सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले करार सेवा अन्तर्गत १३ जना कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ । साउन १८ गते सूचना प्रकाशित गरेर उपप्राध्यापकदेखि सहायक तहसम्मका लागि आवेदन आह्वान गरेको हो ।
सूचना प्रकाशित भएसँगै विश्वविद्यालयमा विवाद सिर्जना भएको छ । विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै करार नियुक्तिको विरोध गरेका छन् । अधिकांश स्थायी दरबन्दी नै रिक्त राखेर विश्वविद्यालयले धमाधम करारमा कर्मचारी भर्ना गरिरहेको छ । यसरी करार र आंशिक कर्मचारी नियुक्त गर्दा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी कार्यरत रहेको पाइएको छ ।
केन्द्रीय कार्यालयमा कर्मचारीतर्फ ९७ जनाको स्थायी दरबन्दी छ तर अहिले कार्यरत विभिन्न तहका कर्मचारीको सङ्ख्या १३७ जना छन् । त्यसमा पनि अधिकांश करार र ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी छन् ।
मुख्य सहायक पदमा २१ जनाको स्वीकृत दरबन्दी रहे पनि ३३ जना कार्यरत छन् । कार्यरतमध्ये २० जना मात्रै स्थायी हुन् । बाँकी १० जना करार, दुई जना मासिक ज्यालादारी र एक जना दैनिक ज्यालादारीका कर्मचारी रहेका छन् ।
श्रेणीविहीन कर्मचारीको दरबन्दी १९ जनाको छ । तर उक्त पदमा दोब्बरभन्दा बढी कार्यरत छन् । विश्वविद्यालयमा २७ जना स्थायी, १२ जना करार र १२ जना मासिक ज्यालादारीका गरेर ५१ जना कार्यरत छन् ।
यसबाहेक सहायक (खरिदार) पदमा २५ जना स्वीकृत दरबन्दी रहे पनि २६ जना कार्यरत छन् । अधिकृत (द्वितीय श्रेणी) को पद रिक्त छ । अधिकृत (तृतीय श्रेणी) को स्वीकृत दरबन्दी ३१ रहेकोमा अहिले २७ जना कार्यरत रहेका छन् । जसमा २१ स्थायी, दुई जना करार र चार जना ज्यालादारीमा राखिएका छन् ।
प्राध्यापकतर्फ पनि विश्वविद्यालयमा करारको सङ्ख्या ठुलो छ । प्राध्यापकतर्फ स्वीकृत दरबन्दी १० जनाको छ । जसमा दुई जना स्थायी र दुई जना करार गरी चार जना कार्यरत छन् । छ जनाको पद रिक्त छ ।
उपप्राध्यापकमा स्वीकृत दरबन्दीभन्दा दोब्बर बढी छन् । विश्वविद्यालयका अनुसार ४९ जनाको दरबन्दी रहेकोमा १६१ जना कार्यरत छन् । जसमा १२२ जना स्थायी र ३९ जना करारका हुन् ।
सहप्राध्यापकमा ४२ जनाको स्वीकृत दरबन्दी छ तर उक्त पदमा भने दरबन्दी अनुसार पदपूर्ति गरिएको छैन । हाल ११ जना मात्र कार्यरत छन् । ११ मध्ये एक जना करारका हुन् । शिक्षण सहायक/प्रशिक्षक पदमा ११ जना कार्यरत छन् । जसमा दुई जना स्थायी र बाँकी नौ जना करार सेवामा नियुक्त गरिएका हुन् ।
स्वीकृत दरबन्दी अनुसार विश्वविद्यालय सेवा आयोगबाट स्थायी पदपूर्ति गर्नुपर्नेमा करारमा कर्मचारी र प्राध्यापक नियुक्त गरिएको भन्दै विरोध हुन थालेको छ। पछिल्लो पटक विश्वविद्यालयमा सक्रिय प्राध्यापक कर्मचारीका सङ्घ सङ्गठन नै यसको विरोधमा उत्रिएका छन् ।
विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले आवश्यकताका आधारमा दरबन्दी थपघट हुने गरेको बताए । उनले विश्वविद्यालयमा शिक्षक नहुँदा विद्यार्थी आन्दोलित हुने, शिक्षकका लागि विज्ञापन खुलाउँदा शिक्षक आन्दोलित हुने गरेकाले नियमगत रूपमा विज्ञापन खुलाइएको जानकारी दिए ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।