वीरगञ्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् ।
प्रेस चौतारी पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको बताए ।
“हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ”, उनले भने, “उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, प्रतिपक्षको समान्य कुरासमेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सृजना भएको छ ।”
आफूहरुले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने उनको भनाइ थियो । राज्यका सुरक्षा निकायप्रति आफूहरुको कुनै आशङ्का नरहेको उल्लेख गर्दै महासचिव पोखरेल सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरु मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट पारे ।
दोषी नछुटोस् र निर्दोष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउँदै ठूलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ, निष्पक्ष छानबिन गर्न दिनुपर्नेमा उनले जोड दिए ।
संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको स्पष्ट पार्दै महासचिव पोखरेलले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाए ।
मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता औँल्याउँदै उनले बलियो राजनीतिक शक्ति निर्माणका लागि नेकपा एमाले ‘मिसन २०८४’ अभियान सञ्चालन गरी बलियो राजनीतिक शक्ति निर्माणमा अघि बढेको बताए ।