काठमाडौं । कक्षा ११ मा अध्ययन गर्न काठमाडौं महानगरपालिकाले लिएको छात्रवृत्ति परीक्षामा पहिलो सूचीमा नाम भएका विद्यार्थी पनि भर्ना हुनबाट वञ्चित भएका छन् । सफ्वेयरमा त्रुटि हुँदा भर्ना हुन योग्य विद्यार्थी पनि वञ्चित भएका हुन् ।विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्केपनि भर्ना हुन नपाउँदा मंगलबार काठमाडौं महानगर पालिकाको शिक्षा विभागमा विद्यार्थीको थेगिनसक्नु घुइँचो थियो ।
काठमाडौं महानगरले मबार पहिलो भर्ना सूची सार्वजनिक गरेको थियो । महानगरले त्यसलगत्तै ‘म्याचिङ’को नतिजा चित्त नबुझे निवेदन दिन आग्रहसमेत गरेको थियो । तर, सफ्टवेयरमा समस्या आएको सूचनामा खुलाइएको थिएन ।
विभागले निवेदन माग गरेपछि सोमबार र मंगलबार विभागमा भीड लागेको थियो । भर्ना हुन नसकेको बारेमा बुझन अभिभावक, विद्यालयका शिक्षक र विद्यार्थी स्वयं महानगरमा निवेदन दिन पुगेका थिए ।
महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले परीक्षाफल प्रकाशित गर्दा सामान्य समस्या भएको स्वीकारे । उने भने, कम्प्युटरमा सफ्वेयरले गडबडी गर्दा त्रुटि देखिएकोे हो । विशेष गरी संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको नाम सामुदायिक विद्यालयको सूचीमा परेको रहेछ ।
पहिलो सूचीमा चित्त नबुझेर निवेदन दिने विद्यार्थीको संख्या करिब ५ सयको हाराहारी भएको प्रमुख कोइरालाले बताए ।
विभागले जारी गरेको सूचनामा निवेदनउपर कारबाही सम्पन्न भएपछि ‘म्याचिङ’को पहिलो भर्नासूचीको अन्तिम नतिजा प्रकाशन गरिने जनाएको छ ।
सोमबार परीक्षाफल प्रकाशित गरेर पहिलो सूची सार्वजनिक भएपछि त्रुटि देखिएकोले पहिलो सूचनाको भर्ना भएपछि मात्र दोस्रो सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।
नाम निस्केका विद्यार्थीलाई त्रुटि सच्याएपछि मात्र भर्ना हुन जान आग्रह गरेको विभागले बुधबारबाट मात्र भर्ना हुनसक्ने जानकारी दिएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।