काठमाडौं । चट्टानहरू फुटाएर पनि मुहान बग्छ भने झैँ कर्णालीको दुर्गम भूगोल, कमजोर आर्थिक अवस्थाका बाबजुद प्रतिभाशाली व्यक्तित्वहरूको उदय हुने गरेको छ । जसले राष्ट्रिय स्तरमै महत्वपूर्ण स्थान बनाउन सफल रहेका छन् ।
तिनै व्यक्तिहरूमध्येकी एक हुन् तारा भण्डारी । जसले विभिन्न चुनौती पार गर्दै निजामती क्षेत्रमा अगाडि बढ्न प्रयत्न गरिरहेकी छिन् । विभिन्न आरोह अवरोहको सामना गर्दै अघि बढेकी भण्डारी कर्णाली प्रदेशको जुम्लामा जन्मे हुर्केकी हुन् ।
कर्णालीमा शिक्षा हासिल गर्न सहज छैन । शिक्षामा अवसरहरूको कमी, शिक्षा प्राप्त गर्न स्थानीय तथा आधारभूत सामाग्रीको कमी, शैक्षिक संस्थाहरूको विकास र सुविधाहरूको अभाव आदि अवरोधहरू छन् । शिक्षा लिनकै लागि ताराले नेपालगन्ज, सुर्खेत, कोहलपुर जस्ता ठाउँ चहार्नुपर्यो । विभिन्न आरोह अवरोह झेलेर शिक्षा हासिल गरेकी उनले अध्ययन गर्दागर्दै निजामती कर्मचारीको यात्रा तय गरेकी हुन् ।
दुर्गमताले शिक्षा पाउनै समस्या
संयुक्त परिवारमा जन्मेकी ताराले आफ्ना दाजुभाइ, दिदीबहिनीसँगै हुर्किँदै पढ्दै गरेकी हुन् । महादेव आधारभूत विद्यालय चौथा, जुम्लामा शिशु कक्षाबाट अध्ययन सुरु गरेकी ताराले कोहलपुर आएर बाल ज्योति बोर्डिङ स्कुलमा नर्सरी कक्षामा भर्ना भइन् । पछि कोहलपुरकै ज्ञान ज्योति विद्यालयमा कक्षा ३ मा उनी भर्ना भइन् ।
छोराहरूलाई बोर्डिङ स्कुलमा पढाएर उनलाई भने सरकारी विद्यालयमा भर्ना गर्दा ताराको बाल मस्तिष्कमा एक किसिमको विभेदको नमिठो छाप पर्यो ।
कोहलपुरस्थित ठुलो बुवाको घरमा बसेर अध्ययन गरेकी उनले घरको काममा पनि सहयोग गर्ने गर्थिन् । अहिले जस्तो पढाई नभएको समयमा आराम गर्न या खेल्न जान उनलाई छुट थिएन । विद्यालयको अध्ययन सकेर घर फर्किएपछि पशु चौपायालाई घाँस काट्ने, भान्सामा सघाउने आदि काममा उनी व्यस्त हुन्थिन् ।
ज्ञान ज्योतिबाट कक्षा ७ सम्मको अध्ययन सकेपछि घर परिवारको स्नेह पनि पाइने हुनाले उनले जुम्लामै बसेर पढ्ने निधो गरिन् र जुम्ला फर्किन् ।
जुम्ला क्याम्पसमा शिक्षा मन्त्रालय अन्तर्गत छात्रवृत्ति सहितको सुविधा रहेको छात्रावासमा बसेर ताराले स्थित चन्दननाथ माविबाट कक्षा १० सम्म अध्ययन गरेकी हुन् । जहाँ विद्यालयदेखि क्याम्पससम्म पढ्ने छात्रालाई बस्ने व्यवस्था गरिएको थियो ।
०५८ सालमा सोही विद्यालयबाट राम्रो अंक ल्याएर उनले एसएलसी उत्तीर्ण गरिन् । उनी भन्छिन्, 'परीक्षा दिएकामध्ये जम्मा ८ जना पास भएका थियौँ । त्यसमा पनि हामी जम्मा २ जना छात्रा थियौँ ।'
उच्च शिक्षाका लागि नेपालगन्ज
एसएलसी उत्तीर्ण भएपछि भविष्यमा के गर्ने भन्ने अन्यौलतामा उनी थिइन् । बिदाको समय थियो । त्यसैले उनी बुबालाई पसलमा सघाउन मुगु पुगिन् ।
त्यति बेलाको समाजमा १५/१६ वर्षको उमेरमै छोरीहरू बिहे गरेर पराई घर जानुपर्छ भन्ने मानसिकता थियो । उनले गाउँघरमा त्यस्ता थुप्रै उदाहरण पनि देखिरहेकी थिइन् । सबैले त्यसै गरेको देख्दा तारालाई पनि एसएलसीसम्म पढ्नु भनेको धेरै पढ्नु हो जस्तो लाग्थ्यो ।
