काठमाडौं । डा.नरहरि घिमिरेलाई कृषि पढेर यतातिर सेवा गर्छु भन्ने लागेको थिएन । तर बिस्तारै उनीभित्र कृषि कर्मबाट समाजसेवा गर्ने अभिलासा बढ्दै गयो । २०४० सालमा एसएलसी उतिर्ण गरेका घिमिरेले २०४३ सालमा बायोलोजिमा आइएस्सी पास गरेका हुन् ।
०४७ सालमा चितवनको रामपुर क्याम्पसबाट कृषि विषय लिएर पढेका उनी कृषि क्षेत्रमा काम गर्ने रहर पलाउँदै गएपछि कृषि कर्ममा रस बस्दै गएको बताउँछन् । वि.सं. २०२३ सालमा चितवनको सौराहामा जन्मिएका उनले सन् २०१२ मा किट विज्ञानमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरेका छन् ।
'पछिल्लो समय थोरैले उत्पादन गरेर धेरैलाई खुवाउने चलन छ । यो नै कृषिको सबैभन्दा महत्त्वपूर्ण र रोचक पक्ष हो ।'
एक वर्ष माध्यमिक विद्यालयको शिक्षक भएर काम गरेका उनलाई शिक्षकको जागिर खाने रहर भने थिएन । आफ्नो गुरुले पटक-पटक अनुरोध गरेपछि बाध्य भएर एक वर्ष शिक्षकको रुपमा काम गरेको उनी सुनाउँछन् ।
कृषिकर्ममा आनन्द पाउने घिमिरेले जागिरमा पनि स्थायी हुने रहर पलाएपछि लोकसेवा परीक्षा दिने निधो गरे । र, २०५१ सालमा बाली संरक्षण अधिकृतको रुपमा लोकसेवाको परीक्षामा सहभागी हुने योजना बनाए । त्यो बेला ५९ सिट खुलेको थियो । उनले राम्रोसँग तयारी गरेर परीक्षा दिए । उनीसँग प्रतिस्पर्धा गर्नेहरू लामो समय कृषि क्षेत्रमा काम गरेका व्यक्तिहरू पनि थिए । परिवारका कुनैपनि सदस्य सरकारी जागिरमा नरहे तापनि उनको नाम भने एक नम्बरमा निस्कियो ।
नम्बर वान भएपछि हाकिमले नै जागिरमा जान इच्छा भएको क्षेत्र रोज्न लगाएको उनी सम्झिन्छन् । घिमिरेले त्यो बेला रेसम खेतीको चहलपहल भएकाले आफूले त्यही क्षेत्रमा काम गर्ने बताए ।
अग्रजहरूबाट रेसम खेतीमा राम्रो गर्न सकिन्छ भन्ने कुरा सुनेकाले उनले सो क्षेत्र रोजेका थिए । त्यसपछि उनको जागिर बाली संरक्षण अधिकृतको रूपमा काभ्रेबाट सुरु भयो । १ महिना काभ्रेमा बसेपछि उनी पाँच वर्षका लागि धादिङ सरुवा भए ।
'किसानहरू ज्ञानका भण्डार हुन्छन् । उनीहरूसँग काम गर्नु छुट्टै आनन्द हुन्छ ।'
जागिरे जीवन सुरु भएपछि उनले स्नातकोत्तरको अध्ययन गर्न पाएका थिएनन् । तर, पढ्नुपर्छ भन्ने सोच आएपछि बेतलबी बिदा लिएर घिमिरेले रामपुरबाट नै मास्टर्स गर्ने निधो गरे । मास्टर्स पढ्दा केहीसमय उनले युएनडिपीमा सल्लाहकारको रूपमा काम समेत गरे ।
उनको पढाइ पुरा भएसँगै उनको जागिरे यात्रा सोलुखुम्बु पुग्यो । सोलुखुम्बुमा बाली संरक्षण अधिकृतको रूपमा उनले ४ वर्ष काम गरे । त्यसपछि उनको सरुवा काभ्रेमा भयो । काभ्रेमा ४ वर्ष काम गरेपछि उनको बढुवा भयो ।
बढुवा भएपछि गुल्मीमा कृषि विकास कार्यालय प्रमुख भएर उनले काम गरे । त्यसको ४ वर्षपछि उनीसमक्ष दैलेखको जिम्मेवारी आइपुग्यो । उनले त्यहाँ व्यावसायिक कृषि तथा व्यापार आयोजनाका बारेमा काम गरे । ०७२ सालमा उनी राजपत्रांकित प्रथम श्रेणीमा बढुवा भए ।
