पौडी खेल्ने क्रममा डुबेर नवलपुरमा एक शिक्षकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर नवलपुरमा एक शिक्षकको मृत्यु

मध्यबिन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ । 

देवचुली नगरपालिका-१५ प्रगतिनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका-१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

मृतक सुवेदीले मध्यविन्दु नगरपालिका-१० स्थित जनता माध्यमिक विद्यालयमा पढाउँदै आएका थिए । अत्यधिक गर्मी भएपछि सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएका थिए ।

साथै गत शनिबार जिल्लाको गैँडाकोट नगरपालिका-३ केलादीस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एकजनाको शव फेला परेको छ । 

नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका–१० जनजागृति टोलका सुरज सुवेदी (शर्मा)को शव फेला परेको नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी पाठकले बताए ।

नदीमा डुबेर बेपत्ता भएका गैँडाकोट नगरपालिका–२ शिलान्यास चोकका २५ वर्षीय रमेश चालिसेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।