काठमाडौँ । नेपाल गौरवपूर्ण अतीत भएको मुलुक हो । यस देशको वैभव तथा छवि उजिल्याउन इतिहासको कालखण्डमा धेरै व्यक्तित्वहरूको योगदान, त्याग, बलिदान, प्रतिबद्धता र समर्पण रहिआएको छ । यस्ता व्यक्तित्वहरूले हिजो गरेका कार्यहरूबाट भएका उपलब्धिहरू आजको पुस्तालाई जानकारी गराउनैपर्ने भएको छ ।
हामी सबैले हिजोलाई स्मरण गरी इतिहासलाई सम्मान गर्नैपर्ने हुन्छ । यस्तै तथ्यलाई आत्मसात् गरी सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा उनले नेपालको शैक्षिक, साहित्यिक तथा आध्यात्मिक क्षेत्रमा लगाएका गुणहरू स्मरण गर्नुपर्ने हुन्छ ।
पृथ्वीनारायण शाहकै एकीकरण अभियानमा पाण्डेहरू सरिक भएका थिए । गोरखालगायत केही चौबिसी राज्यहरूमा पाण्डेहरू राजगुरु रहेको इतिहासले बताउँछ । नवनेपाल निर्माण भएपछि शाह राजाका विश्वासपात्र गुरु हुन पुगेका रुद्रराज पाण्डेका पुर्खा तानसेनको धर्मपानीबाट राजधानीको मुटु प्युखामा स्थायी बसोबास गर्न थालेको थियो । यसै वंशका पद्मराज पाण्डेका पुत्ररत्नका रूपमा १९५७ साल फागुन २६ गते रुद्रराज पाण्डेको जन्म भएको थियो । राजगुरु घराना खलकले संस्कृत शिक्षा आर्जन गर्ने तत्कालीन परम्पराअनुसार तीनधारा पाठशालामा रुद्रराज पाण्डेले अध्ययन प्रारम्भ गरे ।
उतिबेला राणा परिवार र केही हुनेखाने वर्गका मानिस मात्र त्यतिबेलाको दरबार स्कुलमा अङ्ग्रेजी शिक्षा पढ्न आकर्षित हुन थालेका थिए । यसैअनुसार रुद्रराज पाण्डे दरबार स्कुलमा भर्ना भई १९७५ सालमा प्रथम श्रेणीमा ‘म्याट्रिक’ उत्तीर्ण गर्न सफल हुनुभयो । त्यतिबेला दरबार स्कुलले कलकत्ता विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको हुँदा परीक्षा दिन चाहिँ कलकत्ता नै जानुपर्ने थियो । उक्त समय म्याट्रिक पास गर्ने व्यक्ति औँलामा गन्न सकिने मात्र थिए ।
तसर्थ, म्याट्रिक उत्तीर्ण हुनेलाई ठूलो सम्मान गर्ने चलन थियो । राणा खलकले रु एक हजारको दोसल्ला पाउँथे भने अरूलाई ३०० को दोसल्लाबाट सम्मानित गरिन्थ्यो । यसबाट राणाशासन कालमा शासक र जनसाधारण बीचमा विभेदकारी नीति रहेको बुझ्न सकिन्छ । सरकारी छात्रवृत्तिमा नै पाण्डेले इलाहाबाद विश्वविद्यालयबाट १९८१ सालमा इतिहासमा स्नातकोत्तर उत्तीर्ण गरेपछि इतिहासमा एमए गर्ने पहिलो नेपाली व्यक्ति बने ।
विसं १९८२ देखि नै उनले त्रिचन्द्र कलेजमा इतिहास विषयको प्राध्यापक नियुक्त भई दरबार स्कुलमा समेत अध्यापन गर्न प्रारम्भ गरे । कालान्तरमा उनी त्यही दरबार स्कुलको पहिलो नेपाली ‘हेडमास्टर’ बन्न पुगे । पाण्डेकै अनवरत प्रयासबाट त्रिचन्द्र कलेजमा नेपाली विषयको पठनपाठन सुरु भयो । त्रिचन्द्र कलेजले सुरुमा कलकत्ता र पछि पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो ।
साथै, नेपालमा नै एसएलसी परीक्षा दिन पाउने व्यवस्था उनले नै प्रारम्भ गराएको थियो । १९९५ सालमा त्रिचन्द्र कलेजको प्राचार्य भई कला र विज्ञानका विभिन्न थप विषय अध्यापन प्रारम्भ गराउने कार्य पनि उनीबाटै भएको देखिन्छ । हाइस्कुल र कलेज दुवैतिरको शिक्षालाई प्रभावकारी कार्यान्वयन गराउने कार्यमा उनले कहिल्यै कमी आउन दिएनन् । एक कुशल शिक्षक, प्राध्यापक र शैक्षिक प्रशासकका रूपमा आफ्नो योग्यता देखाएकै कारण राणा शासकले पनि उनीप्रति कहिल्यै वक्रदृष्टि राखेनन् ।
