जुम्लाका स्थानीय तहलाई रु दुई अर्ब ३७ करोड विनियोजन

जुम्लाका स्थानीय तहलाई रु दुई अर्ब ३७ करोड विनियोजन

जुम्ला । जुम्लाका आठ स्थानीय तहका लागि संघीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ रु दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ। 

आर्थिक वर्ष २०८०/८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई रु दुई अर्ब ३७ करोड २२ लाख रकम विनियोजन गरिएको हो । 

विनियोजित रकममध्ये चन्दननाथ नगरपालिकाका लागि रु ३८ करोड ५४ लाख रकम विनियोजन गरिएको छ । 

सात गाउँपालिकामध्ये सबै भन्दा बढी तिला गाउँपालिकाका लागि रु ३१ करोड ९० लाख र सबै भन्दा कम गुठिचौर गाउँपालिकालाई रु २१ करोड ६६ लाख विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ । 

त्यस्तै, तातोपानी गाउँपालिकालाई रु ३१ करोड पाँच लाख, कनकासुन्दरी गाउँपालिकालाई रु २९ करोड ३६ लाख, हिमा गाउँपालिकालाई रु २९ करोड ७१ लाख, पातारासी गाउँपालिकालाई रु २६ करोड ८१ लाख र सिञ्जा गाउँपालिकालालाई रु २८ करोड १९ लाख रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

संघीय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान शीर्षकमा चालु र पुँजीगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ ।