काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले सरकारले बेथितीको अन्त्य गर्ने कार्यको सुरुआत गरेको बताएकी छिन ।
गुरुङ प्रशारण दिवसको अवसरमा आयोजित सम्मान तथा गुरुङ न्युज डटकमको शुभारम्भ गर्दै मन्त्री गुरुङले सरकारले सुशासनका निम्ती राम्रो कामको सुरुआत गरेको बताइन।
एउटा विषय टुंगो नलाग्दै अरू विषय आउदा के गर्न खोजेको हो भन्ने लाग्न सक्छ मन्त्री गुरुङले भनिन्, तर व्यक्तिलाई नहेरेर बेथितीहरूको अन्त्य गर्नुपर्छ भनेर सरकार लागेको छ । मन्त्री गुरुङले राज्यमा बस्ने नागरिकहरू नागरिकताबिहिन हुनुहुदैन भनेर राज्य लागेको स्पष्ट पारिन् ।
राज्यले बोल्न नसक्नेहरूको आवाज बोल्दिनुपर्ने अन्यायमा परेका पक्षमा बोल्नुपर्ने भन्दै उनले न्याय दिनुपर्ने मुख्य जिम्मेवारी राज्यको भएको बताइन् । तर पनि राज्यले जति गर्नुपर्ने हो त्यति गर्न नसकेको भन्दै उनले राज्यले प्रयास गरिरहेको दाबी गरिन् ।
मन्त्रीको जिम्मेवारीमा रहँदा सबै कुरा चाहेर पनि गर्न नसकिने प्राविधिक कुराहरू रहने भन्दै उनले नजिक नै आइ नपुग्ने कुराहरूलाई सुक्ष्म रुपमा प्राथमिकतामा राखेर काम गर्ने कोशीस गरेको बताइन् । आदिवासी जनजातिहरूको सांस्कृतिक सम्पदाहरूलाई जगेर्ना गर्दै पहिचानको मूल आधार भनेको घरभित्रैको एजेण्डा हो भन्ने कुरालाई दृष्टीगत गर्दै उनले ती कुरालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने ठानेर धेरै आदिवासी जनजातिहरूको आवास निर्माण कार्यलाई प्राथमिकता दिइएको समेत बताइन् ।
उनले भनिन, सामाजिक महत्वका भवनहरू निर्माण गर्नका निम्ती बजेट बिनियोजन गरेको छु । नयाँ शहरहरूलाई पनि प्राथमिकता दिइएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतका मौलिक शहरहरूलाई पनि प्राथमिकता दिइएको छ । विविधलाई समेट्ने खालको क्षेत्रमा प्राथमिता दिइएको छ ।
अहिलेसम्म आइपुग्दा आदिवासी जनजाति भित्रैको विविध जाति, समुदायबीचको एकतालाई अक्षुण राख्न नसक्दा आदिवासीको यथार्थलाई सामुहिक रुपमा राज्यसामु पुर्याउन नसकेको भन्दै उनले राज्यले नबुझ्दाखेरि आदिवासीले अहिले पनि हामीलाई हाम्रो पहिचान चाहिन्छ भनिरहनुपरेको बताइन् ।
पहिचानभित्र भाषा, संस्कार, संस्कृती, भेषभूषा, परम्परागत रुपमा हामीले मान्दै आएको चाडपर्व, कानूनका कुरा पनि हाम्रो पहिचान हो है भनिरहेका छौ । त्यो हिसाबको खबरदारी जारी रहोस् । हामीले हाम्रो यात्राको यात्रा निर्धारण गरिदैन । गरिहाले पनि बीचैमा थाक्छौ ।
यी कुराको संरक्षण पनि गर्न जरुरी छु, मन्त्री गुरुङले भनिन, हाम्रा समग्र समस्या, अधिकारका कुराहरू, राज्यले लिने नीतिका कुराहरूमा आज भएन भनेर थाक्ने होइन । निरन्तर खबरदारी आवश्यक हुन्छ । तपाईंहरू कोहीपनि नथाक्नुस् । निराश नहुनुस् । हामीले भोलिको भविष्य सुन्दर नै देख्नुपर्छ । सपना नै सुन्दर देखेनौं भने सफल भइदैन । आज पुरा भएन भनेर निराश नभएमा पक्कैपनि गन्तव्यमा पुगिन्छ ।