काठमाडौं । जीवनको २५वर्ष निजामती सेवामा व्यतीत गरेका डोरेन्द्र निरौला देशमा आमूल परिवर्तन ल्याउन कर्मचारी मात्र नभएर सर्वसाधारण, मिडिया र अन्य क्षेत्रका व्यक्तिको पनि उत्तिकै योगदानको खाँचाे रहेको बताउँछन् ।
इलाम जिल्लाको जोगमाई गाउँपालिका ३ मा जन्मिएका निरौलाले निजामती सेवामा परिवर्तन भएको महसुस गरेका छन् । केही समयअघि देखिने गरेको निजामती सेवाको चाप अहिले हराइरहेको उनको ठम्याइ छ । प्रविधिको विकास भएको र निजामती क्षेत्रप्रति युवा पिँढीको आकर्षण घटिरहेको उनले महसुस गरेका छन् ।
इलामको पहाडमा उकाली–ओराली गर्दै हुर्केका डोरेन्द्रको बाल्यकाल सामान्य तरिकाले नै गुज्रियो । परिवार सम्पन्न भएता पनि उनले गाउँको विकटता नजिकबाट देखेका छन् । बुझेका छन् । त्यो समयमा गाउँमा सवारीसाधन विरलै देखिने कुराहरू अझै उनको सम्झनामा छ । यस्तै सम्झनाका पानाहरू पल्टाउँदै गर्दा आठ वर्षको उमेरमा पहिलो पटक गाडी चढेको उनी सुनाउँछन् ।
बुवा प्रधानाध्यापक भएको विद्यालयबाट अध्ययन सुरु गरेका उनी १५ मिनेटको पैदल यात्रा गरेर विद्यालय जाने–आउने गर्थे । बुवा प्रधानाध्यापक भएकाले नै उनलाई पढ्न सहज वातावरण समेत मिलेको थियो । कक्षा पाँचसम्म गाउँमै अध्ययन गरेपछि उनी थप अध्ययनका लागि इलाम बजार पुग्नुपर्यो । इलाम बजार पुगेर सिंह बाहिनी माविमा उनी कक्षा ६ मा भर्ना भए । र, सोही विद्यालयबाट ०४८ सालमा एसएलसी समेत उत्तीर्ण गरे ।
एसएलसीपश्चात् थप अध्ययनका लागि उनी महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए । त्यहाँबाट उनले स्नातकसम्मको शिक्षा हासिल गरे । मानविकी संकायमा स्नातक गरेका निरौलाले मुख्य विषयको रूपमा अर्थशास्त्र र अङ्ग्रेजी लिएका थिए ।
खरिदार बनेपछि खुल्दै गए ढोका
निरौलाको परिवारका कुनै सदस्य निजामती क्षेत्रमा थिएनन् । यद्यपी सानै उमेरदेखि जनतालाई प्रभावकारी सेवा प्रदान गर्नुपर्छ भन्ने सोच राख्ने उनले निजामती सेवामा जागिर खाने उद्देश्य लिएका थिए ।
डोरेन्द्र बाल्यकालदेखि नै अतिरिक्त ज्ञान, हाजिरि जवाफ जस्ता प्रतियोगिताहरूमा सहभागी हुन्थे र अब्बल ठहरिन्थे । तत्कालीन समयमा उनको मावलका इष्टमित्रहरू निजामती सेवामा जागिरे थिए । नजिकै इलाम बजारमा लोक सेवा आयोगको अञ्चल कार्यालय पनि थियो । सायद उनलाई बोलाइरहेको थियो । बाल्यकालमै जनताको सेवा गर्ने माध्यम निजामती क्षेत्र हो भन्ने उनलाई लागेको पनि थियो ।
उनी भन्छन्, 'सानो छँदै निजामती सेवामा प्रवेश गर्नुपर्छ भन्ने इच्छा शक्ति भएर पनि होला, म निजामती सेवामा प्रवेश गर्न सफल भएँ ।'
निरौलाले क्याम्पसमा अध्ययन गर्ने क्रममा मावलका दाइसँग बसेर खरिदारको तयारी गरेका हुन् । उनले ०५४ साल पुस २० गते खरिदारमा नाम निकाले र निजामती सेवामा प्रवेश गर्न सफल भए । मालपोत कार्यालय, धनकुटामा पहिलो नियुक्ति लिएका उनले त्यहीँबाट नायब सुब्बाको पनि परीक्षा दिए । खरिदारको पद दुई महिना सम्हाल्दा नसम्हाल्दै परीक्षाको नतिजा सार्वजनिक भयो । उनले नेपाल सरकारको लेखा समूहको लेखापाल पदमा नाम निकालेका थिए । र, त्यही वर्षको फागुन अन्तिममा कोष तथा लेखा नियन्त्रण कार्यालय, भोजपुरमा उनी नियुक्त भए ।
