काठमाडौं । पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएको छ । एक हिसाबले मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण बन्दै गएको छ । विश्वमा मानसिक स्वास्थ्य समस्याले निम्त्याएका निकै भयावह घटनाहरू सुनिँदै आएका छन् ।
बालबालिका, किशोर किशोरी, युवायुवती तथा वृद्ध वृद्धामा पनि मानसिक स्वास्थ्यको समस्या देखिने गरेको छ । यसले गर्दा समाजमा एक किसिमको त्रास पैदा भएको छ । कतिपय युवाले आफूले गर्न चाहेको कुराहरू प्राप्त नहुँदा फ्रस्टेसनको लेबल पनि बढ्न थालेको छ । देशमा रोजगारको वातावरण तयार नहुँदा परिवर्तनको संवाहक युवा शक्ति विदेश पलायन हुनुपर्ने बाध्यता छ ।
लामो समयदेखि यसै क्षेत्रमा कार्यरत डा. विकाश लामिछाने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन् । डा. लामिछानेसँग मानसिक समस्या, यसको समाधानका उपाय लगायतका विषयमा केन्द्रित रहेर व्यवस्था डटकमका लागि ज्ञानु घिमिरेले गरेको कुराकानीको सम्पादित अंश:
दाङको शिक्षित परिवारमा जन्मे हुर्केका डा. लामिछाने स्वास्थ्य क्षेत्रमा पढ्ने मान्छे हतोत्साहित हुने अवस्था नभएको बताउँछन् । स्वास्थ्य क्षेत्रमा राम्रो सम्भावना रहेको र विदेशमा पनि नेपाली चिकित्सकहरूको माग अत्याधिक बढेको उनको भनाई छ ।
०३८ सालबाट सरकारी सेवामा प्रवेश गरेका उनले देशका विभिन्न जिल्लाहरूमा सेवा दिएका छन् । एसएलसीसम्म सरकारी विद्यालय पढेका डा. लामिछानेले ०४८ सालमा मेडिकल अफिसर भएर गोरखा, बागलुङ, पाल्पा, नुवाकोट, काभ्रे लगायतका क्षेत्रमा काम गरेका छन् । विभिन्न मन्त्रालय तथा विभागमा समेत काम गरिसकेका डा. लामिछानेले क्षेत्रीय निर्देशक, मेडिकल अफिसर लगायतको पद सम्हालिसकेका छन् ।
०६१ सालमा उपसचिव, ०६९ सालमा सहसचिव भएका उनी ०७७ सालमा सेवा निवृत्त भएका हुन् । हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व डा. लामिछानेले गरिरहेका छन् । प्रतिष्ठानमार्फत स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षण तथा अनुसन्धानको समेत काम हुने गरेको उनले बताए । उनी आफूलाई प्रतिष्ठानको नेतृत्व गर्न पाउँदा आफूलाई भाग्यमानी समेत ठान्छन् ।
पढ्न चाहेको विषय पढ्न दिनुस्
डाक्टर लामिछाने मानिसले आफू जुन क्षेत्रमा लाग्ने इच्छा राख्छ त्यही क्षेत्रमा अभिभावकले काम गर्ने उत्प्रेरणा दिनुपर्ने बताउँछन् । जीवनमा सबैभन्दा ठुलो कुरा करियर बनाउनु र आफूले तय गरेको करियरमा खुसी हुनु नै रहेको बताउँदै उनी व्यवसाय गर्ने इच्छा भए व्यवसाय गर्न, डाक्टर इन्जिनियर हुने इच्छा भए त्यहीअनुसार काम गर्न सुझाव दिन्छन् ।
