काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदीय प्रक्रियामा अवरुद्ध गर्नु संसदीय अभ्यास विपरीत भएको बताएका छन् ।
काभ्रेको धुलिखेलमा संघीय संसद् सचिवालयले शनिबार गरेको संसद्-सञ्चार सम्बन्ध कार्यक्रममा बोल्दै संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख समेत रहेका नेम्वाङले नियमसंगत नभए पनि राजनीतिक दलहरूले कहिलेकाहीँ संसद् अवरोध गर्ने बताए ।
नेता नेम्वाङले भने, ‘संसदमा अवरोध गर्नु नियमसंगत होइन तर दलहरूले संसदमा राजनीतिक रूपमा अवरोध गर्ने गर्छन् । जसले अवरोध गरे पनि उनीहरूले त्यसको औचित्य पुष्टि गर्न भने सक्नुपर्छ ।’ कुनै पनि देशको संसदीय प्रक्रियामा संसद् अवरोध गर्न पाउने व्यवस्था नभएको बताउँदै उनले बहुमत नभएको दलले सरकारले आफ्नो कुरा नसुनेपछि राजनीतिक रूपमा संसद् अवरोध गर्ने गरेको उल्लेख गरे ।
अहिले आफ्नो दलले संसद् अवरोध गरेको भए त्यसबारेमा दलको तर्फबाट 'जस्टिफाई' गर्न सक्नुपर्ने नेम्वाङको भनाई छ । नेम्वाङले ‘संसद् अवरोध गर्न संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो ।'
मुलुकमा पछिल्लो समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतैक्यता हुन नसकेपछि सङ्घीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएको छ ।
त्यस अवसरमा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधप्रति आफ्नो सकारात्मक भाव नरहेको टिप्पणी गरे । ‘सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध नगरौँ, संवाद गरौँ, संवादको विकल्प संवाद मात्रै हो । अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने लाग्छ,’ उनले भने ।
संसद्को हालसम्मको काम कारबाहीको मूल्याङ्कन गर्दै थप प्रभावकारी तुल्याउन नागरिक समाजसहित व्यक्ति रहेको उच्चस्तरीय स्वतन्त्र संयन्त्र बनाउनुपर्ने आवश्यकतामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जोड दिए ।
संसद्ले दिने सूचना पूर्ण, चुस्त र आधिकारित हुनपर्ने आवश्यकता औँल्याउँदै उनले लोकतन्त्रको ज्यानका रुपमा रहेको संसद् र प्रजातन्त्रका पक्षमा सञ्चार जगत्लाई सधैँभर खबरदारी गर्न सुझाव दिए ।
उपसभामुख इन्दिरा रानाले पत्रकारिता संसद् र आमनेपाली जनताको ऐनाका रुपमा रहेको धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘मुलुकको सञ्चार जगतले राष्ट्र र जनताको हितका पक्षमा सधैँ चनाखो भएर कलम चलाउन आवश्यक छ ।’
काठमाडौं उपत्यकाबाट प्रकाशन एवं प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा रही संघीय संसद्लाई मुख्य बिट बनाएर समाचार संकलन गर्दै आएका करिब ५० पत्रकार दुईदिने अन्तक्रियामा सहभागी थिए ।