त्यसपछि उनी राष्ट्रिय मसला बाली विकास कार्यक्रमको प्रमुख भए । सूदुरपश्चिमको कृषि क्षेत्रीय निर्देशक भएर कार्यसम्पादन गरेका घिमिरेले प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना निर्देशक भएर समेत काम गरिसकेका छन् । कृषि विभागमा ४ वर्ष काम गरेका घिमिरेले धेरै जिल्लाहरूका कृषि बाली अनुगमन तथा निरीक्षण गरेका छन् ।
हाल उनी कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश सचिवको रूपमा कार्यरत छन् ।
आर्थिक वर्ष ०८०/०८१ को बजेटले कृषि क्षेत्रलाई समेट्न नसक्ने उनको भनाइ छ । अबको युगमा नीति, निर्माता र कृषकबीच पनि सहकार्य र छलफल भएर बजेटहरू छुट्टाइनुपर्ने उनको भनाइ छ ।
कृषि क्षेत्रको जागिर अवसर हो
डा. घिमिरेले जागिर गरेको ३० वर्ष बढी भइसकेको छ । धेरैलाई कृषि क्षेत्रप्रति चासो नहुन सक्छ । तर उनी कृषि पढेर फाइदा मात्र देख्छन् । आफूले कृषि पढेकाले जीवनमा थुप्रै अवसरहरू आएको उनको भनाई छ । किसानहरूसँग प्रत्यक्ष भेट्ने र कृषिमा देखिएका समस्याको बारेमा खोज, अनुसन्धान गरेर सुझाव दिन आफूलाई मजा लाग्ने घिमिरे बताउँछन् ।
जागिरे जीवनबाट आनन्द लिइरहेका उनी भन्छन्, 'किसानहरू ज्ञानका भण्डार हुन्छन् । उनीहरूसँग काम गर्नु छुट्टै आनन्द हुन्छ ।'
देशका विभिन्न जिल्ला भ्रमण गरिसकेका उनलाई कुन जिल्लामा कुन बालीले नगद आर्जन गर्न सकिन्छ भन्ने विषयमा राम्रो जानकारी छ । सरकारी सेवामा कृषि क्षेत्रको सहसचिवका रुपमा कार्यरत घिमिरे अहिले वरिष्ठ कार्यकारी व्यवस्थापनको प्रशिक्षण लिइरहेको छन् ।
उक्त तालिम सकेपछि उनी संघीय सचिवका लागि तयार हुनेछन् । अबको १ वर्षमा घिमिरेको सचिव पदमा बढुवा हुने सम्भावना छ । उनी भन्छन्, 'दुर्गम गाउँमा अहिले पनि बिउ, बिजनको समान वितरण हुन सकेको छैन । '
दुर्गम क्षेत्रमा काम नगर्ने कर्मचारीले ठुलो मौका गुमाउँछन्
स्वभावैले कर्मचारी सुगममा जान पाए दुर्गममा जान चाहँदैनन् । नेपाल सरकारको तथ्याङ्क हेर्दा पनि दुर्गम ठाउँमा कर्मचारी नै पुगेको देखिँदैन । गएपनि निरन्तर बस्ने नबस्ने समस्या छ । सुगममा हुने कर्मचारीले सजिलोसँग जागिर खानेसँगै कतै मिलाएर थप कामहरू गर्न पाइने ध्याउन्नमा हुन्छन् । थप आय आर्जन पनि हुने भएकाले कर्मचारीहरू दुर्गम क्षेत्र जान नमान्ने गरेको देखिएको घिमिरेको भनाई छ ।
तर उनी यो कुरामा नअल्झिन कर्मचारीहरूलाई आग्रह गर्छन् । बढुवा हुने प्रयोजनका लागि देश दर्शनका दृष्टिले सेवा भावले विविध क्षेत्रको अनुभव लिन कर्मचारीहरू दुर्गम क्षेत्रमा जानुपर्ने उनको सुझाव छ ।
'सरकारी सेवाका प्रवेश गरेपछि १०/१५ वर्ष दुर्गम क्षेत्रमा नै गएर काम गर्ने हो । देश र जनताको भावना बुझेर त्यहाँ भएका काम र समस्याको बारेमा ज्ञान लिनु राम्रो कुरा हो', उनी भन्छन्, 'त्यहाँका मान्छेले जीविकोपार्जनका लागि के-के गरिरहेका छन् ? जनजीविका कसरी चलेको छ । तिनको समस्या कसरी उठाउन सकिन्छ भनेर हेर्नुपर्ने हुन्छ ।'
