काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरि पुष्करले सोमबार आन्तरिक छड्के निरीक्षण गरेका छन् ।
समयमा कार्यालय नआउने कर्मचारी र आएपनि कार्यकक्षमा नभेटिने गुनासो आएपछि सचिव पुष्करले बिहान ठिक १० बजे निरीक्षण गरेका थिए । सचिव पुष्करले कार्यकक्षमा कर्मचारी भए नभएकोबारे निरीक्षण गरेका हुन् ।
छड्के अनुगमनका क्रममा दर्जन बढी कर्मचारीहरूले समयमा हाजिर गरेको नभेटिएको मन्त्रालयले जानकारी दिएको छ । कार्यालय प्रमुखबाट हुने आन्तरिक छड्केका क्रममा सचिवले मन्त्रालयमा निरीक्षण गरेको र के कति संख्यामा कर्मचारी समयमै मन्त्रालयमा उपस्थित भएका छैनन् भन्ने विवरण निकालिरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
बेला मौकामा समय पालना भयो कि भएन भनेर बेला मौकामा छड्के गर्ने चलन भएको प्रवक्ता भट्टराईले बताए । तर आज भने मन्त्रालयमा सचिवले छड्के गर्दा दर्जन बढी कर्मचारीहरू अनुपस्थित देखिएका थिए ।




