आफ्नो प्रकृति, क्षमता र पारिवारिक पृष्ठभूमि अनुसार काम गर्नुपर्ने उनको सुझाव छ । हरेक कुरामा प्रतिस्पर्धात्मक जमाना भएकाले आफूलाई अब्बल देखाउने क्षेत्रमा लाग्न उनको सुझाव छ । असफलताबाटै सफलता मिल्ने र सबैभन्दा ठुलो कुरा लगनशीलता, धैर्यता र निरन्तरता भएको बताउँदै यसका लागि हरेक मान्छे तयार हुनुपर्ने उनको तर्क छ ।
कहिलेकाहीँ आफूले सोचेको कुरा पुरा नहुँदा मानिसहरूमा नराम्रो विचार आउन सक्छ । तर, डा. लामिछाने असफलता नै सफलताको जड भएको बताउँछन् । 'घोडा चढ्ने मान्छे पनि लड्छ र साइकल सिक्ने मान्छेले पनि नलडीकन साइकल सिक्न सक्दैन भन्ने सोच राख्नुपर्छ', उनी भन्छन्, 'असफलताबाट नै मान्छेले सिक्नुपर्छ । सबैभन्दा ठुलो कुरा लगनशीलता हो । अहिलेको युवा पैसाको पछि दौडिएको देखिन्छ तर पैसा चाहिँ आफ्नो पछाडि दौडिने बनाउनुपर्छ ।' पैसालाई कम महत्त्व दिएर कामको पछि लाग्नुपर्ने उनको भनाइ छ ।
किन बढ्दै छ नैराश्य ?
पछिल्लो समय देशमा रोजगारी नभएकाले युवामा नैराश्य भाव आएको छ । पढाई अनुसारको जागिर नपाएकाले युवामा नैराश्य उत्पन्न भएको देखिन्छ । तर पढेर मात्र सीप विकास नहुने भएकाले भोकेसनल एजुकेसनमा फोकस हुनुपर्ने डा. लामिछानेको तर्क छ । विदेशमा प्लस टु गरेपछि कामसँगै पढ्न पाउने अवसर छ तर नेपालमा त्यो वातावरण नभएकाले पनि समस्या आएको उनी बताउँछन् । उनी भन्छन्, 'जमाना सूचना प्रविधिको छ, एक ठाउँबाट अर्को ठाउँमा के भएको छ सजिलैसँग बुझ्न सकिन्छ ।'
सरकारले सुहाउँदो रोजगारी सिर्जना नगरे अबको १५ देखि २० वर्षमा नेपालमा कि केटाकेटी कि बुढाबुढी मात्र रहने अवस्था आउने उनको भनाई छ । युवाहरू देशमा बस्नुपर्छ भन्दा पनि देशमा बसेर के गर्ने भन्ने कुरा नै नरहेको उनको बुझाइ छ । उनी भन्छन्, 'धेरै मानिस रहरले भन्दा पनि बाध्यताले विदेश जाने गरेका छन् । यसलाई रोक्न सरकारी स्तरबाट पहल हुनुपर्छ । पढ्ने र काम गर्ने वातावरण तयार गर्नुपर्छ ।'
युवा मात्र होइन पछिल्लो समय आधा उमेर ढल्किसकेका मानिसहरू पनि विदेश जान पाए हुन्थ्यो भन्ने सोचमा छन् । यसबारे डा लामिछाने भन्छन्, 'यो कुरा तीतोसत्य हो । राज्यले सिरियस भएर सोच्ने बेला आएको छ । फ्रस्टेसनको लेबल बढेको छ । यसबारे समयमै सचेत भइहाल्नुपर्छ । राजनीतिज्ञहरूले नै यसको लागि दिशानिर्देश गर्नुपर्छ ।'
स्वास्थ्य पढ्न कस्तो खुबी आवश्यक पर्छ ?