१९९७ सालको विद्यार्थी आन्दोलनको समयमा उनले खेलेको भूमिकाको मानिसले आजसम्म स्मरण गरिरहेका छन् । जयतु संस्कृतम् आन्दोलनका कारण परीक्षा दिन जान नपाएका विद्यार्थीहरूलाई नेपालमै परीक्षा दिने व्यवस्था मिलाउन उनी सफल भयो । २००७ सालको परिवर्तनपश्चात् शिक्षा सचिव र पुरातत्व विभागका निर्देशक भई उनले गरेको योगदान उल्लेख्य रहेको छ ।
राणाशासन रहँदा र प्रजातन्त्र आएपछि पनि उनको दायित्वमा कुनै फरक परेन । उनले २००७ देखि २०१५ सालसम्म सक्रिय भई सरकारबाट प्राप्त भएका दायित्वहरू कुशलतापूर्वक निर्वाह गरे । २०१५ सालको नेपालको प्रथम आमचुनावको समयमा निर्वाचन आयुक्त भई निर्वाचन सम्पन्न गराउन उनले खेलेका भूमिका सराहनीय रहेको छ । निर्वाचनप्रति जनचेतना बढाउने खालका नाटक नै मञ्चन गराउनुलाई त्यतिबेला प्रशंसनीय कार्य ठानिएको थियो ।
विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको प्रभावकारी संरचना र शैक्षिक कार्यक्रमको उन्नयनका लागि राजा महेन्द्रले २०२२ सालमा रुद्रराज पाण्डेलाई उपकुलपति नियुक्त गरे । त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तार र भौतिक पूर्वाधार सिर्जना गर्न उनको कार्यकाल कोसेढुङ्गा साबित भएको छ । उनले त्रिपुरेश्वरस्थित पाहुनाघरमा रहेको केन्द्रीय कार्यालय कीर्तिपुरस्थित स्मृति भवनमा स्थानान्तरण गरी व्यवस्थित गराए ।
लालदरबारमा रहेको केन्द्रीय पुस्तकालय कीर्तिपुरमा नवनिर्मित भवनमा सारे । नेपाल अध्ययन संस्थान (कालान्तरमा नेपाल र एसियाली अध्ययन संस्थान हुँदै हाल नेपाल र एसियाली अनुसन्धान केन्द्र भएको छ) र सेडाको गठन उनकै कार्यकालमा भएको तथ्य स्मरणीय छ । उनकै कार्यकालमा विज्ञान सङ्कायमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमहरू थपिए । छात्रावास, गान्धीभवन, रोज गार्डेन आदि उनकै समयमा निर्माण भएका थिए । राजा महेन्द्रले चाहँदाचाहँदै पनि उनले पुनः त्रिविको उपकुलपति हुन अस्वीकार गरे ।
रुद्रराज पाण्डेलाई लोकले एकजना मूर्धन्य साहित्यकारका रूपमा पनि प्रतिस्थापित गरेको छ । लेखनाथ पौडेल, शम्भुप्रसाद ढुङ्गेल, कृष्णलाल अधिकारी आदि साहित्यकारसँग उनको उठबस थियो । विद्यार्थीकालमा नै चन्द्रिका र सूक्तिसिन्धु जस्ता पत्रिकामा उनका कविताहरू प्रकाशित भएका थिए । उनले रचना गरेको रूपमती उपन्यास नेपालको इतिहासमा पहिलो मौलिक उपन्यास बन्न पुगेको छ । रूपमती उपन्यासले तत्कालीन नेपाली समाजको राम्रो चित्रण गर्न सफल भएको छ ।
अतः उक्त उपन्यासलाई इतिहासको स्रोतका रूपमा लिने पनि गरिन्छ । उक्त उपन्यास अङ्ग्रेजी र उर्दू भाषामा समेत अनुवाद हुनुले उनको उपन्यासकारितालाई प्रस्ट्याउन मद्दत पुगेको छ । चम्पाकाजी, प्रायश्चित र प्रेमजस्ता उपन्यास पनि नेपाली साहित्यानुरागीहरूले कोसेली पाएका छन् । नेपालको गौरवपूर्ण अतीतको परिचय गराउने हाम्रो गौरवः हाम्रो नेपाल र नवरत्न जस्ता कृतिहरूले पाठकको मन छोएका छन् ।
