काठमाडौं । ०७४ सालमा भएको वामपन्थी एकताले देश स्थिरतामा लम्कन्छ भन्ने सोच र आशा सबैले राखेका थिए । पूर्वी पहाड पाँचथरका विपन तुम्रोकले पनि यस्तै सोचका थिए । तर नेताहरूको व्यक्तिगत आचरण र टकराबले गर्दा एकता भंग भयो । नेकपा फुट्यो ।
यस्तो राजनीतिक परिवेश र जनताको दुःख देख्दा उनलाई दिक्क लाग्थ्यो । त्यसपछि २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा विचार र सिद्धान्त अलग भएका पाँच दलको गठबन्धन बन्यो । गाउँघरमा जनताको सेवामा खटिएका विपनले टिकट पाएनन् । त्यसपछि उनी स्वतन्त्र उम्मेदवार भएर निर्वाचन लड्ने निर्णय गरे ।
आस्था त उनको नेकपा माओवादीतिर थियो । तर गठबन्धनको भागमा आफ्नो वडा कांग्रेसलाई परेपछि उनले स्वतन्त्र उठ्नुको विकल्प थिएन ।
यस्ता विविध कारणलाई मध्यनजर गर्दै उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिए । फिदिम नगरपालिका वडा न ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका उनी २४ वर्षकै उमेरमा वडा अध्यक्ष हुने अवसर पाए ।
एउटा निश्चित उमेर पुगेपछि मान्छेका काँधमा जिम्मेवारीको भार पनि थुप्रिँदै जान्छ । इच्छा भए पनि नभए पनि त्यो जिम्मेवारीको भार बोक्नै पर्ने हुन्छ ।
स्नातक सकिएपछि अधिकांशले एउटा तह पार गरेको महसुस गर्छन् । जीवनयापनका लागि केही गर्नुपर्छ भन्ने लाग्छ । त्यसमाथि कामको बोझ थपिनु सामान्य हो । विपन पनि त्यस्तै उमेर समूहका व्यक्ति हुन् । तर अहिले उनी सिंगो वडा सरकारको नेतृत्व गरिरहेका छन् ।
०५४ सालमा फिदिम नगरपालिकाको वडा नम्बर ६ मा जन्मिएका तुम्रोक समाजको भलाइका लागि राजनीति गर्नुपर्ने मान्यता राख्छन् । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा उनलाई चिन्ने जान्नेहरू बाक्लै थिए ।
स्थानीय विद्यालयमै कक्षा १० सम्म अध्ययन गरेका उनी विद्यालयको अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै क्रियाशील थिए । भलिबल, फुटबल लगायतका खेलमा उनको उत्तिकै दखल थियो । त्यसकारण उनी स्थानीय तहमा चर्चित थिए ।
विद्यालय पढ्दा पनि विद्यालयको नायक सरह कहलिन्थे उनी । एसएलसी पछि फिदिम उच्च माविबाट गणित विषयमा प्लस टु पास गरेका विपनले इलाम महेन्द्र रत्न बहुमुखी क्यासबाट गणित र राजनीतिक विषयमा स्नातक पास गरेका छन् ।
२०७३ सालमा स्नातक अध्ययन गर्ने क्रममा अनेरास्ववियू क्रान्तिकारीमा आबद्ध भएर राजनीतिमा लागेका उनलाई जागिर गर्ने कि राजनीतिमा लाग्ने भन्ने अन्यौलता थियो । त्यस क्रममा उनले आफूलाई कतातिर केन्द्रित गर्ने भन्ने विषयमा निकै गहिरिएर सोच्ने समेत गरे ।
चुनौतीको सामना गर्न रुचाउने उनी लोकसेवा पढ्नका लागि काठमाडौं समेत आए । तर त्यही बेला स्थानीय तहको निर्वाचन आएपछि साथीहरू र अग्रजलाई सहयोग गर्न गाउँ जाने निधो गरे । गाउँ गएपछि त्यहाँको समस्याले विपनलाई पिरोल्न थाल्यो । जसले गर्दा उनको यात्रा राजनीतितर्फ मोडियो ।
