काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयम् घोषणा गर्न पाउने तथा बढि भएको सामानको भन्सार महशुल बुझाइ सजिलै लैजान पाउने छन् ।
विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेशिनमा पुग्नु अगावै स्वयम् घोषणाको सुविधा पाउँछन् । त्यसका लागि भन्सार कार्यालयले नियमित कर्मचारीसहित स्वयम् घोषणा कक्षको व्यवस्था गरेको छ ।
विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।
यसैगरी, पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन । एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँने व्यवस्था रहेको छ ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था रहेको छ ।
यसैगरी, मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँने कानुनी व्यवस्था रहेको छ । यस्तो थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्दछ ।
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नुनपर्ने व्यवस्था रहेको छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भएपनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नुपर्ने व्यवस्था रहेको छ ।
यसैगरी, पाँच हजार अमेरीकी डलरमाथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महशुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ ।
यसअघि त्यस्तो कक्ष नहुदा यात्रुहरु मापदण्डभन्दा बढि मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा थुनामा समेत पुग्ने गरेका थिए ।