काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको उत्पादन खरिद तथा बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।
गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरी यहाँका किसानलाई सहजै बजारीकरणमा टेवा पुर्याउनका लागि खाद्य कम्पनीको केन्द्रीय कार्यालयसँग शनिबार सम्झौता गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष धिताल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद चन्दबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
गाउँपालिका अध्यक्ष धितालले भने, “रैथाने बाली खरिदका लागि गाउँपालिका र खाद्य कम्पनीबीच सम्झौता भएको छ । गाउँपालिकाले रैथाने बाली किसानबाट खरिद गरेर खाद्य कम्पनीलाई निर्धारित मूल्यमा उपलब्ध गराउनुपर्ने छ ।”
सम्झौताअनुसार गाउँपालिकाले कालीमार्सी धान, चामल, सिमी फापर, चिनो, कागुनो, मास, भटमास र कोदोलगायतका स्थानीय बालीको उत्पादनमा किसानलाई प्रोत्साहन गर्न सिधै किसानसँग वा कृषक समूह, सहकारी समूह किसानलाई लाभ पुग्नेगरी खरिद र संकलन गरी खाद्य कम्पनीलाई बिक्री गर्नेछ ।
पहिलो चरणमा सिञ्जा गाउँपालिकासँग सम्झौता गरी यहाँको रैथाने बालीको प्रवर्द्धन र बजारीकरण गर्नका लागि खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिए ।
जुम्लालगायत हिमाली जिल्लाको विभिन्न गाउँपालिकासँग रैथाने बाली खरिद गर्ने सम्झौता भएको छ । किसानले उत्पादन गरेको रैथाने बालीलाई बजारसम्म पु-याउनका लागि खाद्य कम्पनीले सहजीकरण गर्ने भएको हो । किसानहरूले उचित मूल्य पाउने भएका छन् । यसअघि बिचौलियाका कारण किसानले उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने गरेका थिए ।
विगतमा किसानले उत्पादन गरेको रैथने बाली बिक्री नभएर खेर फाल्नुपर्ने अवस्था रहेको थियो । सिञ्जाका सबै किसानले रैथाने बाली उत्पादन गर्छन् । किसानको हितका लागि खाद्य कम्पनीसँग दीर्घकालसम्म सम्झौता गरिने सिञ्जा गाउँपालिका प्रवक्ता तीर्थ वडले बताए ।