स्वास्थ्य क्षेत्रमा अत्याधिक मात्रामा प्रतिस्पर्धा हुने गरेको यथावत् नै छ । डा. लामिछाने पनि यो कुरामा सहमत छन् । समाज र देशसँग प्रत्यक्ष जोडिने भएकाले यस क्षेत्रमा प्रवेश गरेर समाज र देशको सेवा गर्न सकिने उनको भनाइ छ ।
उनी आफू कार्यरत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि चिकित्सा शिक्षा आयोगले दरखास्त गरेर पठाएका विद्यार्थीहरूले पढ्न पाउने भएकाले अत्याधिक प्रतिस्पर्धा हुने गरेको प्रस्ट पार्छन् । प्रतिष्ठानमा इमान्दार र ट्यालेन्ट विद्यार्थीहरू मात्र रहेको उनी बताउँछन् । आफूलाई मन लाग्दैमा विना प्रतिस्पर्धा विद्यार्थी भर्ना हुन नपाउने हुनाले यो प्रक्रिया राम्रो पाटो भएको उनको दाबी छ । उनी भन्छन्, 'प्रतिस्पर्धामा आउनै पर्छ । नाम निकाल्नै पर्छ ।'
स्वास्थ्य, शिक्षा ज्यादै खर्चिलो क्षेत्र भनेर आम मान्छेको बुझाई छ । खर्चको तालमेल मिलाउन सक्ने मान्छे यो क्षेत्रमा आउनुपर्ने उनको भनाई छ । मेडिकल साइन्स पढ्न विद्यार्थीले सक्दो मेहनत गर्नुपर्छ । उनी कार्यरत संस्था राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीहरूको पनि चाप उस्तै हुने गर्छ । हाल न्युरो र कार्डियोबाहेक सबै सेवा उपलब्ध रहेको बताउँदै उनले पढाइको सन्दर्भमा ब्याचलर नर्सिङ र बिएसी नर्सिङ पढाइ भइरहेको बताए ।
बढ्दै डायबिटिज, प्रेसर र क्यान्सर समस्या
डा. लामिछानेका अनुसार हाल डायबिटिज, प्रेसर तथा क्यान्सरका बिरामीहरू अस्पतालमा बढिरहेका छन् । पछिल्लो समय युवामा पनि क्यान्सर देखिन थालेकाले सर्तकर्ता अपनाउन उनी सुझाउँछन् । वृद्ध वृद्धा मात्र नभएर युवा र केटाकेटीमा पनि क्यान्सरको जोखिम उस्तै रहेकाले परिवारले खानपानमा विशेष निगरानी गर्नुपर्ने उनको सुझाव छ ।
जीवनशैलीमा पनि परिवर्तन गर्न जरुरी रहेको बताउँदै डा. लामिछाने विषादी भएका खानाहरू अत्यधिक मात्रामा सेवन गर्नेको संख्या बढेकाले यसबाट जोगिन सबैलाई अपिल गर्छन् । दैनिक व्यायाम तथा कसरत नगर्ने हो भने क्यान्सरले बढवा पाउने उनको बुझाइ छ । ताजा खानालाई जोड दिएर जङ्क फुडहरू कम प्रयोग गर्न समेत उनी सल्लाह दिन्छन् ।
मुलुक जति विकाशतर्फ लम्किएको छ, त्यति नै बढी चाहना बढ्न थालेकाले पछिल्लो समय मानसिक रोगका बिरामीहरू पनि बढ्न थालेको उनले महसुस गरेका छन् । मान्छेको सोच, लक्ष्य तथा चाहाना पूरा नभएमा फ्रस्टेसनमा जाने र डिप्रेसन हुने भएकाले पछिल्लो समय मानसिक रोग संसारकै समस्याको रूपमा देखा परेको उनी बताउँछन् । यसका लागि व्यक्ति स्वयं सजग हुनुपर्ने उनको भनाई छ ।
