बाजुरा जिल्लामा अवस्थित बुढीनन्दा नगरपालिकाको प्रमुख हुन् जनककुमार बोहरा । २०७४ सालको निर्वाचनमा झिनो मतले पराजित भएका बोहरा २०७९ को निर्वाचनमा मत बढाउँदै १८४५ बढी मतले दोस्रो प्रयासमा निर्वाचन जित्न सफल रहे । नेकपा एमालेको राजनीति गर्ने बोहरा विद्यार्थी राजनीतिबाट उदाएका हुन् । तत्कालीन पश्चिमाञ्चलको चर्चित पिएन क्याम्पस पोखराबाट विद्यार्थी राजनीति सुरु गरेका उनले कम्युनिस्ट पार्टीको कार्यकर्ता भएकाले समाजलाई सन्देश दिने उद्देश्यले पूर्व पाँचथरको लिम्बूसँग अन्तरजातीय विवाह समेत गरेका छन् ।
नगर प्रमुख भइसकेपछि सामुदायिक विद्यालयको सुधार अभियान सुरुआत गरेका बोहराले आफ्नै दुई छोरालाई सामुदायिक विद्यालयमा पढाइरहेका छन् । पछिल्लो समय स्थानीय तहलाई भ्रष्टाचारको अखडाको रुपमा बुझ्न थालिएपछि त्यसलाई अन्त्य गरी आफ्नो पालिकालाई भ्रष्टाचार मुक्त पालिका बनाउने अभियानमा समेत उनी जुटेका छन् । उनै नगर प्रमुख बोहरासँग व्यवस्था डटकमका लागि देविका घर्ती मगरले गरेको कुराकानीको सारसंक्षेप ।
बुढीनन्दा नगरपालिका काठमाडौंको नजरले हेर्दा सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको नगरपालिका हो । यो नगरपालिकालाई तपाईं कसरी चिनाउनुहुन्छ ?
बाजुरा भनेको अवसर नपाएको, राज्यले नदेखेको जिल्ला हो । मृगले आफ्नै वीणा थाहा नपाएजस्तै हो । बाजुरा प्राकृतिक स्रोतसाधनले सम्पन्न छ । यो धार्मिक गन्तव्य हो ।
बुढीनन्दा नगरपालिका एक प्राकृतिक स्रोतसाधन, जडीबुटीले सम्पन्न र धार्मिक गन्तव्य भएको ठाउँ हो । राज्यले यो ठाउँलाई जति अन्देखा गरेता पनि यो ठाउँको आफ्नै विशेषताहरू छन् । बुढीनन्दा जहाँ सतीदेवीको पाउ खसेको छ । जसलाई पादुका भनेर चिनिन्छ । अर्को सतीदेवीको बुढी औला खसेको ठाउँ हो बुढीनन्दा । बुढीनन्दाकै नामबाट नगरपालिकाको नामकरण भएको छ । यहाँ ५ हजार ४२ भन्दा माथिको उचाइमा तालहरू रहेका छन् । जसको भ्रमण गर्न करिब एक घण्टा जति समय लाग्दछ ।
