काठमाडौं । काठमाडौं जिल्लाको उत्तर पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा वडा छन् । यस नगरपालिकाको वडा नं १ मा अवस्थित कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट यसको नामाकरण गरिएको हो ।
यो नगरपालिकाको कुल जनसंख्या १ लाख २१ सय ३१ रहेको छ । नगरपालिकाको तथ्याकं अनुसार यहाँको घरधुरी संख्या २६ हजार १ सय ६६ छ । यस नगरपालिकाको समग्र शिक्षा, स्वास्थ्य, पूर्वाधार र नगरपालिकाको कार्यसम्पादन लगायतका विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलासँग व्यवस्था डटकमका लागि प्रज्वल तामाङले कुराकानीको सम्पादित अंश ।
तपाईं कागेश्वरी मनोहरा नगरपालिकामा विगत १० महिनादेखि कार्यरत हुनुहुन्छ, नगरवासीका कामहरू कसरी कार्यसम्पादन गरिरहनु भएको छ ?
स्थानीय सरकारमा काम गर्दाको अनुभव चुनौतीपूर्ण र फरक किसिमको हुँदो रहेछ । एउटा स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्ता आयामहरूको काम गर्नुपर्ने हुन्छ ।
स्थानीय सरकारमा जनताको पहुँच सहजै भएको हुनाले, उनीहरूले सरकारप्रतिको कार्यशैलीमा धेरै नै आशा र भरोसा राखेका हुन्छन् । जनताको काम कम समयमा पुरा होस् भन्ने अपेक्षा रहन्छ । योजनाका कुराहरू पनि छिट्टै कार्यान्वयन भए हुन्थ्यो भन्ने अपेक्षा रहन्छ । तर हामीले नीति, नियमको अधीनमा रहेर काम गर्नुपर्ने हुन्छ । उहाँहरू परिणाम चाँडै आए हुन्थ्यो भन्ने पक्षमा देखिनुहुन्छ । तर हामी ऐन र नियमको अधीनमा रहेर काम गर्छौ । हामी पनि सकेसम्म चाँडो सेवा प्रवाह गर्ने कुरामा ध्यान दिन्छौँ । यस कुरालाई मैले चाहिँ चुनौतीको रूपमा लिएको छु । तर काम भने बुझाउँदै गर्दै जाने हो ।
यो नगरपालिकामा शिक्षा, पूर्वाधारबारे के-कस्ता योजनाहरू बनाएका छन् ?
शिक्षा क्षेत्र एक महत्वपूर्ण विषय हो । यस विषयमा सबै नगरपालिकाहरू खटेका छन् । तर हामी चाहिँ काठमाडौंको अन्य पालिकाहरू भन्दा शिक्षामा २–३ वटा पक्षहरू थप गर्ने काममा लागेका छौं । सर्वप्रथम यस नगरपालिकाको सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल विकास ईसीडीको लागि रातो बङ्गला फाउन्डेसनको गुणस्तर कायम गर्नु पर्छ भनेर साझेदारी गरेका छौं । रातो बङ्गला फाउन्डेसनको तालिम प्रदान गरेर समुदायिक विद्यालयको भौतिक निर्माण नियमित रूपमा निगरानी पनि गर्ने गरेका छौं ।
अर्को कुरा सामुदायिक विद्यालयमा हरेक महिना स्वास्थ्य सहायकको सहकार्यमा हेल्थ चेकअप गर्ने गरेका छौं । अब संस्थागत विद्यालयहरूमा पनि मासिक एकपटक स्वास्थ्य चेक गर्ने व्यवस्थापन गर्दै छौं।
नगरपालिकाको आफ्नै स्थानीय पाठ्यक्रम बनाएर हरेका हप्ता 'कोर्स बेस्ड फ्राइडे' बनाउने तयारीमा लागेका छौं । यो योजना अन्तिम चरणमा पुगेको छ र यही वर्ष कार्यान्वयनमा आउने चरणमा छ । कोर्समा ५० अंक थ्यौरी हुन्छ भने ५० अंक प्राक्टिकल हुनेछ । दैनिक जीवनयापनका आवश्यक पक्षहरूमा पनि विद्यार्थीलाई सहज हुनेगरि यो कोर्सको डिजाइन गरिएको छ ।
आगामी वर्ष श्री आनन्द भैरव मावि र श्री कान्ति भैरव माविमा टेक्निकल विषय सञ्चालन गर्ने योजनामा छौं । कागेश्वरी नगरपालिकाको केही ठाउँहरूमा खानेपानीको आपूर्तिमा देखिएको समस्यालाई सम्बोधन गर्न योजनाहरू सञ्चालन गर्न लागेका छौं । नगरपालिकामा भएका सय प्रतिशत जनतालाई स्वच्छ र सफा खानेपानी पुर्याउनका निम्ति गोठाटार भईमाल खानेपानी आयोजना, डाँछी भद्रवास खानेपानी आयोजना र काडाँघारी खानेपानी आयोजना जस्ता ठुला आयोजना सञ्चालनको तयारीमा छौं ।
कागेश्वरीको ९ वटा वडालाई ३ भागमा विभाजन गरि प्रत्येक तीन वटा वडाका लागि एउटा बहुउद्देश्यीय नगरपालिका केन्द्र स्थापनार्थ भौतिक निर्माणको काम अगाडि बढेको छ । हामीले त्यहाँ पुस्तकालय, ई–लाइब्रेरी, क्यान्टिन, क्लिनिकहरूको पनि व्यवस्था गर्ने योजना बनाएका छौं ।
नगरपालिकाभित्र कर्मचारी र जनप्रतिनिधिहरूबीच कस्तो सम्बन्ध छ ? कामका बारेमा कसरी सहकार्य गर्नुहुन्छ ?