राजनीतिमा होमिएपछि जनतासामु आफूलाई परीक्षण गर्ने योजना बनाएर उनले निर्वाचन लड्ने योजना बनाए । चुनाव जित्छु भन्ने उनलाई लागेको थिएन । तर खेलमा निस्किएको खेलाडी सधैँ जितिन्छ भन्ने सोच राखेर उनी निरन्तर लागिरहे ।
राजनीतिज्ञहरू प्रमाणित हुने एक मात्र ठाउँ जनताको मत नै भएको उनको भनाई छ । भन्छन्, 'जनताबाट अनुमोदन नभएको खण्डमा आफू असक्षम हो वा आफ्नो लक्ष्य अरू नै हो भन्ने मनन गर्न जरुरी छ ।'
कम्युनिस्ट विचारधारालाई आत्मसात् गरेका उनले वामपन्थी एकताले देशमा स्थिरता ल्याउँछ भन्ने आशा राखेका थिए । तर केन्द्रमा नेताहरूको लुछाचुँडीका कारण पार्टी सग्लो रहेन ।
नेकपा माओवादी केन्द्र फिदिम नगर कमिटीको कोषाध्यक्षको जिम्मेवारीमा रहेका विपन विद्यार्थी राजनीतिबाट क्याम्पसको अध्यक्ष हुँदै इलाम जिल्ला अखिल क्रान्तिकारीको सचिव सम्म भएका थिए । गाउँमा आफ्नो जिम्मेवारी थप बढेको महसुस भएपछि उनी गाउँ फर्किएर स्थानीय राजनीतिमा लागेका हुन् ।
जनताको बलियो विश्वास कमाएका उनले गठबन्धनका उम्मेदवारलाई चुनौती दिन सफल रहे । निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै विपक्षी भन्दा ४ सय ८२ बढी मत ल्याएर विपन वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचनका बेला केन्द्रमा बन्ने यस्तै चुनावी गठबन्धनका कारण सक्रिय राजनीतिमा आउन चाहने थुप्रै युवाहरू रोकिएको तुम्रोकको बुझाइ छ । 'राजनीतिमा अब पनि युवाले दखल नदिने हो भने हामी र हाम्रा सन्तति धरै पछाडि पर्ने निश्चित छ', उनले भने ।
युवाको जबरजस्त उपस्थितिको आवश्यकता महसुस गर्दै राजनीतिमा लागेका उनी त्यसका लागि धेरै कुरा त्याग गरेको बताउँछन् । राजनीतिमा सक्रिय हुँदा उनले स्नातकोत्तरको परीक्षा समेत दिन पाएनन् । स्वतन्त्र चुनाव लडेर जितेका उनले पार्टी नभएर आम मतदाताले सहयोग गरेकोप्रति खुसी छन् । आफूलाई थप जिम्मेवार समेत बनाएको बताउने उनी आफूले विश्वास गरेका अग्रजको साथ नपाए पनि जनताले आफूलाई मत दिएर प्रमाणित गरिदिएकोप्रति सन्तुष्ट छन् ।
उनी भन्छन् 'मलाइ पार्टीको मान्छेले सहयोग गरेको भनिए तापनि त्यो गलत हो । म निष्पक्ष जनताको मतले वडाध्यक्ष पदमा आएको हुँ ।'
स्वतन्त्र वडाध्यक्ष भएता पनि निकट भविष्यमा पार्टीमै फर्कने उनको योजना रहेको छ । भन्छन्, 'अरूले कस्तो चाहन्छन् त्यो आफ्नो ठाउँमा छ । तर युवाले देशमा अवश्य परिवर्तन चाहेका छन् । अब युवाको लडाइ भनेको जनताको आर्थिक सम्वृद्धिका साथसाथै समग्र देशको आर्थिक, सामाजिक, सांस्कृतिक सुधारका लागि हुनुपर्छ ।'
राजनीतिलाई हिजोको भन्दा फरक ढङ्गले व्याख्या गर्नुपर्ने विपनको भनाई छ । युवालाई सुधारका सूचकका रूपमा बुझ्नुपर्ने उनको धारणा छ । 'अरूले फरक विचार राखे भन्दैमा उनीहरूलाई गाली गर्नुको सट्टा सम्मान गर्न सक्नुपर्छ', उनी भन्छन्, 'नागरिकको जीवन स्तर जस्ताको तस्तै छ । रोजगारी छैन, व्यवसाय गर्ने वातावरण छैन । यसलाई सुधार्न युवा अघि बढ्न जरुरी छ ।'
