काठमाडौं । काज मिलाएर पायक पर्ने ठाउँमा बसेका स्वास्थ्य क्षेत्रका कर्मचारीको तलब रोक्का भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउनदेखि आफ्नो दरबन्दी रहेको स्थानमा नगएर अर्कै ठाउँमा काजमा रहेका सबै कर्मचारीको पारिश्रमिक रोक्का गरेको हो ।
संघ, प्रदेश र स्थानीय तहमा गरी ८ सय ९१ जना स्वास्थ्यकर्मी काजमा खटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । दुर्गममा खटिनुपर्ने चिकित्सक तथा कर्मचारी काज मिलाएर सुगममा जाँदा स्थानीय तहमा करारमा स्वास्थ्यकर्मी राख्नुपर्ने बाध्यता छ । जसले गर्दा दोहोरो पारिश्रमिक दिनुपर्दा सरकारलाई भार परेको छ ।
सरकारलाई काज र करारमा गरी वार्षिक १ अर्ब ६५ करोड रुपैयाँ बराबरको अतिरिक्त भार परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त भारलाई रोक्नका निम्ति मन्त्रालयले काजमा गएका कर्मचारीहरूको तलब रोक्का गर्ने निर्णय गरेको हो ।
वीर अस्पतालमा करिब एक सय स्वास्थ्यकर्मी काजमा छन् । २ हजार ५० स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी रहेको वीर संघीय सरकार मातहत रहेको स्वास्थ्य संस्था हो । यस संस्थामा काजमा मात्रै चिकित्सक तथा स्वास्थ्यकर्मी गरी ९१ जना कार्यरत छन् । वीर सबैभन्दा बढी काजमा कर्मचारी कार्यरत रहेको संस्था समेत हो ।
यसैगरी २ सय ६२ जनाको दरबन्दी रहेको राष्ट्रिय ट्रमा सेन्टरमा २२ जना चिकित्सक काजमा छन् । सरकारले एउटा स्थानमा खटाए पनि विभिन्न कारण देखाउँदै कर्मचारीहरू आफ्नो पायक पर्ने ठाउँमा काज मिलाएर बस्दै आएका छन् । जसका कारण दुर्गमका नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुँदै आएका छन् ।
२०७५ सालमा करिब ४२ सय स्वास्थ्यकर्मी काजमा खटिएका थिए । तर त्यसमा अहिले केही कमी आए पनि पूर्णरुपमा रोकिएको भने छैन । कर्मचारीको तलब नै रोक्का गरिदिएमा दरबन्दी रहेको स्थानमा कर्मचारी पुग्ने मन्त्रालयको अपेक्षा छ ।
स्वास्थ्यतर्फ हाल संघमा ३१ सय ९२, प्रदेशमा २५ सय ९३ र स्थानीय तहमा २६ हजार ७ सय १७ जना स्वास्थ्य कर्मीको दरबन्दी रहेको छ ।