डा.लामिछाने सबैलाई अध्यात्मतिर ध्यान दिन समेत आग्रह गर्छन् । मानसिक समस्याबाट बच्ने सबैभन्दा ठुलो औषधी आध्यात्मिक चिन्तन रहेको उनको भनाइ छ । उनी भन्छन्, 'सकारात्मक कुरामा ध्यान दिनुपर्छ । मेडिटेसन गर्नुपर्छ । यी कुराले यस्तो समस्याबाट बच्न सकिन्छ । आफूलाई समस्या भएको आभास भए तुरुन्तै डाक्टरको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।'
मान्छेले कुनै चाहाना राख्छ । त्यो प्राप्त नहुँदा मनमा कुरा खेलाएर बिस्तारै मान्छेलाई यो जिन्दगी केही होइन रहेछ भन्ने लाग्न थाल्छ । अत्यधिक महत्वकांक्षाले दिक्दार बनाउने र मान्छेलाई डिप्रेसन सुरु हुने उनको भनाइ छ । डा. लामिछानेका अनुसार अर्कालाई उपलब्ध भएको कुरा आफूलाई उपलब्ध नहुने अवस्था आएपनि डिप्रेसन हुने गर्छ । तनाव लिनुपर्ने बाध्यता भए आध्यात्मिक दिशामा लाग्ने र मेडिटेसन गर्ने उनी पुनः दोहोर्याउँछन् । घरायसी र पारिवारिक क्षेत्रका समस्याले गर्दा पनि डिप्रेसन हुने भएकाले त्यसलाई रोक्नका लागि अध्यात्म नै ठुलो औषधी रहेको उनको भनाई छ ।
आर्थिक समस्या तथा बेरोजगारी समस्याका कारण पनि यो समस्या उत्पन्न हुनाले व्यायाम खानपिनमा ध्यान दिएर यसलाई कम गर्न सकिने उनी उल्लेख गर्छन् । अहिले औषधी विज्ञानलाई पनि अध्यात्म ज्ञानसँग जोड्न लागिएकाले यो सकारात्मक कुरा रहेको डा लामिछानेको भनाइ छ ।
अहिले पश्चिमा मुलुकहरूमा पनि यो खालको अभ्यास भइरहेको भन्दै उनले घर आयो घरमा तनाव, अफिस गयो अफिसमा तनाव, तनाव नै तनाव झेलेको मान्छेलाई व्यायाम र मेडिटेसन नै ठुलो औषधी रहेको बताए । उनी आफूले मेहनत गरेर जे पाइन्छ त्यसमा खुसी हुन समेत सबैलाई आग्रह गर्छन् ।
युवालाई सक्षम बनाउन अनिवार्य रोजगारी
राज्यको जिम्मेवारी राज्यले नै पुरा गर्नुपर्ने आजको आवश्यकता हो । देशमा रोजगारी नभएका कारण युवा शक्ति विदेश पलायन हुनुपर्ने बाध्यता छ । युवालाई सक्षम बनाउन राज्यले लगानी गर्नुपर्ने उनको भनाइ छ । युवाले पनि आफ्नो क्षमता विकासका बारेमा सोच्ने र कुलतमा लाग्न नहुने उनको भनाई छ ।
पछिल्लो समय मदिराजन्य पदार्थ बजारमा सुलभ तरिकाले पाइने भएकाले त्यसको बेचबिखनमा पनि राज्यले कडाइ गर्नुपर्ने उनको भनाई छ ।
यसरी हुन्छ स्वास्थ्य क्षेत्रका समस्या समाधान
स्वास्थ्य क्षेत्रमा धेरै समस्या र जटिलताहरू रहेका छन् । उनका अनुसार पछिल्लो समय व्यवस्थापन क्षेत्रमा पनि समस्याहरू रहेका छन् । साथै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्नु आजको आवश्यकता रहेको छ ।
प्रदेश तथा केन्द्रमा रहेको स्वास्थ्य मन्त्रालयहरूबीच अन्तरक्रियामा कमी भएकाले समस्या निम्तिने गरेको उनको भनाइ छ ।
