काठमाडौं । प्रहरी कर्मचारी सरुवाको मापदण्ड बनाउन गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले सुरु गरेको छ । साउन लाग्नासाथ हुनुपर्ने कर्मचारीको सरुवा मापदण्ड तयार नभएकाले रोकिएको हो ।
अहिले इन्स्पेक्टरदेखि एसपीसम्मका सरुवा भएका छैनन् र भर्खरै सरुवा भएर इन्चार्ज भएका इन्स्पेक्टरहरू समेत फिर्ता हुनुपर्ने अवस्था रहेको जनाइएको छ ।
एक महिनाअघि सरुवा भएर इन्चार्जको रुपमा खटिएका इन्स्पेक्टहरू समेत फिर्ता आउनुपर्ने अवस्था नयाँ मापदण्डका कारण सिर्जना भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार फिर्ता आउनुपर्ने अवस्थाका इन्स्पेक्टरहरू आधा दर्जनभन्दा बढी रहेका छन् ।
अहिले क’ श्रेणीको कार्यालयका इन्चार्ज भइसकेका प्रहरी अधिकृतहरूलाई ‘क’ श्रेणीकै कार्यालयको इन्चार्जको रुपमा सरुवा नहुने मापदण्ड तयार गरिँदैछ । त्यसैले यसअघि ‘क’ श्रेणीमा बसेर पुन: ‘क’ श्रेणीकै कार्यालयमा सरुवा भएर इन्चार्जको रूपमा गएका इन्स्पेक्टहरूलाई प्रहरीलाई प्रधान कार्यालयले फिर्ता ल्याउन लागेको हो ।
इन्स्पेक्टरहरूलाई एकै पटक ‘क’ श्रेणीको कार्यालयको इन्चार्जको रुपमा पनि नपठाउने गरी मापदण्ड तयार गरिँदैछ । पहिला 'ख’ श्रेणीको कार्यालयमा इन्चार्ज रहेका इन्स्पेक्टरलाई मात्रै दोस्रो पटक इन्चार्ज दिँदा ‘क’ श्रेणीको कार्यालयमा सरुवा गरिने भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार पहिल्यै ‘क’ श्रेणीको कार्यालयको इन्चार्ज बनाउँदा काममा बोझ हुने, एकै पटक ठूलो जिम्मेवारी पाउँदा कार्यसम्पादनमा असर पर्न सक्ने हुनाले पहिला ‘ख’ श्रेणीको कार्यालयको इन्चार्ज बनाउन लागिएको हो अहिले । डीएसपी, एसपीहरूको सरुवा समेत रोकिएको र काजको रुपमा खटिएका इन्स्पेक्टहरूको दरबन्दी मिलान गर्न लागिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
आकर्षक कार्यालयको इन्चार्ज भएर जाने इच्छाका कारण एसपी र डीएसपीको सरुवा रोकिएको प्रहरी अधिकृतहरूको बुझाइ छ बताउँछन्।
सुनसरी, इलाम, नुवाकोट, उदयपुर, कपिलवस्तु, रौतहट, बारा, डोटी, कास्की, भक्तपुर आदि जिल्लाका प्रहरी प्रमुख फेरिने भएका छन् । साथै काठमाडौंभित्रका महाराजगञ्ज, बौद्ध, नयाँ बानेश्वर, स्वयम्भू, सोह्रखुट्टे, दरबारमार्ग आदि प्रहरी वृत्तहरूका इन्चार्ज समेत परिवर्तन हुने बेला भएको छ ।