काठमाडौं । चिकित्सा शिक्षा आयोगले रिक्त उपाध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगको उपाध्यक्ष नियुक्त गर्न गठित सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र योग्यता पुगेको व्यक्तिले दरखास्त दिन आह्वान गरेको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ५ मा चिकित्सा शिक्षा आयोग गठन हुने व्यवस्था रहेको र सोही दफाको उपदफा १(घ)बमोजिम चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका चिकित्सकहरूमध्येबाट नेपाल सरकारले नियुक्त गरेको एक जना उपाध्यक्ष रहने प्रावधान रहेको छ ।
सोही ऐनको दफा २२ को उपदफा २ बमोजिम चिकित्सा शिक्षा आयोगको पूरा समय काम गर्ने प्रमुख कार्यकारीका रुपमा उपाध्यक्ष रहने प्रावधान छ ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि सोही ऐनको दफा २३ बमोजिम लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था गरिएको छ ।
उक्त सिफारिस समितिद्वारा स्वीकृत ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनौट सम्बन्धी कार्यविधि, २०८०’ को दफा ४ बमोजिम दरखास्त पेस गर्ने उम्मेदवारहरूमध्येबाट छनौट भएका योग्य तीन जना उम्मेदवारहरूको नाम चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने गरिन्छ ।
सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र सिलबन्दी दरखास्त सिफारिस समितिको सचिवालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा पेस गर्न आह्वान गरिएको छ ।
आयोगको उपाध्यक्ष भएपछि आयोगको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न ४ वर्षे व्यावसायिक कार्य योजना सहितको भिजन पेपर पेस गर्नुपर्नेछ ।
आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २४ को उपदफा १ बमोजिम योग्यता पुगेको, सोही ऐनको दफा २५ मा उल्लिखित अयोग्यता नभएको हुनुपर्नेछ ।
हेर्नूहोस् सूचना: