काठमाडौं । आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ । कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता–२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई हस्तान्तण गरेको हो ।
आचारसंहिता कोसिसका परियोजना संयोजक सुदीप घिमिरेले महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
सरोकारवालाबीच विभिन्न चरणमा छलफलपछि आचारसंहिता तयार गरिएको कोसिसका परियोजना संयोजक घिमिरेले बताए । आचारसंहिता तयार गर्न कोसिससँग वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले कानुनी सहजीकरण गरे ।
सन् २०२१ मा कास्कीमा आत्महत्या दर बढी देखिएपछि कोसिसले कास्कीलाई कार्यक्षेत्र बनाएर काम गरेको घिमिरेले बताए।
सञ्चार माध्यममा प्रकाशन÷प्रसारण हुने समाचार कारण आत्महत्या गर्नेलाई प्रशय पाएको भेटिएपछि पत्रकार आचारसंहिता आवश्यक ठानी यसको निर्माण प्रक्रिया सुरु गरिएको उनी बताउँछन् ।
आत्महत्याका समाचार सनसनीपूर्ण नबनाउने, सूचनालाई प्रमुख स्थान नदिने र बारम्बार नहो¥याउने, सूचनाको विस्तृत विवरण नदिने वा नखुलाउने, फोटो, भिडियोको प्रकाशन र प्रसारणमा ध्यान दिने, विशेष व्यक्तिवा सेलीब्रेटीको आत्महत्या रिपोर्टिङमा विशेष ध्यानदिने, गोपनीयता हकको सम्मान र विश्वसनीय जानकारी एवं स्रोत नखुलाउने जस्ता विषय आचारसंहितामा समेटिएको बताउँदै उनले यसको कार्यान्वयनले आत्महत्या दर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष भण्डारीले आचारसंहिता पुनः एकपटक पढेपछि कार्यान्वयनमा लैजाने बताउँदै कास्कीसँगै केन्द्रलाई पनि पालनाका लागि आग्रह गर्ने बताइन् ।