काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर देशका विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बिपीचोकमा बा.५ ख ११६८ नम्बरको टिपरले टोचिङ गरी गोकर्णतर्फ आउदै गरेको बा.१२ च २६९७ नम्बरको बोलेरो गाडीमा बा.४८ प ३६४० नम्बरको मोटरसाइकल ठोक्किँदा शुक्रबार बेलुकी दुर्घटना भएको छ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका-१ सानीटार बस्ने ३७ वर्षीय अनुज ढकालको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा ज्यान गएको हो। प्रहरीले टिपर र बोलेरोका चालकलाई नियन्त्रणमा लिएको छ।
यस्तै, काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँस्थित पेट्रोल पम्प अगाडि रा.१ ख २६२२ नम्बरको टिपरले प्र.३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-११ बस्ने सुकराम तामाङको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नुवाकोटको विदुर नगरपालिका-४ सिचाइस्थित भित्री सडकमा बट्टारबाट दानसिङतर्फ जाँदै गरेको बा.४६ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक तार्केश्वर गाउँपालिका-१ दानसिङ बस्ने ३२ वर्षीय चतुर तामाङको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशूलीमा उपचारको क्रममा ज्यान गएको हो।
बाराको कोल्हबी नगरपालिका-१ जमुनी खोला पुल नजिक सडकमा सपहीबाट कोल्हबीतर्फ आउँदै गरेको ग.८ प ७८११ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कोल्हबी नगरपालिका-१ बस्ने ३० वर्षीय घनश्याम पनुहरको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको बायोद्या अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका-८ कर कार्यालय नजिक सडकमा इटहरीबाट दुहबीतर्फ जाँदै गरेको प्र.१-०२-०४८ प ३८७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक दुहबी नगरपालिका-१२ बस्ने २५ वर्षीय पुरन चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम, विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दाङको राप्ती गाउँपालिका-४ मौरीघाटस्थित सडकमा ग.६ प ९४३० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री राप्ती गाउँपालिका-४ पिपरखुट्टी बस्ने २२ वर्षीया पार्वती नेपालीकी ६ महिनाकी छोरी एन्जल नेपालीको शुक्रबार बेलुकी मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारको क्रममा ज्यान गएको हो। दुर्घटनामा घाइते भएकी पार्वतीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यी सबै दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।