काठमाडौं । डिभिजन वन कार्यालय चितवनमा गत आर्थिक वर्षमा एक सय १४ थान मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता भएकामध्ये एक सय ११ थान काठ तस्करसम्बन्धी र तीन वटा वन्यजन्तुसम्बन्धी मुद्दा रहेका छन् ।
कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार वन्यजन्तुसम्बन्धी मुद्दा तीन वटा दर्ता भएकोमा दुई जना पक्राउ गरी कारबाही गरिएको छ । एक जना फरार रहेको उनले जानकारी दिए । चित्तल मारेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।
यस्तै कार्यालयले एक सय ११ काठ मुद्दामा एक सय २८ जनालाई पक्राउ गरी कारबाही गरेको छ । साठी जना फरार रहेको उनले बताए ।
डिभिजन वन कार्यालयको क्षेत्रभित्र चोरी गरी लगिएको तीन हजार चार सय १३ दशमलव ४९ क्युफिट काठ बरामद गरिएको छ । काठसँगै बोलेरो, ट्र्याक्टर, पिकअप भेन, अटो, मोटरसाइकल र साइकल गरी १५ वटा सवारी साधन बरामद गरिएको छ । उनीहरूलाई कार्यालयले मुद्दा प्रक्रिया अघि बढाएको छ ।
कार्यालयले गत आवमा पाँच हजार एक सय ८६ दशमलव २८ क्युफिट बेवारिसे काठ बरामद गरेको छ । जिल्लाका विभिन्न क्षेत्रबाट ती काठ बरामद गरिएको हो । खनालका अनुसार काठसँगै साइकल, हातेआरा र बञ्चरो ७५ थान बरामद गरिएको छ ।
कार्यालयले गत आवमा ५६ वटा वन्यजन्तुको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका वन्यजन्तुमा अजिङ्गर, गोही, चित्तल, सुनगोहोरो, रतुवा, सालक, मलसाँप्रो, दुम्सी रहेका छन् । सोही समयमा ३२ वटा मृत जनावारको व्यवस्थापन गरिएको छ । पाटेबाघ, जरायो, चित्तल, रतुवालगायतको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।