काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सरेकाले आज र भोलि बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीको प्रभावले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यस्तै, आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरोजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।