डा. लामिछानेका अनुसार राज्यले भनेको ठाउँमा आवश्यकता अनुरूपको डाक्टर पठाउन नसक्ने तथा डाक्टर पनि सम्बन्धित ठाउँमा बस्न नमान्ने परिपाटी रहेकाले पनि स्वास्थ्य क्षेत्रमा समस्या आउँछन् । उनी भन्छन्, 'आफूले भनेको र जानेको काम गर्न नपाउँदा पनि डाक्टरहरूमा पनि काम गर्न समस्या छ । पहिला भन्दा डाक्टर बढेका छन् । अस्पताल बढेका छन् । राज्यले पनि विभिन्न रोगको निःशुल्क औषधी दिने गरेको छ ।'
राज्यले ठुलो लगानी स्वास्थ्य क्षेत्रमा गरेको छ । तर सिस्टमसँग अभ्यस्त हुन नसक्दा जनताले उचित स्वास्थ्य सेवा पाउन सकेका छैनन् । 'केन्द्र, प्रदेश र पालिकाहरूको बजेट छुट्टाछुट्टै हुनाले समन्वय हुन सकेको छैन । राज्यले कहाँ के समस्या छ थाह पाउनुपर्छ । स्थानीय र प्रदेश भनेर छुट्टिनु भन्दा पनि जनताले कसरी बढी भन्दा बढी सेवा पाउँछन् भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ', उनी भन्छन्, 'स्वास्थ्य क्षेत्रको बजेट छुट्टाछुट्टै हुनाले पनि समस्या ल्याएको कुरा पटक पटक बाहिर आएका छन् ।'
यद्यपि स्वास्थ्य क्षेत्र पहिलेको भन्दा धेरै सुधार भएको डा. लामिछानेको भनाई छ । तर जति मात्रामा सुधार हुनुपर्ने हो त्यति हुन भने सकेको छैन ।
स्वास्थ्य क्षेत्रमा जनताले सेवा नपाएको भन्ने गुनासो आउने गरेकोले समस्या समाधान गर्न राज्यले सबै तहलाई समेट्न जरुरी रहेको उनको धारणा छ । लामो समय दुर्गम क्षेत्रमा काम गरेका उनले दुर्गम क्षेत्रमा सेवा व्यापक रूपमा विस्तार भएको र यसमा सहकार्यको आवश्यक रहेको बताए ।
किन दुर्गमन जाँदैनन् स्वास्थ्यका कर्मचारी ?
दुर्गममा अवसरहरूको कमी हुने भएकाले कर्मचारी जान नमान्ने उनको भनाइ छ । शक्तिको प्रयोग गरेर सुगममा बस्ने परिपाटी स्वास्थ्य क्षेत्रमा मात्र नभएर सबै ठाउँमा रहेकाले यसलाई रोक्नुपर्ने उनको भनाई छ ।
सरुवाको पनि श्रेणी हुने भएकाले सुगम मात्र नभएर दुर्गममा पनि सरुवा हुनुपर्ने उनले बताए ।
सरुवा गर्नुपर्ने कानुनको पालना व्यवहारिक रूपमा नभएको र कर्मचारीले नियमको पालना नगरेको कुरामा उनी सहमत छन् । लामिछाने भन्छन्, 'स्वास्थ्यको कर्मचारी हुन पाउँदा म खुसी छु । मेरा साथीहरू म जति पनि भएका छैनन् । उनीहरूलाई हेरेर म असाध्यै सफल मान्छे हो । म आफ्नो पेसालाई सम्मान गर्छु त्यसैले पनि म सफल हुँ जस्तो लाग्छ । म जे छु जति छु खुसी छु । काम गर्न सकुन्जेल गर्छु । जहिलेसम्म हात खुट्टा चल्छन् स्वास्थ्य क्षेत्रमै काम गर्न चाहन्छु । त्यो भन्दा बाहेक सरकारले अह्राएमा नीति निर्माणका क्षेत्रमा पनि सहयोग गर्ने योजना छ । मेरो त जिन्दगी नै स्वास्थ्य क्षेत्रसँग जोडिएको छ । मेरो पेसामा परिवारको निरन्तर साथ रहेको थियो र यहाँसम्मको यात्रा तय भयो ।'