जडीबुटीदेखि प्राकृतिक स्रोतसाधनले सम्पन्न छ । रमणीय ठाउँ छ । बडी मालिकाको दिदी हुन् बुढीनन्दा । बडी मालिकाको त्यत्रो चर्चा छ । बुढीनन्दा प्रशस्त सम्भावना बोकेको पालिका हो । धार्मिक रुपमा पाण्डवहरू बसेको ठाउँ पाण्डुसेन । भीमसेनले बाण हानेर पानी निकालेको ठाउँ भिमपानी । जहाँ जनजातिको बस्ती छ । हाम्रो पालिकामा बाजुरा जिल्लाको एअरपोर्ट छ । पालिकामा आँप खान पाइन्छ । आधा घण्टा हिँडेर आँप, स्याउ खान पाइन्छ । त्यस्तो विविधता भएको ठाउँ । एकदमै समथर ठाउँ पनि छ । डाँडाकाँडा पनि छ । आलु, फलफूलहरू फल्छ । धान पनि प्रशस्त फल्छ ।
बाजुरा जिल्लाभित्र धेरै समुदायहरूले बसोबास गर्दै आएका छन् । तर यहाँ हलिया खलियाहरूको समस्या छ । पुर्खौँबाट बाजे पुस्तादेखि नाति पुस्तासम्म अर्काको घरमा हलो जोतेर बाँचिरहेको हलिया समुदाय त्यहाँ छन् । खलियाहरू पनि छन् जसले अरूको घरमा कपडा सिलाएर, बाजा बजाएर जीविका चलाएर बस्दै छन् ।
जनजातिहरू पनि बसोबास गर्दै आएका छन् । उनीहरूको पहिले त घरमा बस्ने नै परम्परा होइन । हिउँदमा तराईतिर भारत, अछाम, डोटीतिर भेडा बाख्रा, बच्चा बच्ची सबै लिएर जाने । वर्षामा उत्तर चाइनातिर जाने । उनीहरू हुम्ला हुँदै चाइनातर्फ जाने गर्थे । बसाइ सर्ने क्रममा बाटोमा उनीहरूको बच्चा जन्मिने तथा हुक्रिने अवस्था थियो । त्यस्तो समुदायको सबैभन्दा बढी बसोबास भएको नगरपालिका बुढीनन्दा हो । यो नगरपालिकाको वडा नं. ६ मा मुस्लिम समुदायका मानिसहरू पनि बसोबास गर्छन् । सोही वडामा मस्जिद पनि निर्माण भएको छ ।
बाजुरामा तलिगोठी कैलाश नामको शक्तिपिठ मन्दिर छ । बाजुरा जिल्ला अदालतमा पनि त्यति मुद्दा छैनन् होला तर त्यो तलिकोठीमा त्यति धेरै मुद्दाहरू लिएर मान्छेहरू भारत लगायत विभिन्न ठाउँबाट देउता पुज्न र आफ्नो समस्या समाधान होस् भनेर आउने गर्दछन् । मानिसहरू त्यहाँ तारेख लिनको लागि आउने गर्छन् ।
बुढीनन्दा नगरपालिकालाई मैले चिनाउँदा राज्यले नचिनेको तर प्रशस्त सम्भावना बोकेको प्राकृतिक सम्भावना भएको पालिका हो भन्छु । शिक्षाको कुरा गर्नुपर्दा यहाँ एक पुरानो जन प्रकाश मावि छ । यहाँ पढ्नका लागि जुम्ला, मुगु, कालिकोटबाट विद्यार्थीहरू आउँछन् । साथै प्राथमिक स्वास्थ्य केन्द्रको पनि स्थापना गरिएको छ ।
नगरप्रमुखको रुपमा निर्वाचित भएको एक वर्ष पुरा हुँदै छ । यो अवधिमा कस्तो अनुभव गर्नुभयो ?
