सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत १८ गते हुने भएको छ । विश्वविद्यालयले शुक्रबार स्ववियु निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
यसअघि पटक-पटक निर्वाचन मिति तय हुँदा पनि उच्च अदालतमा रिट दायर भएपछि स्ववियु निर्वाचन स्थगित भएको थियो । निर्वाचनका लागि विश्वविद्यालयले सह–प्राध्यापक दीपेन्द्रबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरेको छ ।
थापा नेतृत्वको समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार यही चैत ७ बाट निर्वाचन प्रक्रिया सुरु भएर १८ चैतमा मतदान हुनेछ । ७ चैत्रमा विद्यार्थी संघ/सङ्गठन दर्ता गर्ने, ८ गते मतदाता नामावली उपर दाबी विरोध र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
त्यस्तै चैत्र १२ गते उम्मेदवारहरूको प्रथम नामावलीको सूची प्रकाशन र उम्मेदवारहरूको विरोधमा उजुरी दिन सकिने छ । १३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १५ गते राति १२ बजे देखि मौन अवधि सुरु हुने र १८ गते बिहान ७ बजे देखि अपराह्न ५ बजे सम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ ।
८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु नेतृत्वविहीन छ ।
तीन वर्षपछि ५ चैत २०७९ मा तय भएको निर्वाचन तालिकामा केही विद्यार्थीले आफूहरू मतदानमा सहभागी हुन पाउनुपर्ने मागसहित अदालतमा रिट दायर गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
पुनः २८ भदौ २०८१ मा तय भएको निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा आफ्नो नाम समावेश नभएको भन्दै २६ भदौमा बायोलोजी समूह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू अदालत पुगेका थिए । सोही विषयमा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो ।
विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसमा २०७९ चैतमै निर्वाचन सम्पन्न भइसकेको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा विगत लामो समयदेखि स्ववियु नेतृत्वविहीन बनेपछि उच्च अदालत सुर्खेतले गत माघमा २० चैत २०८१ भित्र निर्वाचन सम्पन्न गराउन विश्वविद्यालयलाई आदेश दिएको थियो ।
सोही आदेशको कार्यान्वयन गराउन विश्वविद्यालयले १८ चैत्रमा निर्वाचन मिति तय गरेको हो ।