काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि २० साउनमा लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पहिलो चरणको नतिजा अनुसार भर्ना हुने परीक्षार्थीको योग्यता क्रमको अन्तिम सूची समेत महानगरले प्रकाशन गरेको छ । दुई हजार तीन सय २२ जना परीक्षार्थीले छात्रवृत्ति पाउने भएका छन् ।
म्याचिङ लिस्टमा विज्ञान विषयका लागि १ हजार ४ सय ५२ जना, व्यवस्थापन विषयका लागि ७ सय ४५ जना, कानुनका लागि ४३ जना, मानविकीका लागि ४ जना, शिक्षाका लागि ५ जना, सिभिल इन्जिनियरिङका लागि ४९ जना, कम्प्युटरका लागि १८ जना, इलेक्ट्रिकलका लागि ११ जनाको नाम समावेश छ ।
यीमध्ये प्राविधिक धार (सिभिल इन्जिनियरिङ, कम्प्युटर, इलेक्ट्रिकल)का विषय अध्ययन गर्ने विद्यार्थीलाई सामुदायिक विद्यालयमा भर्ना गराइनेछ ।
कम्प्युटर विषयमा १८ जना (शिवपुरी मावि, महाराजगन्ज आठजना र सरस्वती निकेतन मावि, ब्रह्मटोल, कम्प्युटरमा १० जना), सिभिल इन्जिनियरिङमा ४९ जना (ज्ञानोदय सेकेन्डरी स्कुल, बाफल १२ जना, पद्मकन्या मावि, डिल्लीबजार २० जना र महेन्द्र राष्ट्रिय मावि, बालुवाटार १७ जना) र इलेक्ट्रिकलमा ११ (विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर) जनाले भर्ना पाउनेछन् ।
२७ साउनसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु सिफारिस गरिएको छ।