डोरेन्द्रको दरबन्दी पहाडी इलाकामा भएकाले उनले पढाइलाई निरन्तरता दिन भने सकेनन् । अङ्ग्रेजीमा स्नातकोत्तर गर्ने ठुलो धोको राखेका निरौला पढाइलाई विश्राम दिँदै जागिरतर्फ लागे ।
०५७ सालमा लेखापालको रूपमा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भए र साढे २ वर्ष काम गरे । त्यसैगरी ०६० सालमा हुलाक प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रूपमा उनको सरुवा भए । त्यहाँ उनले हुलाकका कर्मचारीहरूलाई तालीम प्रदान गर्ने कार्यहरू गर्थे ।
०६१ सालमा सामान्य प्रशासन समूहको शाखा अधिकृतको पदमा खुल्ला प्रतियोगिताबाट उनी पास भए । तीन महिना स्टाफ कलेजबाट तालीम प्राप्त गरेपछि जिल्ला निर्वाचन कार्यालय, संखुवासभामा शाखा अधिकृतको रूपमा पहिलो पोस्टिङ भएको उनी बताउँछन् । त्यसपछि उनले पढाइलाई पनि समय दिन पाए र, ०६२ सालमा काठमाडौंबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरे ।
०६३ सालमा भौतिक योजना मन्त्रालय अन्तर्गत खानेपानी विभागमा उनी सरुवा भए । तत्कालीन बागमती ढल सुधार आयोजनामा प्रशासन प्रमुखको रूपमा काम गरेको उनी बताउँछन् । ०६४ सालमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सुनौली नाकास्थित भैरहवा पर्यटन कार्यालयमा सरुवा भएका थिए । डेढ वर्ष सो कार्यालयमा कार्यसम्पादन गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा फर्किएको उनी बताउँछन् ।
०६९ सालमा महिला मन्त्रालयमा सरुवा भएका उनी ०७२ सालमा मन्त्रालयको योजना शाखामा कार्यरत रहँदा उपसचिवमा बढुवा भए ।
यसैगरी ०७५ सालमा गृह मन्त्रालयमा सरुवा भएको उनी बताउँछन् । गृह मन्त्रालयमा आएपछि उनको पहिलो पोस्टिङ धरान इलाका प्रशासन कार्यालयमा भयो । त्यहाँ १४ महिना काम गरेपछि ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारीको रूपमा उनी कार्यरत रहे । ताप्लेजुङको १३ महिने कार्यकालपछि उनी ०७८ सालमा चन्द्रनिगाहपुरको इलाका कार्यालयमा सरुवा भए ।
त्यहाँबाट कारागार कार्यालय, जगन्नाथमा ११ महिना, गृह मन्त्रालयमा ८ महिना गर्दै ०८० साल ज्येष्ठ महिनाबाट उनी जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत छन् ।
खरिदारको रूपमा जागिर गर्ने क्रममा उनले निजामती क्षेत्रमा लागेका धेरै मानिसहरूसँग भेट्ने मौका पाए । सोही समयमा निजामती सेवाको बारेमा धेरै जान्न पाएको उनी बताउँछन् । उनी भन्छन्, 'खरिदारमा भेटेका साथीभाइहरूले निजामती सेवाप्रतिको मेरो दृष्टिकोणलाई अझै फराकिलो बनाइदिए ।'
निजामती सेवामा सुधार आवश्यक
निजामती सेवा नेपाल सरकारको एक परम्परागत प्रशासन हो । अहिले यही परम्पराको वकालत गर्ने ठाउँमा उनी रहेका छन् । शान्ति सुरक्षा, नागरिकता वितरण, परिचयपत्रको वितरण जस्ता जनतालाई प्रदान गर्ने सेवाहरू एउटा सार्वजनिक प्रशासनको मूल कुरा रहेको उनले बताए ।
