काठमाडौं । पर्साको वीरगञ्जमा आज (शनिबार) हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशअनुसार चैत ३० गते साँझ ६:३० बजेदेखि चैत ३१ गते दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू जारी गरिएको हो ।
कर्फ्यू अवधिभर तोकिएको सीमाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ जस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
कर्फ्यूको क्षेत्र :
पूर्वतर्फ : भेडियाही चौक, वीरगञ्ज महानगरपालिका–१५
पश्चिमतर्फ : सिर्सिया पुल, वीरगञ्ज महानगरपालिका–२५
उत्तरतर्फ : गण्डक चौक, वीरगञ्ज महानगरपालिका–१४
दक्षिणतर्फ : शंकराचार्य गेट, वीरगञ्ज महानगरपालिका–१६
शनिबार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । झडपका क्रममा केही पसलहरूमा आगजनी भएको र स्थानीय बासिन्दा तथा प्रहरीसमेत घाइते भएका छन् ।
घटनापछि वीरगञ्जको अवस्था थप तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरेको छ ।