परिवारको तीन सन्तानमध्ये भाइ सानैमा तारासँगै कोहलपुरमा पढ्न आएका थिए । तर जापनिज इन्सेफेलाइटिस जस्तो घातक रोगका कारण सानैमा उनले संसार छाडेर गए । दाजु पनि मानिसक रुपमा अलि कमजोर भएकाले तारालाई सानैदेखि पढेर जागिर खानुपर्छ भन्ने अर्ती बुवा आमाले दिइरहन्थे ।
दाजुलाई पनि पाल्नुपर्छ भन्ने सोच आफूमा आएको उनी बताउँछिन् । उनकै भरोसाको कारणले आमाबुवाले उमेर हुँदा पनि अर्को सन्तानको चाहना नगरेको तारालाई लाग्छ ।
सोही क्रममा उनलाई नेपालगन्ज बस्ने दाजुले पढ्न बोलाए । उनी भन्छिन्, 'एसएलसी पछि के गर्ने भन्ने सोचमा थिएँ, नेपालगन्ज बस्ने दाजुले पढ्न बोलाउनासाथ मेरा पाइला त्यतै लम्किए ।'
ताराका दाइ लेखापाल थिए । उनलाई हिसाब किताबमा बढी लगाव थियो । त्यसैले उनी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा व्यवस्थापन विषय लिएर भर्ना भइन् ।
सरकारी क्याम्पसमा त्यतिबेला पढाइभन्दा बढी राजनीति हुन्थे । ०५९/०६० तिर क्याम्पस आन्दोलनमय हुन्थ्यो । पढाइलाई असर पर्ने देखिएपछि उनले अतिरिक्त कक्षा समेत लिनुपर्यो ।
आई कम (कक्षा १२)को परीक्षा सकिए लगत्तै उनलाई मातृ शोक पर्यो । जसले गर्दा उनको बसाइ केही समयलाई सुर्खेतमा भयो । उनी भन्छिन्, 'सुर्खेत बस्न थालेपछि म उतै बीबीएसमा भर्ना भएँ । बीबीएस पढ्दापढ्दै मेरा धेरै साथीहरूले लोकसेवामा नाम निकालिसकेका थिए । तर आफू भने व्यापार गर्ने कि जागिर खाने भन्ने दोधारमा थिएँ ।’
बीबीएस सकिएपछि पनि उनी ३ महिना जति आफ्नो भविष्य खोज्दै पसलमै बसिरहिन् ।
अन्यौलता चिर्दै लोकसेवा प्रवेश
पसलमा बस्दै गर्दा ताराले लोकसेवामा आफ्नो भविष्य सुनिश्चित हुने देखिन् । तर पनि उनलाई लोकसेवा कठिन हुन्छ जस्तो लाग्थ्यो । भन्छिन्, 'लोकसेवाको प्रश्न हेर्दा म कहिल्यै नाम निकाल्न सक्दिन कि जस्तो लाग्थ्यो । हिसाब गर्ने बानी भए पनि थ्यौरीमा त्यति अभ्यास थिएन । एउटा काममा हात नहालेसम्म त्यसमा सक्दिन जस्तो नै लाग्ने रहेछ ।’
उनका प्रायः साथीहरू स्नातकोत्तर (मास्टर) पढ्न काठमाडौं गएका थिए । उनी भने सुर्खेतमै स्नातकोत्तर पढ्न थालेकी थिइन् । तर उनी कक्षामा निरन्तर उपस्थित हुन सकिरहेकी थिइनन् ।
त्यसै क्रममा सुर्खेतमा त जागिरे साथीहरू मात्र पढ्ने गरेको उनले थाहा पाइन् । त्यसपछि तारालाई पढाइमा त्यति जाँगर चलेन । अब जागिर खोज्नुपर्छ भन्ने कुरा मनमा आएपछि ३ महिना बैंकमा इन्टर्नसिप पनि गरिन् । तर उनले बैंकमा भविष्य नदेखेपछि सुर्खेतमै रहेको लोक सेवा तयारी कक्षामा समावेश भइन् । तर घरको व्यवहारिक कामले गर्दा उनले पढाइलाई निरन्तरता दिन सकिनन् ।
त्यसैबेला उनले आफ्नै जन्मस्थान जुम्लामा एउटा एनजीओमा अधिकृत सरहको पदमा छनौट भइन् । तर सोही समयमा ठुलो सङ्ख्यामा लोकसेवाबाट अधिकृतको विज्ञापन आयो । तारा दोधारमा परिन ।
दाजु नेपाल सरकारको लेखा अधिकृत थिए । दाजुसँग सल्लाह लिएपछि उनको सोचमा परिवर्तन आयो, अस्थायी जागिर त पछि पनि खोज्न सकिन्छ । धरै पछि पढ्न गाह्रो हुन्छ भनेर २०६७ को तिहार लगत्तै लोकसेवाको तयारी गर्ने मनसायले दिदीको छोरीलाई लिएर काठमाडौं प्रवेश गरिन् ।