यसैगरी, बालबालिकाहरूका लागि बालरामायण, बालकृष्णचरित्र, नीतिकथा जस्ता कालजयी कृतिहरू प्रकाशन भएका छन् । त्रिचन्द्र कलेज र दरबार स्कुल दुवैतिर इतिहास विषयको पठनपाठन भए तापनि नेपाली भाषामा इतिहासका कुनै पुस्तक नै थिएनन् । यसैले पाठ्यपुस्तकहरूको अभाव हटाउन रुद्रराज पाण्डेले बेलायतको र भारतको इतिहास लेखेको थियो ।
यसबाट विद्यार्थीहरू मात्र होइन, इतिहासका शिक्षकसमेत लाभान्वित भएका थिए । गोरखा भाषा प्रकाशनी समिति (पछि नेपाली भाषा प्रकाशनी समिति भएको) यी दुवैमा रही नेपाली भाषाका विभिन्न विधाका पुस्तक प्रकाशन गर्न पनि उनको सहयोगी भूमिका रहेको थियो । उहाँ शारदा पत्रिकाको प्रकाशन कार्यमा तन, मन र धनले खटिएको थियो ।
उनी एक आध्यात्मिक चिन्तक पनि थिए । प्युखास्थित भवनमा भजनकीर्तन दिनहुँजस्तो हुने गर्दथ्यो । त्यहाँ जोगी, साधुसन्त तथा महात्माहरूको सदैव भीड हुने गरेको चर्चा आज पनि छिमेकीहरूले गर्दछन् । प्युखाबाट कलङ्की बसाइँ सरेपछि पनि यस्ता धार्मिक अर्चनाका कार्यक्रमहरूले निरन्तरता पाउने गरेको छ ।
विसं १९८२ देखि २०४३ (महाप्रस्थान) को छ दशकसम्म नेपालको विभिन्न क्षेत्रमा सक्रिय सेवामा रहेका उनलाई तत्कालीन शासकले सम्मान गरेका दृष्टान्त पाइन्छन् । उनले गोर्खा दक्षिणबाहु प्रथम, श्री ३ जुद्धशमशेरबाट सरदार उपाधि, त्रिशक्ति पट्ट, राजा त्रिभुवनबाट रजतजयन्ती पदक तथा राजा महेन्द्र र वीरेन्द्रबाट शुभराज्याभिषेक पदकजस्ता अनेकौँ पदक र सम्मान प्राप्त गरेको थियो ।
आफू सम्मानित भएर मात्र सन्तुष्ट हुन नसक्ने र अरूलाई प्रोत्साहन र सम्मान गर्नुपर्छ भन्ने विचारधाराका पक्षपाती भएका हुँदा त्रिभुवन विश्वविद्यालयका विभिन्न तहमा सर्वोत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पद्मराज सुवर्ण पदक, टीकालक्ष्मी सुवर्ण पदक, त्रिभुवन विश्वविद्यालयमा र संस्कृत विश्वविद्यालयमा लीलाबल्लभ पन्त सुवर्ण पदक प्रदान गर्न अक्षयकोष नै स्थापना गराए ।
१९९० सालको भूकम्पको समयमा स्वयंसेवी दल खडा गरी पीडितहरूको सेवा गरेको प्रसङ्ग ब्रह्मशेरले एक अन्तर्वार्तामा बताएका थिए । धेरै कुरामा पहिलो नेपाली बन्न पुगेका उनी इतिहासका प्राध्यापक मात्र नभई स्वयं नेपालकै इतिहास भएको निर्विवाद तथ्य जगजाहेर छ ।
रुद्रराज साहित्य समिति गठन गरी उनका स्वजनहरूले साहित्य, इतिहास, शिक्षा र अध्यात्म गरी चार विधामा प्रत्येक वर्ष एक विधामा उल्लेख्य योगदान गरेका व्यक्ति तथा संस्थालाई पुरस्कार दिने कार्यबाट उनको व्यक्तित्व र कृतित्व चिरस्मरणीय बनाउन गरेको कार्य स्तुत्य भएको छ ।
कुशल शिक्षक, कुशल प्राध्यापक, शैक्षिक प्रशासक, प्रशासनविद्, साहित्यकार, इतिहासकार, समाजसेवी, आध्यात्मिक चिन्तक जस्ता बहुमुखी विलक्षण प्रतिभासम्पन्न व्यक्ति देशमा मात्र होइन, विश्वमा नै कमै मात्र देखिन्छन् । यस्ता मानवताका सरल पात्र तथा नेपालआमाका धर्तीपुत्र, नेपालकै गहना, महामानव रुद्रराज पाण्डे नेपालीको मानसपटलमा सदासर्वदा अमर रहिरहनेछ ।