काठमाडौं । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला तथा दलित महिला सदस्यले निर्माण तथा बजेट विनियोजन गर्दा आफूलाई सहभागी नगराएको गुनासो गरेका हुन् ।
कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका महिला वडासदस्य दीक्षा राईले वडामा आउने हरेक योजनामा वडाध्यक्षले आफूखुसी योजना निर्माण तथा बजेट विनियोजन गर्ने गरेको बताइन् । ‘फरक पार्टीबाट जितेको भएर हो वा अन्य कुनै कारणले हो । हामी महिला तथा दलित महिला सदस्यलाई योजना छनोट र बजेट विनियोजनमा उहाँ (वडाध्यक्षज्यू)ले सहभागी गराउनुहुन्न’, उनले भनिन् ।
स्थानीय तहका पुरुष जनप्रतिनिधिमा विभेदकारी स्वभाव अझै बाँकी रहेकाले आफूहरूमाथि अन्याय भएको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका पूर्ववडा सदस्य एवं एमालेकी नेतृ पुण्यकुमारी मगरले बताइन्। ‘म विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला वडा सदस्य हुँ । निर्वाचनपछि गाउँपालिकामा गठन गरिएको कार्यपालिकाको सदस्य भएरसमेत काम गरेको अनुभव छ’, उनले भनिन्, ‘म हरेक समय सामाजिक काममै बिताउने गरेकी छु । अघिल्लो कार्यकालमा काम गरेका जनप्रतिनिधिसँग केही न केही अनुभव हुन्छ । महिला भएकै कारणले हो वा अन्य कुनै कारण । अहिलेसम्म एकपटक पनि वर्तमान जनप्रतिनिधिले गाउँपालिकामा सञ्चालन हुने विकासे योजनाका बारेमा छलफल गराएको छैन ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडासदस्य शशिकला राईले महिला तथा दलित महिला सदस्यले आफ्नो हक अधिकारसँगै हरेक काममा समानता खोज्न जरुरी रहेको बताइन् । ‘हामी हाम्रो हक तथा अधिकारका लागि एक्ला–एक्लै दौडिरहेका छौँ । हाम्रो एकता नभइ त्यो सम्भव छैन’, उनले भनिन्,
‘आगामी दिनमा सबैले एउटै आवाज बुलन्द गर्नुपर्ने अवस्था आएको छ । अनिमात्र संविधानमा उल्लेख भएको समानता, समावेशीकरण र सहअस्तित्व कायम हुन्छ ।’
अन्तक्र्रिया कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट निर्वाचित १० महिला तथा दलित महिला वडासदस्य सहभागी भएका थिए । उनीहरू सबैको एउटै आवाज थियो, ‘हामीलाई पुरुष जनप्रतिनिधिले योजना निर्माण तथा बजेट विनियोजनमा सहभागी नगराई विभेदकारी व्यवहार गर्दै आएका छन् ।
कार्यक्रमअन्तर्गत ‘राजनीतिक दलमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी व्यवस्थापन र कार्यान्वयनमा अन्तर’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो ।
जिल्लास्थित राजनीतिक दल र स्थानीय तहमा निर्वाचित महिला तथा दलित महिला सदस्य, पत्रकारलगायतको सहभागिता रहेको अन्तक्र्रियामा संविधानसभा सदस्यद्धय पर्शुराम रम्तेल र दुर्गाजयन्ती राईले सहजीकरण गराएका थिए ।