काठमाडौं । प्युठानमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुने सात जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका- १५ काेठारी बस्ने ३५ वर्षीया सरिता शर्मा पाेखरेल, उनका छोरा १४ वर्षीय विशाल र ९ वर्षीय विकाश पाेखरेल, लमही नगरपालिका- ७ गढवा बस्ने अन्दाजी ४० वर्षीय गाेविन्द शाह, गाेविन्दकी श्रीमती राधा नेपाली र उनका छोरा ९ वर्षीय आदित्य शाह रहेका छन् ।
यसैगरी, लमही बस्ने ४९ वर्षीय चालक तारा कुमाल रहेका छन् । थप एक जनाकाे सनाखत हुन नसकेकाे प्युठानका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिंग्रीमा लु १ च ६३४५ नम्बर को निजी गाडी सोमबार अपरान्ह दुर्घटनामा परेको थियो ।
दुर्घटनापश्चात् उनीहरूको जिल्ला अस्पताल, बिजुबारमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।
गाडी अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेकाे थियाे । घटनाकाे बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।




