कृषि भनेको आर्थिक क्षेत्र र जीवन जिउने आधार भएकाले कृषि पढेर देश र किसानलाई योगदान दिने कुरा कृषि क्रान्तिमा सहभागी हुनु र आर्थिक उपार्जन गर्नु पनि हो ।
एउटा सच्चा देशभक्त कर्मचारीले देश, काल र परिस्थिति बुझ्नका लागि पनि दुर्गम नै जानुपर्ने उनी बताउँछन् । दुर्गम क्षेत्रमा जति अनुभव अरू क्षेत्रबाट कर्मचारीले लिन नसक्ने उनको अनुभव छ ।
घिमिरे कामको सिलसिलामा ७ वटै प्रदेश र हरेक जिल्ला घुमेर फिल्ड अनुभव लिइसकेका छन् । सोही सिलसिलामा दुर्गममा आर्थिक उपार्जनको उपाय र दिनचर्याको बारेमा स्पष्टसँग हेर्ने मैका उनलाई मिलेको छ ।
उनी भन्छन्, 'किसानले देशलाई कसरी हेरेका छन् ? कस्तो अपेक्षा गरेका छन् ? कर्मचारीले गाउँ पुग्न र देशको परिस्थिति बुझ्नका लागि जरुरी छ । कर्मचारीहरू गाउँमा गएर काम नगरेमा जीवनमा ठुलो शिक्षा हासिल गर्ने मैका गुमाउँछन् । दुर्गममा काम गर्ने कर्मचारीलाई सरकारले तलब भत्ता भ्रमण सुविधा उपलब्ध गरायो भने पनि अझ राम्रो हुन्छ ।'
खास गरेर कृषि क्षेत्र दूर दराजमा गएर काम गर्ने क्षेत्र भएकाले कुन गाउँमा मल, बिउ पुगेको छैन, प्रविधि पुगेको छैन भनि निगरानी हरेकले गर्नुपर्ने उनी बताउँछन् । नपुगेको ठाउँमा नयाँ प्रविधि, सेवा दिनुपर्नेमा उनको जोड छ ।
'सरकारी सेवाका प्रवेश गरेपछि १०/१५ वर्ष दुर्गम क्षेत्रमा नै गएर काम गर्ने हो । देश र जनताको भावना बुझेर त्यहाँ भएका काम र समस्याको बारेमा ज्ञान लिनु राम्रो कुरा हो', उनी भन्छन्, 'त्यहाँका मान्छेले जीविकोपार्जनका लागि के-के गरिरहेका छन् ? जनजीविका कसरी चलेको छ । तिनको समस्या कसरी उठाउन सकिन्छ भनेर हेर्नुपर्ने हुन्छ ।'
उन्नत बिउ र सन्तुलित मलको प्रयोग किसानले कसरी गरिरहेका छन् भन्ने कुरा एउटा कृषि कर्मचारीले आफ्नो क्षेत्रमा गएर हेर्नुपर्ने उनको मान्यता छ । बिउ बिजनको समान वितरण तथा प्रविधिको प्रयोगबारे किसानलाई जानकारी दिन सके कृषिमा देशले क्रान्ति गर्न सक्ने उनको भनाइ छ । उनी भन्छन्, 'कृषिका कर्मचारीले किसानको पिर र मनोविज्ञान बुझेर त्यहीअनुसार काम गर्न सके त्यसबाट पाउने आनन्द छुट्टै छ ।'
किसानले दिने सम्मान र श्रेय पनि आफूलाई जाने र आफ्नो पनि अनुसन्धानमा क्षमता बढ्ने भएकाले कृषिका कर्मचारी अफिसको कोठामा मात्र सीमित नहुन उनी सुझाव दिन्छन् । उनी भन्छन्, 'कृषि क्षेत्रमा आउने र आउन चाहने कर्मचारीले म राष्ट्रको सेवा गर्न आएको भन्ने ध्येय लिएर विभिन्न क्षेत्रको अनुभव लिन त्यहाँको के समस्या छ ? कहाँ ग्याप छ ? के चाहिँ सेवा दिन सकिन्छ भन्ने कुरा पहिल्याउनु पर्छ ।'