सरकारी सेवालाई प्रभावकारी बनाउनको लागि प्रविधिको आवश्यकता रहेको उनी बताउँछन् । उनका अनुसार सम्पूर्ण कार्य सम्पादन सफ्टवेयर आधारित बनाउनपर्छ । प्रविधिमा आधारित रहँदा तथ्यांक पनि एकीकृत हुने र चाहिएको बेलामा भेट्न सकिने हुन्छ । यस्ता कुराहरू जिल्ला प्रशासनमा लागु भए जनतालाई सेवा प्रवाह गर्नमा धेरै नै सहज हुने उनले जनाए । उनी भन्छन्, 'सरकारी कार्यमा प्रविधि आएको छ तर पूर्णरूपमा प्रविधिमैत्री भएको छैन । यो कुरामा ध्यान दियो भने जनताले पाउने सेवा र निजामती क्षेत्र धेरै विकास हुनेछ ।'
निजामती सेवामा लागेका केही कर्मचारीहरू पथ विचलित भएको उनको बुझाइ छ । कार्यालयको वातावरण, समाजका परिवेश–अवस्था, परिवारको प्रभाव, समाजको ढोँगी प्रवृत्ति जस्ता कुराले कर्मचारीलाई पथ विचलित बनाएको उनी बताउँछन् ।
निरौलाका अनुसार कर्मचारीको विकास वृत्तिलाई बढाउन, उनीहरूलाई निजामती सेवाप्रति अझ उत्तरदायी बनाउनको लागि संघीय निजामती ऐनको कार्यान्वयन हुन जरुरी छ । संघीय निजामती ऐनको कार्यान्वयन भए प्रदेश र स्थानीय तहमा पनि ऐनको लागु हुने हुँदा कर्मचारीहरूमा छाएको अन्योलता कम हुने उनको अनुमान छ ।
कर्मचारीहरूले वास्ता नगरेका कारण निजामती सेवा ऐन लागु नभएको जस्तो निरौलालाई लाग्छ ।
निजामतीमा भएको परिवर्तन र युवाहरूको हुटहुटी
निजामती सेवामा २५ वर्ष बिताएका उनले जागिर सुरु गर्दाको समयमा र अहिलेको समयमा धेरै भिन्नता आएको महसुस गर्छन् । अहिले निजामती सेवामा अभिनव (इनोभेटिभ) जनशक्ति भित्रिएका छन् । उनी भन्छन्, 'अहिलेको परिवेशमा निजामती सेवा धेरै प्रतिस्पर्धात्मक र पहिलेको तुलनामा अत्याधिक प्रविधिमैत्री भएको छ ।'
उनका अनुसार बाहिरबाट हेर्दा निजामती सेवा अत्यधिक आकर्षक भएको देखिएता पनि वास्तविकतामा युवाहरू विदेश पलायन भएको तथ्याङ्कले निजामती क्षेत्रमा धेरै सुधार ल्याउन जरुरी रहेको देखिन्छ । निजामतीप्रति आकर्षण घट्नुमा तलब, भत्ता तथा ऐन समयमा लागु नहुनु नै मुख्य रहेको निरौला दाबी गर्छन् ।
युवाहरू वैदेशिक अध्ययन तथा व्यवसायमा बढी रुचि देखाइरहेको अवस्था छ । अहिलेको पुस्ताका युवाहरूमा निजामती सेवाप्रति निकै कम हुटहुटी उनले देखेका छन् ।
नेपालको शिक्षा व्यवस्था पनि विद्यार्थीमैत्री नभएको उनको बुझाई छ । उनका अनुसार नेपालमा ३ वर्ष लाग्ने कोर्सलाई ४ वर्ष लाग्ने बनाइएको छ । समयमै परीक्षा तथा नतिजा सञ्चालन नहुने प्रवृत्ति छ । यस्तै कमजोर पक्षका कारणले पनि युवाहरू स्वदेशमा भन्दा विदेश पलायन हुने गरेको उनी बताउँछन् ।
देश विकासका लागि निजामती सेवाको मात्र योगदानले पर्याप्त नहुने र सञ्चारमाध्यमको पनि उत्तिकै भूमिका रहने उनले प्रस्ट पारे । उनी सरकारी सेवामा लागेका कर्मचारीहरूको गतिविधि, उनीहरूले प्रवाह गरेका सेवा, गर्न नसकेका काम, सुधार आदिलाई निष्पक्ष रूपमा सार्वजनिक गरेर जनतासम्म पुर्याउन आवश्यक ठान्छन् । यसमा सञ्चारमाध्यमले सहयोग गर्नुपर्ने उनी बताउँछन् ।
यसरी सरकारी कर्मचारीहरूको गतिविधि अपडेट गराउँदा जनताको चेतना पनि बढ्ने र कर्मचारीहरूले पनि जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने तथा सकारात्मक नतिजा आउनेमा उनी विश्वस्त छन् ।