काभ्रेपलान्चोक । सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्ष दुवै सहमत नहुँदा संसद् खुल्न नसकेको बताएका छन् ।
संघीय संसद् सचिवालयले युएनडिपीको संसद् सहयोग परियोजना सहयोगमा आयोजना गरेको संसद्-सञ्चार सम्बन्ध कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले त्यस्तो बताए ।
संसद्लाई लामो समयदेखि बन्द गरेर राख्न नमिल्ने भन्दै सभामुख घिमिरेले आफूले के गर्दा समाधान निस्कन्छ त्यो कुराका लागि तयार रहेको समेत बताए । उनले भने, 'म कहाँ जाँदा समाधान निस्कन्छ म अहिले नै कुद्न तयार छु । सभामुखले के गर्दा संसद् खुल्छ म त्यो गर्न तयार छु ।'
सभामुख घिमिरेले संसद् खुलाउने सन्दर्भमा नेताहरू, दलहरू गम्भीर बन्न जरुरी रहेको समेत बताए । 'सभामुखको कुन चैँ प्रयत्नको अभावले संसद् खोल्न रोकेको छ ? सभामुखको भूमिकाले मात्र संसद् खोल्न सक्ने अवस्था छैन । हामी सबै जिम्मेवार बनौँ', उनले भने ।
संसद् सञ्चालन गर्नका निम्ति पटक-पटक प्रयत्नहरू गरेको भन्दै सभामुख घिमिरेले यस विषयमा सबै जिम्मेवार हुनुपर्ने बताए ।
उनले भने, 'यस विषयमा प्रधानमन्त्री, विपक्षी दल तथा सत्तारुढ दलका नेताहरूसँग पटक पटक छलफल गरेको छु । अवैध सुन पक्राउको घटनापछि संसद् अवरुद्ध हुँदै आएको छ । तर संसद् खुलाउन सबै जिम्मेवार हुनुपर्छ ।'
सभामुख घिमिरेले दलहरू जिम्मेवार हुनुपर्ने समेत बताए ।
यसैगरी उपसभामुख इन्दिरा रानामगरले संसदीय रिपोर्टिङमा सबैलाई सहजता हुने गरी वातावरण सिर्जना गरिनुपर्ने बताउँदै सबैको विचारको प्रतिनिधित्व हुनुपर्ने बताइन् । उनले भनिन्, 'एउटै व्यक्तिका विचार बढी आइरहेको हुन्छ । तर फरक-फरक व्यक्तिहरूलाई प्राथमिकता दिन आवश्यक छ ।'
संसद् सबैका लागि खुला हुने भन्ने कुरामा आफू सचेत रहेको बताउँदै उनले यो कुरामा सचिवालयले पनि सहजीकरण गर्नुपर्ने बताइन् ।
कार्यक्रममा संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संसद् रिपोर्टिङ राम्रो र सबैका लागि उपयुक्त बनाउन लाग्नुपर्ने भन्दै यस विषयमा सचिवालय सचेत नै रहेको बताए ।
यसैगरी संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले संसदीय सचिवालय र सञ्चार सम्बन्धबारे प्रस्तुति दिँदै संसदीय रिपोर्टिङमा कोड अफ इथिक्स बनाउनु आवश्यक रहेको बताए । संसद्को रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा प्रशिक्षणको आवश्यकता रहेको औँल्याउँदै उनले मिडिया सेन्टरमा अलि बढी सुविधायोग्य बनाउनुपर्छ की भन्ने लागेको बताए ।
कार्यक्रममा संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले संसदीय पत्रकारिता अभ्यासबारे प्रस्तुति दिँदै मिडियाले नीति निर्माण गर्ने तहमा के भइरहेको छ भन्ने कुरा बढी भन्दा बढी जानकारी दिनका निम्ति नै रिपोर्टिङ गर्ने गरेको बताए ।
जनताको पक्षमा परिपक्व निर्णय आउला भनेर तत्काल रिपोर्टिङ आवश्यक रहेको भन्दै उनले संसद्भित्र पत्रकारलाई रिपोर्टिङ गर्न धेरै कुराहरू व्यवस्थित गर्न आवश्यक रहेको बताए । लबी रिपोर्टिङ नयाँ बिल्डिङबाट अनिवार्य हुनुपर्ने भन्दै उनले अहिलेकै बिल्डिङबाट नै व्यवस्थित गर्न सकिने बताए ।
फोटो पत्रकारहरूका निम्ति फोटो खिच्न साह्रै अप्ठ्यारो अवस्था रहेको भन्दै उनले दुवै तर्फबाट फोटो खिच्न पाउने व्यवस्था गर्नुपर्ने बताए । समितिका बैठकहरू रेकर्ड गर्ने सिस्टमको विकास गर्न आवश्यक रहेको भन्दै उनले सरकारी डकुमेन्टहरू समयमा उपलब्ध गराउन आवश्यक रहेको बताए ।
संसद् र संसद् सचिवालय जति प्रभावकारी भयो त्यति नै संसद् प्रभावकारी हुने उनले बताए ।