ताराले आफ्नो भविष्य सरकारी जागिरमा सुनिश्चित हुने देखिन् । यसमा भविष्य देखेता पनि उनलाई लोकसेवा कठिन हुन्छ जस्तो लाग्थ्यो । उनी भन्छिन्, 'बीबीएस पढ्दै गर्दाको समयमा लोकसेवाको प्रश्न हेर्दा म कहिल्यै नाम निकाल्न सक्दिन जस्तो लाग्थ्यो ।'
राजस्वतर्फ ७२ सिट र लेखाको ५६ सिट खुलेको थियो । उनलाई नाम निकाल्न सकिन्छ भन्ने लागेरै उनी राजधानी आएकी थिइन् । र काठमाडौंमा कोठा लिएर बसेपछि ट्युसन कक्षा भर्ना गरिन् । राजस्वको तयारी गर्न ‘नेम्स’ र लेखाको तयारीका लागि ‘एपेक्स’मा भर्ना भएर उनले पढ्न थालिन् ।
तयारी कक्षा लिने क्रममै भेटिएकी शर्मिला तिवारी खरिदार भइसकेकी थिइन् । साथीको सल्लाह सुझावले लोकसेवाको तयारी गर्न सजिलो भएको भण्डारी बताउँछिन् । उनी भन्छिन् 'बेला-बेला अल्छी लाग्दा एक जना पढ्ने अर्कोले सुन्ने गर्दा निकै छिटो स्मरण हुने रहेछ ।’
पढ्ने मान्छेहरूको संगतले आत्मविश्वास पनि बढ्ने उनको बुझाई छ । राजस्व र लेखा दुवैतिर तयारी गर्दा असहज हुने भएपछि उनी लेखाको मात्र तयारी गर्नतिर लागिन् । लिखितमा नाम निस्किएपछि उनी अन्तिम चरणको जाँच र अन्तर्वार्ताको तयारीमा लागिन् ।
कर्णाली अञ्चलकै निजामती क्षेत्रमा पहिलो महिला अधिकृत हुन सफल हुनुका साथै कर्णालीका चेलीहरूलाई हौसला दिने पात्र समेत बनिन् तारा । 'जाँच सोचे जस्तो भएको थिएन । तर मेरो नाम भने पहिलो पटकमै निस्कियो', उनले भनिन् ।
अनि सुरु भयो जागिरे जीवन...
तारा पहिलो प्रयासमै निजामती सेवामा प्रवेश गरेकी हुन् । २०६८ सालमा लेखा अधिकृत पदमा नाम निकालेर ताराले सरकारी जागिर सुरु गरिन् । उनको पहिलो पोस्टिङ सुर्खेतको सिँचाइ डिभिजन कार्यालयमा भएको थियो ।
जागिर सुरु गर्दा सबै कुरा थाह भएको हुँदैन । काम सिक्ने कुरा व्यक्ति स्वयंमा भर पर्ने कुरा पनि हो । उनलाई पनि पहिलो पटक नियुक्त भएर जाँदा त्यस्तै महसुस भएको थियो । तर, ताराले बिस्तारै आफ्नो कार्य क्षमता बढाउँदै लगिन् ।
सिँचाइ डिभिजनमा उनले लेखा अधिकृतको रूपमा करिब ४ वर्ष काम गरिन् । सोही चार वर्ष उनको जागिरे जीवनको पहिलो अनुभव गर्ने महत्वपूर्ण समय पनि बन्यो । सोही समयमा उनले व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पढाई समेत पुरा गरिन् ।
जागिरे भएर मात्र भएन उनलाई सुख दुखमा सहारा दिने सहयात्री पनि चाहिएको थियो । त्यसैले ०७१ सालमा उनले सल्यानका हाइड्रो इन्जिनियर राजेन्द्र बिसीसँग विवाह गरिन् ।
२०७२ सालमा उनको तथ्यांक विभागमा सरुवा भयो । ५ वर्ष तथ्यांक विभागको कार्यभार सम्हालेकी तारा २०७७ साल भदौमा सडक डिभिजन ललितपुरमा सरुवा भइन् । त्यहाँ करिब २ वर्ष ५ महिना काम गरेपछि उनी २०७९ साल माघबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा भएर कार्यरत छिन् । हाल उनी सोही केन्द्रमा लेखा अधिकृतको जिम्मेवारी सम्हालिरहेकी छिन् ।
छोरी हुनुमा गर्व गर्ने तारा छोरीहरूले जीवनमा अघि बढ्न धेरै नै संघर्ष गर्नुपर्ने बताउँछिन् । समाज, प्रकृतिले तयार गरेको लैङ्गिक संरचना, भौगोलिक विकटता, पारिवारिक मोह, परिवारको आर्थिक अवस्था आदि कुराले गर्दा महिलालाई पुरुष भन्दा बढी नै संघर्ष गर्नुपर्ने उनी बताउँछिन् ।