काठमाडौं । राजावादी प्रदर्शन क्रममा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर पुगेर तोडफोड र लुटपाट गर्नेको प्रतिकार गरेका भाटभटेनीका सुरक्षा गार्ड सम्मानित भएका छन् ।
भाटभटेनी सुपर स्टोर लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुली एक्लैले प्रतिकार गरेर ‘बहादुरी’ देखाएपछि उनलाई सम्मान गरिएको हो ।
बुधबार आयोजित विशेष समारोहमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको छ ।
पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् । १५ चैतमा राजावादी समूहको लुटपाट र तोडफोडमा काटेश्वर भाटभटेनी जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए ।
उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।
यस्तै सम्मानित हुनेहरूमा इन्जिनियर सुवर्ण डंगोल, परशुराम थारू, आयुष थारू, शान्तराम थारू, नवीन थारू, प्रेम थारू, रामदास थारू लगायत कर्मचारी छन् । उनीहरूलाई ५ हजार नगदसहित सम्मान गरिएको हो ।
भाटभटेनी सञ्चालक गुरुङले सम्मान समारोहमा बोल्दै राजावादीले भाटभटेनीमा धावा बोलेर लुट्ने काम गरेको निकै खेदपूर्ण रहेको बताएका छन् ।