राज्यले नहेरेको, पर्याप्त स्रोत साधनको उपलब्धता पनि नगराएको ठाउँमा मेयरको रूपमा उपस्थित भएर बुढीनन्दा नगरपालिकाको विकासको लागि उभिइरहँदा एक चुनौती र अवसरको रुपमा लिएको छु ।
यसपश्चात् स्रोत साधनको अभावले नगरपालिकाका बासिन्दाहरूले खाद्य सामग्रीहरूमा अझै पनि पहुँच पाउन सकेका छैनन् । बाटो घाटोको कुरामा पनि यहाँ अत्याधिक समस्याहरू छन् । अरू समयमा बाटोमा सवारी साधनको चहलपहल हुन्थ्यो । अहिले खोला भएको कारणले बाटोको पनि बिचल्ली भएको छ । खोला तर्नका लागि बेलिब्रिज तथा पुलको व्यवस्थापन गर्नैपर्ने अवस्था छ । तर बेलिब्रिजका लागि राज्यले बजेट छुट्याएको छैन ।
नेपालको सबैभन्दा दुर्गम तथा गरिबहरू बढी बसोबास गर्ने जिल्ला बाजुराभित्र बुढीनन्दा नगरपालिका पर्दछ । यहाँका जनतालाई आधारभूत कुराहरू पनि सीमित स्रोत साधनको कारणले गर्दा उपलब्ध गराउन सकिएको छैन ।
मेरो एक वर्षको कार्यकाललाई समीक्षा गर्नुपर्दा स्वास्थ्य सेवामा जनताहरूले बच्चाको डेलिभरीका लागि हवाईजहाज चढेर नेपालगन्ज जानुपर्ने समस्याको समाधान गरेको छु । यहाँ एउटा बच्चा जन्माउँदा (बच्चा डेलिभरी गर्न) २ देखि अढाई लाखको खर्च हुने अवस्था छ । समयमा अस्पतालसम्म पुर्याउन नसक्दा कहिलेकाहीँ आमाको मृत्यु पनि हुने अवस्था थियो । गरिब जनतालाई ऋण थपिने समस्या पनि उत्तिकै देखिएको थियो । नेपालको यहीँ ठाउँमा होला बच्चा जन्माउनको लागि पनि ऋण लाग्ने ।
अहिले हामीले यहिँ जिपी डाक्टर, स्थायी डाक्टरलाई नियुक्त गरेर उपचारको व्यवस्था गरेका छौं । फार्मेसी सञ्चालन गरेका छौं, जिल्ला अस्पतालमा आँखा, दाँतको उपचारका साथै भिडियो एक्सरेको पनि व्यवस्था गरेका छौं । एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा छौं । नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रले दैनिक २ सय जनाको बिरामीलाई हेर्ने गर्दछन् ।
मेरो एक वर्षको अवधिमा 'एक-एक पाइला' नामको संस्थासँग समन्वय गरेर ४५ सय बिरामीहरूलाई निःशुल्क १५–२० वटा विशेषज्ञ उपचारको सेवा प्रवाह गरेका छौं । त्यसैगरी स्मार्ट हेल्थको पनि सुरुवात गरेका छौं । माथिल्लो भेगमा ल्याब पनि सञ्चालन गरेका छौं ।
शिक्षाको क्षेत्रमा 'नगर प्रमुख युवा रोजगार' भन्ने कार्यक्रम सञ्चालन गरेका छौं । त्यो कार्यक्रममा केही पुँजी छुट्टाएर शिक्षा क्षेत्रको विकासका लागि उपयोग गरेका छौं । युवाहरूलाई सामुदायिक विद्यालयका भौतिक पूर्वाधारका कमीकमजोरीहरू जस्तै भवनको निर्माण, कक्षाको निर्माण, कम्पाउन्डको निर्माण, शौचालयको निर्माण गर्ने जस्ता कामहरूको सुरुवात गरेका छौ । १० वटा वडाका दश वटा विद्यालयहरूमा ४ सय युवाहरूलाई खटायौँ ।
