काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निक्र्योल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए ।
“महिलाको सहभागिता तथ्याङ्कमा मात्र सीमित गर्नुहुदैन । कूल जनसङ्ख्यामा आधाभन्दा बढी रहेका महिलाको निर्वाचन प्रक्रियामा सहभागिता कम छ ।
नागरिकता प्राप्ति, मतदाता पत्र, मतदान सङ्ख्या, क्षमता विकासलगायतका विषयले महिलाको अर्थपूर्ण सहभागितालाई प्रभाव पार्दछ,” उनले भने । उनले निर्वाचनमा महिलाको सहभागितालाई पुस्तकले थप विश्लेषण गरेको बताउँदै निर्वाचनसम्बन्धी आधिकारिक तथ्य आयोगसँग लिन आग्रहसमेत गरे ।
निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्न पहल गरिरहेको र थप मजबुत बनाउन महिला आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्न निर्वाचन आयोग तयार रहेको उनले बताए ।
समारोहमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालमा महिलाको अवस्थालाई एकीकृत ढङ्गले पुस्तकमा प्रस्तुत गरिएको बताइन । विशेषगरी अघिल्लो वर्ष सम्पन्न तीनै तहको निर्वाचनमा भएको महिला सहभागिता र प्रतिनिधित्वलाई पुस्तकमा विशेष जोड दिएको उनको भनाइ छ ।
पुस्तकबाट महिलाको क्षेत्रमा अध्ययन गर्न, योजना तर्जुमा गर्न, परियोजना निर्माण गर्न र पैरवी गर्नसमेत पुस्तक उपयोगी हुने उनको भनाइ छ । दोस्रो अङ्क प्रकाशन भएको सो पुस्तकमा नेपालको संविधान र कानूनद्वारा सुनिश्चित महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, पेसागत हक अधिकारको प्रयोग, महिलाभित्र विशेष समुदायका सवाल, लैङ्गिक हिंसापीडितका लागि राज्यबाट भएका विशेष व्यवस्था, प्रविधिमा महिलाको पहुँचको सवाल, महिलाउपर हुने सबै किसिमका भेदभावविरुद्ध महासन्धि कार्यान्वयनको अवस्था र चुनौती, बालिका, किशोरी र महिलालाई असर पारिरहेका अन्य सवाल र लैङ्गिक उत्तरदायी बजेटजस्ता विषयमा विश्लेषणात्मक सामग्री समावेश गरिएको छ ।
नेपालमा महिलाको वर्तमान अवस्थालाई उजागर गर्ने उद्देश्यले आयोगले गत वर्षदेखि “नेपालमा महिलाको अवस्था” नामक पुस्तक प्रकाशन गरेको हो ।