काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तहका कर्मचारी सरुवाको माग गर्दै सयौं निवेदन परेको छ । मन्त्रालयमा विभिन्न कार्यालयमा कार्यरत ४ सय ५२ कर्मचारीको आवेदन परेको हो ।
दुर्गम क्षेत्रका विभिन्न कार्यालयमा कार्यरत ४ सय ५२ जना कर्मचारीले सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिएको सामान्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार निवेदन परेका कर्मचारीमा उपसचिव २, शाखा अधिकृत १२, नायब सुब्बा ६५, खरिदार ७५ र कम्प्युटर अपरेटर ४९ जना छन् । प्राप्त ४ सय ५२ निवेदनमध्ये २ सय १२ जनाको निवेदन मन्त्रालयको कार्यक्षेत्र बाहिरको परेको छ ।
आवेदन दिनेमा सबैभन्दा धेरै प्रदेश, स्थानीय तहका कर्मचारी, स्वास्थ्य सेवा, वन, शिक्षा, नापी सेवालगायतका कर्मचारी धेरै छन् । सामान्य प्रशासनका अनुसार अन्य मन्त्रालयका कर्मचारीको अन्तर मन्त्रालय समन्वय गरेर मात्र चलाउन मिल्ने र प्रदेश र स्थानीय तहका कर्मचारीको सरुवा मन्त्रालयले नगर्ने भएका कारण ती निवेदन उपर कारवाही भएको छैन् ।
सामान्य प्रशासन मन्त्रालयले गत साउन ११ गते दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन र सुगममा कार्यरत कर्मचारीहरुलाई दुर्गममा जानका लागि कार्यालय रोजेर निवेदन माग गरेको थियो ।
मन्त्रालयले सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन भन्दै ९ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आव्हान गरेको थियो ।
मन्त्रालयले प्रशासन, तथ्याङ्क र विविध सेवाका कर्मचारीको मात्र सरुवाका लागि निवेदन माग गरेको थियो ।