यस कार्यक्रमले शिक्षाको पक्षमा मात्र होइन, युवाहरूलाई रोजगारी पनि सृजना गर्यो । यस कार्यक्रमले गर्दा युवाहरूलाई भारत जानबाट रोक्यौँ । बसाइ सर्ने जनजाति तथा अनाथ बालबालिकाहरूको लागि पनि आवासीय विद्यालयको व्यवस्था गरेका छौं । विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन हुन्छ र साथसाथै ट्युसनको व्यवस्थाका लागि नगरपालिका स्वयं खटेको छ । हाल ५०–६० जना विद्यार्थीहरू छन् । सुधारात्मक कक्षाको सहायताले गणित, अङ्ग्रेजी र विज्ञानका विषयमा जोड गरेका छन् । शुक्रबारको दिन विद्यालयको किताब बाहेक अन्य विद्यार्थीको रुचिमा आधारित भएर कक्षा सञ्चालन गरेका छौं । विद्यार्थीलाई एउटै मात्र क्षेत्रमा आधारित नभईकन बहुमुखी अभ्यासको आधारमा शिक्षा प्रदान गर्दै आएका छौं ।
पछिल्लो समयमा भारतीय दूतावासले ४ करोडको सहयोगमा सामुदायिक विद्यालयको भौतिक निर्माणमा सहयोग गरेको थियो । तर, काम अपूर्ण भएको कारणले भारतीय दूतावासमा नकारात्मक छाप परेको छ । त्यसलाई समाधान गर्ने प्रयास गरिरहेका छौं ।
कृषि क्षेत्रमा यहाँका किसानहरूले उब्जाएको तरकारी बेच्न समस्या छ । यस समस्याको समाधानको लागि हामीले केही बजेट छुट्टाएर एउटा 'कृषि एम्बुलेन्स' सञ्चालन गर्ने तयारीमा छौं । यो एम्बुलेन्सको सहायताले किसानहरूले घरघरमा गएर तरकारी बेच्न नपर्ने व्यवस्था गर्नेछ । यो एम्बुलेन्समार्फत किसानको तरकारी घरघरबाट संकलन गरेर एउटा कोल्ड हाउसमा राख्ने योजनाका लागि बजेट छुट्टाएका छौं । एम्बुलेन्स आफैँले संकलन गरेका तरकारीहरू घरघरमा वितरण गर्ने र तरकारी हाट बजार पनि स्थापना गर्ने हिसाबले नगरपालिका लागेको छ । तरकारी फलफूलका श्रेणी अनुसार भिन्न भिन्न ब्लकमा राखिनेछ ।
पर्यटन क्षेत्रमा पनि नगरपालिका अगाडि बढेको छ । बुढीनन्दा नगरपालिका त्यतिकै पनि सौन्दर्यका, पर्यटकहरूका लागि उच्च स्थानमा नै छ, पर्यटकहरूको लागि हामीले होम स्टे निर्माणका लागि योजनाहरू बनाउँदै छौं । तर संघीय, प्रदेश र केन्द्रीय सरकारबाट पर्याप्त बजेट नआएको कारणले भौतिक निर्माणका पक्षहरूमा समस्या आएको देखिन्छ । हामीसँगै भएको थोरै बजेटबाट जेनतेन भएपनि काम अगाडि बढाइरहेका छौं ।
एउटा राजनीतिज्ञ हुँदा र जनप्रतिनिधि हुँदा निर्वाह गर्नुपर्ने भूमिकाहरूमा के फरक हुँदो रहेछ ?
यो एउटा साझा ठाउँ हो । चुनाव भन्दा अगाडि पार्टीको चिन्ह चुनाव लड्ने माध्यम हो । चुनावबाट जित हासिल गरेपछि त्यो कुर्सी (पद)मा पुगेपछि हामी न्यायको पक्षहरूमा फोकस गर्छौ । यहाँ अनुहार, जात, भेग, समुदाय, पार्टीको आधारमा कार्यसम्पादन गर्दैनौं । राजनीतिक कार्यकर्ता र जनप्रितिनिधी बीचमा स्वाभाविक रूपमा अन्तर देख्न पाइन्छ ।
पार्टीगत कुरामा लाग्दा कहिलेकाहीँ जनप्रतिनिधिको भूमिकामा असर पर्न सक्छ । एउटा जनप्रतिनिधिले आफ्ना जनताहरूका लागि विकास, न्याय जस्ता कुराहरूमा ध्यान दिएर सेवा प्रदान गर्नुपर्ने हुन्छ । पार्टीगत हिसाबमा कहिलेकाहीँ दबाब आउन सक्छ जस्तै जागिर मिलाइदिने, योजनाहरू मिलाइदिने ।
अन्य राजनीतिक दलबीच कस्तो सम्बन्ध छ ?