अबको पुस्ताले व्यावसायिक वातावरण बनाउन जरुरी रहेको उनी बताउँछन् । राजनीतिमा पैसा कमाउन नभएर जनताको सेवा गर्न आएको उनको भनाई छ । कृषि पेसाबाट उत्पादित सामान उपभोक्तासम्म नपुग्ने प्रवृत्ति रहेको र त्यसलाई अत्यन्त गर्न कृषकलाई उत्प्रेरित गर्न उचित बजार भाउ दिनुपर्ने उनी बताउँछन् ।
सरकार वा निजी क्षेत्रको लगानीमार्फत यसको समाधान गर्नुपर्ने अध्यक्ष तुम्रुकको धारणा छ । सम्भावनाको खोजी गर्दै पर्यटकको हितमा पनि लगानी गर्न जरुरी रहेको उनको भनाई छ । आन्तरिक पर्यटक र बाह्य पर्यटक भित्र्याएर विभिन्न रूपमा आर्थिक स्रोतको विकास गर्न सकिने उनी बताउँछन् ।
प्राकृतिक रूपमा र जनशक्तिको हिसाबले सम्पन्न हुँदाहुँदै पनि त्यसको सही सदुपयोग हुन नसक्दा समस्या आएको उनको बुझाई छ । उनी भन्छन्, 'पार्टीबाट आएका व्यक्तिले पार्टीको काम गर्दागर्दै जनता ओझेलमा पर्छन् ।'
यस्तो छ युवा वडा अध्यक्षको सपना र योजना
शिक्षा, स्वास्थ्य, कृषि र भौतिक संरचनामा आफ्नो समय लगानी गर्ने उनको सोच छ । खानेपानी र सामाजिक न्याय भन्ने कुरा प्राथमिकतामा पर्नै पर्ने उनी बताउँछन् । स्रोतसाधनको कमी भए पनि त्यसको सही सदुपयोग गर्न उनी तत्पर छन् ।
संघीय सरकारको नीति तथा कार्यक्रमले पनि स्थानीय सरकारको बजेट निर्धारण गर्छ । कृषिजन्य उत्पादनलाई उत्कृष्ट बजार भाउ दिलाउने, मल, सिँचाइ आदिको उचित व्यवस्था गर्ने विपनको योजना छ । उनी भन्छन्, 'म जनताको हितमा योजना र कार्यक्रम ल्याउने तयारीमा लागी परेको छु । विद्यालय नै बदल्ने भन्दा पनि सुधारका कार्यक्रम आवश्यक रहेको छ ।'
विद्यालयमा राहत र करारका शिक्षक भन्दा पनि आयोगबाट पास भएका शिक्षकलाई ल्याउन जोड दिनुपर्ने उनी बताउँछन् । 'राहत र करारका शिक्षक भनेको पनि राजनीतिक नियुक्ति हो । त्यसैले क्षमता मापन भएको हुँदैन', उनले भने ।
प्रशासकीय सुधार पनि आवश्यक रहेको उनको भनाई छ । तीन तहका सरकारको भूमिका आ-आफ्नो भए तापनि आर्थिक रूपमा स्पष्ट नहुँदा चालु खर्च धेरै भएर पुँजीगत खर्च कम हुँदै गएको उनले बताए । ठुला आयोजना ल्याएर समयमा काम नसकी म्याद थप गर्दै कमिसन खाने प्रवृत्ति हाबी छ । जसले जनताको अधिकार हनन गरेको विपन बताउँछन् ।
देशको शासन गर्ने ठाउँमा युवा पुगेपछि राजनीतिक स्थायित्व सम्भव उनको विश्वास छ । जनतालाई छिटो र भरपर्दा सेवा दिन जनप्रतिनिधि र कर्मचारी प्रविधिमैत्री समेत हुनुपर्ने उनी बताउँछन् । पछिल्लो समय वैदेशिक रोजगारमा पढेलेखेका युवाहरू जाने गरेको बताउँदै त्यसलाई रोक्नका लागि स्वदेशमा अवसरको सिर्जना गर्नतिर लाग्नुपर्ने उनको भनाई छ ।
किसानलाई उत्पादनमुखी बनाएर बजारको व्यवस्था गर्ने कुरामा तीन तहकै सरकार लागि पर्नुपर्ने उनको भनाइ छ । उनी आफ्ना वडावासीहरूलाई नयाँ प्रविधिमा समेत अभ्यस्त बनाउने योजनामा छन् । सामाजिक सेवालाई नागरिकको पहुँचमा लैजाने योजनामा छन् । ज्येष्ठ नागरिक, फरक क्षमता भएका र दीर्घ रोगीलाई नागरिकको वडाबाट स्वास्थ्य बीमा समेत निःशुल्क गर्ने उनको योजना छ ।
यो कार्यकाल पछि आफ्नो पार्टी र जनताको सल्लाह अनुसार राजनीतिक यात्रा तय गर्ने योजना रहेको उनी बताउँछन् ।