कृषिका कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै उनी आफ्नो पेसाप्रति सन्तुष्ट रहेको बताउँछन् । हुम्ला, मुगु, डोल्पा, जुम्ला, बाजुरा, कालिकोट लगायतका विकट क्षेत्रमा पैदल पुगेको बताउने घिमिरे आफू कृषिमा जागिरे नभएको भए यी अवसरबाट वञ्चित हुनुपर्ने समेत बताउँछन् ।गाउँको जनजीवन प्रदूषण र विषादीरहित अर्ग्यानिक हुने भएकाले यस्तो जनजीवनलाई हरेकले सम्मान गर्नुपर्ने घिमिरेको भनाई छ ।
कृषि पढ्न नयाँ पुस्तालाई सुझाव
घिमिरेको अनुभवमा कृषि भनेको गाउँ हो । गाउँ भनेको जीवन पनि हो । कृषि भनेको आर्थिक क्षेत्र र जीवन जिउने आधार भएकाले कृषि पढेर देश र किसानलाई योगदान दिने कुरा कृषि क्रान्तिमा सहभागी हुनु र आर्थिक उपार्जन गर्नु पनि हो । यसले खाद्य सुरक्षामा देशलाई आत्मनिर्भर बनाउन सहयोग गर्छ ।
कृषि पढ्ने व्यक्तिले देशलाई नै समुन्नत बनाउन सक्ने उनको भनाइ छ । उनी भन्छन्, 'कृषि पढ्ने विद्यार्थीले किसान समक्ष पुगेर किसानका समस्या सुन्ने उनीहरूसँग बस्ने र प्रविधिहरू सिकाउने गर्नुपर्छ । यसतर्फ सोच जानुपर्छ ।'
कृषि उत्पादन नहुने क्षेत्रमा त्यहाँबाट के लाभ लिन सकिन्छ लेखाजोखा गर्नुपर्छ । कृषिको उत्पादनलाई र किसानलाई पनि हौसला दिन सक्नुपर्छ । कृषि क्षेत्रमा मानव स्रोतको भूमिका महत्त्वपूर्ण रहेकाले कृषिकर्मीहरूले पनि किसानलाई सहयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ
कृषिमा भइरहेको प्रगति गाउँ-गाउँ पुगेर अनुभव लिएपछि केन्द्रमा आएर योजना तर्जुमा गर्न सहयोग गर्नु आजको आवश्यकता हो । कृषिमा रोग तथा किरा व्यवस्थापनमा सेवा गरेका घिमिरेले यही क्षेत्रमा पिएचडी समेत गरेका छन् ।
यो बजेटले कृषि क्षेत्रलाई समेट्न सक्दैन
घिमिरेका अनुसार कृषि व्यापक क्षेत्र हो । यसमा मानिसको जनजीवन प्रत्यक्ष जोडिएको छ । कृषिमा आत्मनिर्भर हुन सके देश यत्तिकै परिवर्तन र सम्पन्न भएर जान्छ । तर हाल सरकारले ल्याएको बजेटले कृषिको सबै क्षेत्रलाई समेट्न सक्दैन ।
कृषिलाई पाखा लगाएर देशको विकास हुन नसक्ने उनको भनाइ छ । उनी भन्छन्, 'पछिल्लो समय थोरैले उत्पादन गरेर धेरैलाई खुवाउने चलन छ । यो नै कृषिको सबैभन्दा महत्त्वपूर्ण र रोचक पक्ष हो ।' उनका अनुसार धेरै उत्पादन बढाउन कृषिमा लगानी बढाउँदै जानुपर्छ । देश र राष्ट्रले यसमा लगानी बढाउनुपर्ने उनको भनाई छ ।
कृषि उत्पादन नहुने क्षेत्रमा त्यहाँबाट के लाभ लिन सकिन्छ लेखाजोखा गर्नुपर्छ । कृषिको उत्पादनलाई र किसानलाई पनि हौसला दिन सक्नुपर्छ । कृषि क्षेत्रमा मानव स्रोतको भूमिका महत्त्वपूर्ण रहेकाले कृषिकर्मीहरूले पनि किसानलाई सहयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
घिमिरेको अनुभवमा कृषिमा अनुदान दिएर भन्दा पनि उत्पादनलाई अनुदान दिनुपर्छ । आर्थिक वर्ष ०८०/०८१ को बजेटले कृषि क्षेत्रलाई समेट्न नसक्ने उनको भनाइ छ । अबको युगमा नीति, निर्माता र कृषकबीच पनि सहकार्य र छलफल भएर बजेटहरू छुट्टाइनुपर्ने उनको भनाइ छ ।