काठमाडौं । प्रतिनिधि सभाले प्रतिस्थापन विधेयकहरूलाई सदनमै छलफल गरेर पारित गर्ने निर्णय गरेको छ।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले अध्यादेशका प्रतिस्थापन विधेयकहरूलाई प्रतिनिधि सभाको बैठकमा छलफल र निर्णयार्थ पेश गर्ने कार्यतालिका बनाएको हो।
बैठकका अनुसार चैत ४ र चैत ७ गते बस्ने बैठकहरूमा सबै प्रतिस्थापन विधेयकहरू पारित गरी राष्ट्रिय सभामा पठाइनेछ। साथै, चैत ४ देखि १५ गतेसम्मको बैठक कार्यतालिका पनि तय गरिएको छ।
प्रतिनिधि सभाले प्रतिस्थापन विधेयकहरूसँगै नियमित प्रक्रियाबाट आएका अन्य विधेयकहरूलाई पनि पारित गर्ने योजना बनाएको छ।
सरकारले चालु अधिवेशन बोलाउनु केही दिनअघि, पुस २९ गते चार वटा अध्यादेश र माघ २ गते एउटा अध्यादेश जारी गरेको थियो।
संवैधानिक व्यवस्थाअनुसार, सरकारले ल्याएका अध्यादेशहरू संसदको पहिलो बैठकमा पेश गरिनु पर्नेछ भने ६० दिनभित्र संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण हुनुपर्छ।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रिय सभामा टेबल गर्न नसकिएकाले सरकारले फिर्ता लिएको छ। तर, अन्य प्रतिस्थापन विधेयकहरू, आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि सम्बन्धी नेपाल ऐन संशोधन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश र निजीकरण पहिलो संशोधन अध्यादेशलाई प्रतिनिधि सभामै छलफल गरी निर्णयार्थ अगाडि बढाइने योजना बनाइएको छ।