काठमाडौं । कपिलबस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष तिलकराम कंडेलसमेत ३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पाइएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले वडाध्यक्षले गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई आफै हिनामिना गरेको उजुरीको अनुसन्धान गर्दा उनले छ लाख दश हजार हिनामिना गरेको देखिएको जनाएको छ ।
कंडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ दफा १७ ले निर्देश गरे वमोजिम उनलाई विगो छ लाख दश हजार कायम गरी सोही ऐनको दफा ३(१) (ङ) वमोजिम कैद सजाय गरी ऐ ऐनको दफा ३(१) बमोजिम जरिवाना गर्न आयोगले माग गरेको छ ।
साविक पत्थरदेइया गाउँ विकास समितिको कार्यालयबाट शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गा.वि.स सचिव कृष्ण कुमार चौधरी र ठेकेदार सेराज महम्मद विच सम्झौता भएकोमा ठेक्का सम्झौता बमोजिमको रकम दाखिला नभएको र हालसम्म पनि दुई लाख सत्तरी हजार रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा हुन बाँकी रहेको पाइएकाले ठेक्का सम्झौतामा सहीछाप गर्ने सचिव चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पाइएको आयोगले जनाएको छ । उनलाई ऐ दफा १७ ले निर्देश गरे वमोजिम विगो दुई लाख सत्तरी हजार कायम गरी ऐ ऐनको ३(१) (घ) वमोजिम कैद सजाय गरी ऐ ऐनको दफा ३(१) अनुसार बिगो बमोजिम जरिवाना गरी ऐ ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगोसमेत असुल गर्न आयोगले माग गरेको छ ।
साथै, ठेकेदार सेराज महम्मदबाट हालसम्म पनि तालको ठेक्का सम्झौता अनुसार बुझाउन बाँकी रकम दाखिला नगरी ठेक्का सम्झौता अनुसारको शर्त पालना नगरी र नेपाल सरकारलाई गैरकानूनी हानि पुर्याउने बदनियतपूर्वक कार्य गरेको देखिएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो दुई लाख सत्तरी हजार कायम गरी उनलाई ऐ ऐनको दफा ८ (४) बमोजिम कसुरको मात्राअनुसार कैद वा बिगो बमोजिम जरिवाना गरी बिगोसमेत जफतको सजाय हुन मागदावी लिई मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।