कागेश्वरी नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच एकदम राम्रो सम्बन्ध, वातावरण छ । जनप्रतिनिधिहरूले नियम, कानूनसम्मत काम गर्ने हो । हालसम्म कुनै पनि काममा द्वन्द्वको वातावरण बनेको छैन । जनप्रतिनिधिहरू पनि कानून र ऐनमा टेकेर नै काम गरौं भन्नुहुन्छ ।
कर्मचारीको सीप, क्षमता विकासका लागि कागेश्वरी नगरपालिकाले कतिको प्राथमिकता दिएको छ ?
कर्मचारीका क्षमताविना कुनै पनि योजनाहरूले काम गर्दैनन् । अहिलेको वर्तमान परिवेशमा कर्मचारीको सीप र क्षमता नबढाई, र निरन्तर रूपमा जानकारी नलिई प्रविधिमैत्री हुन सकिँदैन । यसो भएन भने हामीले सकारात्मक परिणाम हासिल गर्न सक्दैनौँ । त्यसकारण हामीले हरेक वर्ष कर्मचारीहरूका विज्ञको आधारमा जस्तै प्राविधिक, प्रशासनिक, स्वास्थ्य, शिक्षाको छुट्टै फरक–फरक किसिमको तालिमहरू सञ्चालन गर्छौ ।
स्मार्ट सिटीको परिकल्पनाबारे कागेश्वरीले कस्ता योजनाहरू बनाएको छ ?
यो प्रोजेक्ट चाहिँ काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्ने हो । कागेश्वरी नगरपालिकाको वडा नं. ४, ५, ६, ७ वडामा प्राधिकरणले डीपीआर गर्दैछ । विभिन्न प्राविधिक र प्रक्रियागत अन्तर्गतका कामहरू भएकाले बिस्तारै कार्यहरू भइरहेका छन् । शंखरापूर नगरापालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिकाको क्षेत्रलाई समेटेर २५ हजार रोपनी जग्गामा परिन उपत्यका नयाँ सहरी विकास आयोजनाका लागि हामीले पहल गरेका छौं । यसका भौतिक योजना नेपाल सरकार मन्त्रिपरिषद्मार्फत अनुमोदन भइसकेको छ । परियोजना वित्तीय बन्दको अनुमोदनको चरणमा छ । यसरी नै तीन वटा नगरपालिका मिलेर नयाँ सहरी विकास आयोजना सञ्चालन गर्दै छौं ।
तपाईंहरूले नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
हामीले नगरपालिकाभित्र जम्मा हुने फोहोर मैलालाई नगरपालिकामा नै वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने नीति ल्याएका छौं । अबको डेढ वर्षभित्रमा नगरपालिकामा जम्मा हुने फोहोरहरूलाई वैज्ञानिक र अत्याधुनिक प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्छौं ।
यहाँको धर्म, संस्कृतिको संरक्षणका लागि नगरपालिकाले के गरिरहेको छ ?
स्थानीय सरकार जनताको घर-घरको सरकार हो । नगरपालिकाले नयाँ मन्दिर, सांस्कृतिक भवनहरूको निर्माण गर्नमा भन्दा पनि हाम्रा पालिकामा भएका पुराना मन्दिर, धार्मिक स्थलहरूलाई जलाधार गर्ने, आकर्षक बनाउने, दिगो मर्मत सम्भार गर्नेमा ध्यान केन्द्रित गरेका छौं । वडा नं. १ मा कार्यशैली धाम र वडा नं ८ मा नवतन धामलाई नगरपालिकाले बजेट छुट्टाएर धार्मिक भवनहरूको विकासको लागि नगरपालिका अगाडि बढेको छ ।
अहिले संघीय निजामती ऐन छिटो जारी गर्नुपर्यो भन्ने कुरा उठिरहेको छ । ऐन लागु नभएको कारणले कार्यसम्पादनमा समस्या आएको भन्ने कुरा छ । के यो साँचो हो ?
संघीय निजामती ऐन लागु नभएका कारणले भोलिका दिनमा कर्मचारी व्यवस्थापनको कुराहरूमा अन्योल छाएको कुरा साँचो हो । तर, संघीय निजामती ऐन नआएको कारणले कार्यसम्पादनमा भने जटिलता छाएको छैन । औसत रूपमा नै कार्य सम्पादन भइरहेको छ । छिटो संघीय निजामती ऐन लागु भएमा सबै कर्मचारीहरूका वृत्ति, विकास लगायतको कामहरूमा फरक देखिन सक्छ ।
सेवा प्रवाहमा नवीन प्रविधिहरूले समस्या ल्याएको छ कि छैन ?
हामी जनतालाई प्रदान गर्ने सेवाहरूलाई प्रविधिमैत्री र नवीन प्रविधिमैत्री बनाउनेतिर लागिरहेका छौं । स्थानीय तह पनि प्रविधिमैत्री बनेको छ । नगरपालिकामा हुने नक्सा सम्बन्धी सबै कामहरू डिजिटल रूपमा भइरहेको छ । राजस्वका सबै भुक्तानीहरू ई–पेमेन्टबाट हुन्छन् । अहिले खासै समस्या देखिएको छैन । नगरपालिकाका शिक्षाका सबै क्रियाकलापहरू सफ्टवेयरमा आधारित छन् । हामी सकेसम्म सबै सेवाहरू प्रविधिमैत्री हिसाबले सञ्चालन गर्नुपर्छ भनेर अगाडि बढेका छौं ।
कामहरूको गुणस्तरीयता कायम गर्नका लागि हामीले आइएसओ प्रमाणित गर्नका निम्ति काम गरिरहेका छौं । भदौ महिनाभित्रमा आइएसओ प्रमाणित हुन्छ भन्ने हाम्रो अनुमान छ ।