अन्य दलहरूसँग केही पनि तितो सम्बन्ध छैन । बैठकमा पनि उनीहरूको सर–सल्लाहहरू लिने गरेको छु । उनीहरूले दिएको मौखिक वा लिखित सुझावलाई संकलन गरेर काममा अगाडि बढेको हो । उदाहरणको रूपमा नगर सभालाई लिन सकिन्छ । कार्यपालिकाको निर्णयहरूमा पनि विमति देखिएको छैन । यी सबै कार्य सम्पन्न गर्न अन्य पार्टीका कार्यकर्ताहरूसँगको समन्वय र उनीहरूको राजनीतिक समझदारीले सम्भव भएको हो ।
बुढीनन्दा नगरपालिकामा तपाईंका प्रमुख प्राथमिकताहरू के-के छन् ?
पहिलो प्राथमिकता शिक्षालाई दिएका छौं । बोर्डिङ स्कुल पढ्ने संस्कृतिलाई चिर्ने मेरो योजना छ । बुढीनन्दा नगरपालिकाको सामुदायिक विद्यालयलाई उत्कृष्ट र उदाहरणीय बनाउने मेरो सपना छ ।
स्वास्थ्यको क्षेत्रमा सिटामोलको सेवन गर्न नपाएर वा आम रोग जस्तै झाडा पखाला, ज्वरोको कारणले कुनै पनि सर्वसाधारणको मृत्यु नहोस् भनेर औषधी र अस्पतालको व्यवस्था गरिनेछ ।
कृषि क्षेत्रमा लागेका किसानहरूको लागि पनि खेतीपातीबाट आएको आयआर्जनले बालबालिकाको शिक्षा, स्वास्थ्य, खानपिन जस्ता मानिसका आधारभूत आवश्यकताका पुरा हुनेगरी कृषि क्षेत्रमा विकास गर्न चाहन्छु ।
पर्यटनको क्षेत्रमा हामीले रोडहरू खन्ने कामलाई प्राथमिकता दिने योजनामा छौं । त्यहाँ भएको ठाउँहरूलाई उजागर गर्नेछौँ, धार्मिक गन्तव्यहरूलाई डकुमेन्ट्रीको मार्फतबाट प्रदर्शन गर्छौं । सम्बन्धित निकायहरूमा कुरा पनि राखिसकेका छौं । यद्यपि स्रोतको कमी भएको कारणले यी संरचनाहरू अगाडि बढाउन पाएका छैनौं । यही कामको लागि अहिले काठमाडौंतिर भौँतारिँदै छु ।
बजेट पर्याप्त नभएपछि संघिय, प्रदेश गर्दै केन्द्रीय सरकारलाई माग्न जानुपर्ने अवस्था आएको छ । संघीय सरकारको संरचना भएपनि कार्यान्वयन राम्रोसँग नभएको कारणले हामी जस्ता विकट ठाउँका बासिन्दाले दुख पाएका छन् । बजेट पनि अनावश्यक कुराहरूमा दुरुपयोग गरेका छन् । जस्तै विदेश भ्रमण गर्ने । तर आधारभूत कुराहरूमा सरकारले लापरबाही गरेका छन् ।
निर्वाचनका समयमा तपाईंले घोषणापत्रमार्फत मतदातासँग गर्नुभएको कति प्रतिशत बाचाहरू पुरा गर्नुभयो ?
