काठमाडौं । नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधिका लागि दुई दिने अनुशिक्षण कार्यक्रम गर्ने भएको छ । स्थानीय तहमा बजेट निर्माण गर्ने समय भइरहँदा एमाले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि दुई दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुने अनुशिक्षण कार्यक्रममा पार्टीका नेताहरू र विभिन्न विषय विज्ञबाट प्रशिक्षण दिइने बताइएको छ । पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुलसीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा हुने अनुशिक्षणमा एमालेबाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब चार सय जनाको सहभागिता रहने छ ।
अनुशिक्षणको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन र दिशानिर्देश गर्नेछन् भने समापनमा महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक परिवेश र स्थानीय तहका जनप्रतिनिधिहरूबाट पार्टीको भूमिका विषयमा सम्बोधन गर्नेछन् ।
जनप्रतिनिधिहरूलाई स्थानीय तहको ठाडो र तेर्सो अन्तरसम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषयमा उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षित गर्नेछन् भने स्थानीय तहमा रोजगारी, श्रम र उत्पादनशीलता विषयमा स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र स्थानीय तह सञ्चालन सम्बन्धी निर्देशिका र अन्य कार्य योजनाका विषयमा पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले प्रशिक्षण दिनेछन् ।
त्यसैगरी, अनुशिक्षणमा स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमहरूको प्राथमिकीकरण र बजेट तर्जुमा विषयमा नेपाल सरकारका पूर्व सचिव शिशिरकुमार ढुङ्गाना, स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवाली र स्थानीय तहमा सुशासन, सेवा प्रवाह र जनशक्ति व्यवस्थापन विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका पूर्व कार्यकारी निर्देशक विमल पोखरेलले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
त्यस्तै, स्थानीय तहमा सूचना प्रविधिको प्रयोग र प्रचार प्रसार विषयमा असगर अलि र उनको टिमको प्रस्तुति रहने छ भने अनुशिक्षण सबै प्रशिक्षक र विषय विज्ञसँग सहभागीहरूको अन्तरक्रियात्मक हुने गरी कार्यक्रम तय गरिएको एमाले केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।