यलाई सदियौँदेखि कंलकको दृष्टिकोणले हेर्ने गरिएको छ । मानसिक समस्याबाट गुज्रेका व्यक्तिहरूलाई कलंकित बनाउने, भेदभावको दृष्टिकोणले हेर्ने, अधिकारबाट वञ्चित गर्ने र पक्षपात गर्ने चलन चलिआएको छ । त्यस कुरालाई चिर्नको लागि हामी जस्ता मानसिक स्वास्थ्यमा लागेका पेसेवारहरू र सामाजिक कार्यकर्ताहरू हृदयदेखि लागेका छौं ।
म आफै मानसिक रोगलाई कलंकित हुनुबाट हटाउनको लागि मिडियामा अन्तरवार्ता दिने, कानूनी फर्ममा पनि विवाद गर्न हुँदैन भनेर पहल गर्ने र बिरामीका आफन्तहरूलाई पनि मानसिक रोगको प्रकृतिको बारेमा जानकारी दिने गर्दै आएको छु । मानसिक रोग अन्य रोग जस्तै सामान्य रोग हो र यसको उपचार गर्न कुनै पनि साङ्ला, डोरीको आवश्यक छैन । विगतको केही वर्षदेखि यही कुराको लागि वकालत गर्दै आएको छु तर समाजले मानसिक रोगबाट निदान गरिएको बिरामीसँगै मनोचिकित्सकहरूप्रति पनि नकारात्मक दृष्टिकोण राखेको अनुभव महसुस गरेको छु । यस कलंकलाई चिर्नको लागि एक मनोचिकित्सकको मात्र होइन मिडियाकर्मी, राजनीतिज्ञ, र आम सर्वसाधारणको सहयोगको पनि आवश्यक छ ।
समग्रमा अहिले हाम्रो देशमा मानसिक स्वास्थ्यको अवस्था कस्तो छ ?
पहिलेको र अहिलेको समयको तुलना गर्ने हो भने, अहिलेको समाजमा मानसिक स्वास्थ्यप्रति मानिसहरू सचेत हुँदै आएका छन् । अहिलेको सन्दर्भमा रोग लुकाउने प्रवृत्ति क्रमशः घट्दै र अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या बढ्दै आएको छ । साथै युवाहरूमा पनि मानसिक रोगप्रतिको चासो बढ्दै आएको देखिन्छ । तर समाजमा अहिले पनि ८५ प्रतिशत मनोरोगीहरू उपचारबाट वञ्चित भएको हुनाले यसलाई सुधार गर्नका लागि धेरै नै जनचेतनाको आवश्यक पर्छ ।
पाटन अस्पतालमा उपयुक्त मानसिक स्वास्थ्य सेवा प्रदान गर्न नयाँ उपचार पद्धतिहरूको प्रयोग कत्तिको भएको छ ?
यस अस्पतालमा वैज्ञानिक उपचार पद्धतिहरू उपलब्ध छन् । जस्तै न्युरो मोडुलेसन सेवा, फर्माको थेरापी, ट्रान्सक्रेनियल चुम्बकीय उत्तेजना जस्ता विश्वभर प्रख्यात उपचार र प्रविधिको व्यवस्था गरेको छौं । योग्य मनोवैज्ञानिकहरूबाट परामर्श, मनोवैज्ञानिक हस्तक्षेपहरू मार्फत प्रमाण आधारित मनोवैज्ञानिक अभ्यास गरेका छौं।
यहाँ कार्यरत कर्मचारीको हितलाई प्रवर्द्धन गर्न र उहाँहरूको मनोबल उच्च राख्न तपाईंले के गर्नुभएको छ ?
पाटन मानसिक अस्पतालले मानसिक बिरामी तथा रोगीहरूको उपचार गर्नमा जति बल पुर्याएको छ, आफ्ना स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्नका लागि उत्ति नै जोड दिएको छ । पाटन मानसिक अस्पतालमा काम गर्दै आएका स्वास्थ्यकर्मीहरूलाई नेपाल सरकारको अन्य अस्पतालका कर्मचारीहरूको तुलनामा प्रोत्साहित गर्नका लागि थोरै रकमको व्यवस्था पनि गरिएको छ । मानसिक रोग सम्बन्धी तालिमहरूमा पठाउने तथा वर्षमा एकचोटि रिफ्रेसमेन्ट कार्यक्रमको पनि आयोजना गर्ने गरेका छौं ।
तपाईं लामो समयदेखि मानसिक उपचारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । यस क्रममा तपाईंले गर्नुभएका अनुभवबारे केही भनिदिनुहुन्छ की ?
पाटन मानसिक अस्पतालमा ११ वर्षको बसाइँमा डेढ वर्षदेखि निर्देशकको भूमिकामा छु । बेवारिसे र लावारिस अवस्थामा भएर उपचार नपाएका बिरामीहरूलाई निको बनाएर पठाएका छौं । यिनीहरू नै हाम्रा सफलताको कथाहरू हुन् ।
हाम्रो देशमा मानसिक स्वास्थ्य सेवाप्रतिको बुझाइमा परिवर्तन ल्याउन र सचेतनाका लागि आगामी दिनमा यहाँका योजनाहरू के-कस्ता छन् ?
एक्लो व्यक्तिको कदमले स्वास्थ्य सेवाको भविष्य निर्माण गर्न पर्याप्त हुँदैन । तर पनि आ–आफ्नो ठाउँबाट मानसिक स्वास्थ्यको लागि लाग्नुपर्छ । म एउटा निर्देशक र नेपाल सरकारको कर्मचारीको नाताले अहिलेको मानसिक अवस्थालाई उकास्नको लागि रोकथाम, उपचारात्मक पदोन्नतिहरू लगायत अन्य पक्षमा काम गर्नुपर्छ ।
केही कामहरू कार्यान्वयनमा पनि आएका छन् । जस्तै राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्य योजना २०७७ नेपालले अपनाएर कार्यान्वयनमा आएको छ । जस अन्तरगत प्रदेश स्तरको अस्पतालमा पनि मानसिक स्वास्थ्यको सेवा सुरु हुन लागेको छ । साथै मानसिक स्वास्थ्यको क्षेत्रमा उच्च शिक्षाका लागि नेपालभित्रै धेरै वटा प्रतिष्ठानहरूले सञ्चालन गरेको मनोचिकित्सक, मनोवैज्ञानिक, नर्सहरूको मानव स्रोतको क्रमशः वृद्धि हुँदै छ । वकालतको कुरा गर्ने हो भने सांसदहरूले पनि मानसिक स्वास्थ्यबारे बोल्न थाल्नुभएको छ ।
अन्त्यमा, मानसिक स्वास्थ्यको सुधारका निम्ति व्यक्ति आफैं, समाज तथा राज्यले के गर्नुपर्ला ?
समग्रमा भन्नुपर्दा मानसिक स्वास्थ्य बिना कुनैपनि स्वास्थ्यको अवस्था पुरा हुन सक्दैन । मानसिक रोग पनि अन्य रोगहरू जस्तै सामान्य रोग हो जसको उपचार गर्न सकिन्छ । मानसिक रोगलाई लुकाउनु, छुपाउनु, दबाउनु र दोषी भावनाका रूपमा लिनुपर्ने कुनै आवश्यक छैन । मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्ति पनि खुलेर अस्पतालमा परामर्शका लागि आउन जरुरी छ । मानसिक समस्यालाई समाजले जुन कलंकको ट्याग लगाएको छ, यसलाई हामी सबै मिलेर हटाउनुपर्छ ।