जनप्रतिनिधिको रुपमा कार्यकालको सुरुमा जनप्रतिनिधिहरूलाई भ्रष्टको दृष्टिकोणले हेर्ने गरेको महसुस गरे । यहाँका केही मानिसहरू पनि पछिल्लो समयको मेयरको तुलनामा अवैधानिक रूपमा सहजीकरण खोज्थे । यो कुराको अन्त्य गर्नमा मैले आफैँ अभियानका रूपमा कदमहरू चाले । कतिपय योजनाहरूको आधा–अधुरा काम गरेर पूर्ण भुक्तानी उठाउनका लागि मान्छेहरू आउने गर्थे तर मैले योजना अपूरा भएको हुनाले भुक्तानी दिइन । मेरै पार्टीका मान्छेहरू पनि मेरो यो कदमले खुसी थिएनन् तर, मैले नीतिगत ढङ्गले कार्य सम्पादन गरेको भएर पार्टीका मान्छेहरूको कुरामा चासो दिइन ।
नगरपालिकाले निर्माण कार्यको लागि डोजर पनि खरिद गरेको छ । खोलामा पुलको निर्माण नभएको कारणले नगरपालिकाले बस पनि किन्न पाएको छैन । त्यो खोलाका लागि बेलिब्रिज निर्माण गर्नुपर्छ भनेर पनि नगरपालिकाले पहल गरेको छ । स्थानीय बासिन्दाहरू १५ सय रुपैयाँ तिरेर सदरमुकाम जान बाध्य छन् ।
त्यो पुलको निर्माण भएर नगर बस भित्राउन सकेमा ३ सय गाडी भाडामा सदरमुकाम पुग्न सकिने छ । मैले अघि पनि भनेको छु । यीबाहेक पनि थुप्रै कामहरू भएका छन् । अरू थप कामहरू क्रमशः गर्दै जाने मेरो योजनाहरू छन् ।
स्थानीय तहलाई भ्रष्टको दृष्टिकोणले हेर्ने गरेको पाइन्छ, यसमा तपाईंको बुझाई कस्तो छ ?
पैसा धेरै नै शक्तिशाली चिज हो भन्ने गर्छन् । पैसा भयो भने भगवान् शिवको पनि त्रिनेत्र खुल्छ भनिन्छ । सबैलाई पैसाको खाँचो छ । नगरपालिकाको मेयरले पनि पैसामा चासो राख्न थाल्यो भने मिलीभगतमा काम हुन्छ । त्यसैले हामीले भ्रष्टाचारीको दृष्टिकोण बदल्नको लागि 'हेलो मेयर' कार्यक्रम चलाएका छौं । यहाँ टोल फ्री नम्बरको व्यवस्था गरिएको छ । नगरपालिका भित्र भ्रष्टाचार गरेको वा अवैधानिक क्रियाकलाप गरेमा निर्धक्क भई गुनासो सुनाउन सकिन्छ ।
हप्तामा एक दिन कार्यक्रम पनि सञ्चालन हुन्छ जहाँ जनताको विकास, सुशासनका बारेमा छलफल गर्छौं । राष्ट्रिय वाणिज्य बैंकसँग समन्वय गरेर घर–घरमा वृद्धहरूलाई भत्ताको व्यवस्था पनि हामीले गरेका छौं ।
संघीय र प्रदेश सरकारसँग विकासका कुरामा कत्तिको समन्वय भइरहेको छ ?
औपचारिक समन्वय चाही भइरहेको छ । कानूनमा आधारित व्यवहार गरिरहेका हुन्छौ । हाम्रा योजनामा यति प्रतिशत बजेट पार्दिनुस् भनेर कुरा राख्दैनौँ पनि किनभने त्यो नैतिकता विहीन कुरा हो ।
योजनाका कुरा गर्ने हो भने हाम्रा नगरपालिकामा पठाएका योजनाका लागि बजेट नै भित्रिँदैन । विशेष समपूरक बजेट पनि हालिँदैन । अवस्था यस्तो छ । तैपनि संघ र प्रदेश दुवैले सबै पालिकालाई समान खालको व्यवहार गर्नुपर्छ । सबैलाई बराबर योजना तथा बजेटको व्यवस्था गर्नुपर्छ ।